मत्तीको सुसमाचार 22:27-40

मत्तीको सुसमाचार 22:27-40 NERV

तिनीहरू सबै मरेपछि त्यो आईमाई पनि मरी। तर ती सातैजना दाज्यू-भाइहरूले त्यस आईमाईलाई विवाह गरेका थिए। तब पुनरूत्थनामा त्यो स्त्रीको पति कुन चाही हुनेछ?” येशूले जवाफ दिनुभयो, “तिमीहरू योकुरा बुझ्दैनौ किनभने धर्मशास्त्रमा के लेखेको छ त्यो तिमीहरू जान्दैनौ। परमेश्वरको शक्तिको विषयमा पनि तिमीहरू केही जान्दैनौ। त्यसबेला जब मानिसहरू मृत्युबाट बौरिउठ्छन् त्यहाँ विवाहको प्रश्न नै आँउदैन। मानिसहरू त्यहाँ एक-अर्का संग विवाह गर्ने छैनन्। सबै मानिसहरू स्वर्गका स्वर्गदूतहरू झैं हुनेछन्। यसकारण पुनरूत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नु भएको छ त्यो पढेका छैनौ। परमेश्वरले भन्नुभएको छ, ‘म अब्राहामको परमेश्वर, इसहाकको परमेश्वर, अनि याकूब का परमेश्वर हुँ।’ यसको मतलब परमेश्वर मृत मानिसहरूका परमेश्वर हुनुहुन्न तर जिउँदा मानिसहरूको परमेश्वर हुनुहुन्छ।” मानिसहरूले सुने र येशूको शिक्षामा तिनीहरू छक्क परे। येशूले सदुकीहरूदलाई यसरी जवाफ दिएर तिनीहरूलाई चुप बनाई दिनू भएको सुनेर फरिसीहरू जम्मा भए। एकजना फरिसी मोशाको व्यवस्था प्रति निकै ज्ञान भएको थियो। त्यो फरिसीले येशूलाई परीक्षा गर्ने इच्छा गर्यो। त्यस फरिसीले येशूलाई सोध्यो, “गुरूज्यू, व्यवस्थामा सबैभन्दा ठूलो आज्ञा कुन हो?” येशूले जवाफ दिनुभयो, “‘तिमीले आफ्ना परमप्रभु परमेश्वरलाई प्रेम गर्नुपर्छ। आफ्नो सम्पूर्ण हृदयदेखि, सम्पूर्ण आत्मादेखि र सम्पूर्ण मनदेखि प्रेम गर्नुपर्छ।’ यहीनै पहिलो र सबै भन्दा महान आज्ञा हो। दोस्रो आज्ञा पहिलो जस्तै छ ‘आफूलाई जस्तै अरू मानिसलाई पनि प्रेम गर्नु।’ अगमवक्ताहरूका सबै व्यवस्था र रचनाहरू यिनै दुइ आज्ञाहरूमा आधारित छन्।”