यहोशूको पुस्तक 18:11-28

यहोशूको पुस्तक 18:11-28 NERV

त्यो भूमि बिन्यामीनको कुल समूहलाई दिइयो जो यहूदा अनि यूसुफका क्षेत्रहरूको माझमा थियो। बिन्यामीनका कुल समूहका प्रत्येक वंशले आफ्नो भूमि प्राप्त गरे। बिन्यामीनको निम्ति चुनिएको भूमि यो होः यर्दन नदीबाट उत्तरी सीमाना शुरू भएको थियो। सीमाना यरीहको उत्तरी किनार भएर फैलिएको थियो। त्यसपछि सीमाना पश्चिम तिर पार्वत्य देशतर्फ फैलिएको थियो। बेतवानको पूर्वमा नपुगेसम्म सीमाना फैलिएर गएको थियो। त्यसपछि सीमाना दक्षिणमा लूज (बेतेल) तिर फैलियो। तब सीमाना अत्रोतद्दार तिर झर्यो। अत्रोतद्दार तल्लो बेथोरोनको दक्षिणको पहाडमाथि अवस्थित छ। बेथोरोनको दक्षिणी पहाडमा त्यो सीमाना दक्षिणतर्फ घुमेर पहाडको पश्चिम तिर फैलिएको थियो। सीमाना कियर्थबात तर्फ फैलिएको थियो (यसलाई किर्यत्यारीम पनि भनिन्छ।) यो शहर यहूदाका मानिसहरूको थियो। यो पश्चिमी सीमाना थियो। दक्षिण सीमाना किर्यत्यारीमको नजिकबाट शुरू भएर नेप्तोह मुहान तर्फ गएको थियो। त्यसपछि सीमाना रपाईहरूको बेंसी उत्तरमा भएको हिन्नोम छोराको बेंसीको नजिकैको पहाडको फेद तिर फैलिएको थियो। सीमाना यबूसी शहरको ठीक दक्षिणमा भएको हिन्नोम बेंसीको तर्फ झरेको थियो। त्यसपछि सीमाना एन्रोगेल तर्फ गएको थियो। त्यहाँ, त्यो सीमाना उत्तरतर्फ घुमेर एन्शेमेश तर्फ गएको थियो। सीमाना गलीलोत तर्फ फैलिएको थियो (गलीलोत, पहाडमा अदूम्मीम उकालोको नजिकमा छ।) त्यो सीमाना रूबेनको छोरो बोहनको नाउँको महान् शिला तिर झरेको थियो। त्यो सीमाना अराबको उत्तर तिर फैलिएको थियो र अराबमा नै झरेको थियो। त्यसपछि त्यो सीमाना बथोग्लाको उत्तर तर्फ भएर खारा समुद्रको उत्तरी किनारमा अन्त भएको थियो। यो त्यही स्थान हो जहाँ पुगेर यर्दन नदी समुद्रमा प्रवेश हुन्छ। त्यो दक्षिणी सीमाना थियो। यर्दन नदी पूर्वी सीमाना थियो। यसरी यो भूमि बिन्यामीनको कुल समूहलाई प्रदान गरियो। ती सबैतिरका सीमानाहरू थिए। प्रत्येक कुलले आफ्नो भूमि प्राप्त गरे। यी तिनीहरूका शहरहरू थिएः यरीहो, बेथोग्ला, एमोकसीस। बेत-अराबा, समारैम, बेतेल, अब्बीम, पारा, ओप्रा, कपरम्मोनी, ओप्नी अनि गेबा। त्यहाँ बाह्र शहरहरू अनि ती वरिपरिका खेतहरू थिए। बिन्यामीनको कुल समूहले गिबोन, रामा, बेरोत, मिस्पा, कपीरा, मोसा, रेकेम, यिर्पल, तरला, सेला, एलेप, यबूसी शहर (अर्थात यरूशलेम), गिबत अनि किर्यत। त्यहाँ चौध शहरहरू अनि ती वरिपरिका खेतहरू थिए। बिन्यामीनका कुल समूहले यी सबै क्षेत्रहरू प्राप्त गरे।