यहोशू 18:11-28
यहोशू 18:11-28 NNRV
बेन्यामीनको कुलका वंश-वंशअनुसार चिट्ठा यसरी निस्क्यो। तिनीहरूका भागको सिमाना यहूदा र योसेफका कुलहरूका बीचमा पर्यो। तिनीहरूका उत्तरपट्टिको सिमाना यर्दनदेखि सुरु भएर यरीहोको नजिकबाट उत्तरतिर लागी, पश्चिमतिरको पहाड़ी देशमा उक्लेर बेथ-आवनको मरुभूमिमा पुगेको थियो। त्यो सिमाना त्यहाँबाट लूजसम्म (यसलाई बेथेल भन्दछ) त्यसको दक्षिणतिर पुगेर तल्लो बेथ-होरोनका दक्षिणपट्टिको पहाड़बाट अतारोत-अद्दारसम्म झरेको थियो। अनि त्यहाँबाट सो सिमाना पश्चिमतिर लागेर दक्षिणपट्टि घुमी बेथ-होरोनका सामुन्नेका दक्षिणतिरको डाँड़ाबाट यहूदाका सन्तानहरूको किर्यत-बालसम्म (यसैलाई किर्यत-यारीम भनिन्छ) पुगेको थियो। पश्चिम सिमाना यही हो। दक्षिणको सिमानाचाहिँ किर्यत-यारीमको छेउदेखि पश्चिमतिर लागेर नेप्तोहको मुहानमा निस्केको थियो। त्यो सिमाना बेन-हिन्नोमका बेँसीको सामु र रपाईहरूका बेँसीको उत्तरपट्टिका डाँड़ाको पल्लो छेउमा ओर्ली यबूसी सहरका दक्षिणपट्टिका हिन्नोमको बेँसीबाट झरेर एन-रोगेलमा झरेको थियो। त्यो उत्तरतिर तानिएर एन-शेमेशतिर लागी अदुम्मीमका उकालोका सामुन्नेको गलीलोतमा निस्की रूबेन वंशी बोहनको ढुङ्गामा झरेको थियो। त्यहाँबाट त्यो बेथ-अराबाको सीधा उत्तरपट्टि पुगेर अराबामा नै झरेको थियो। त्यो सिमाना फेरि बेथ-होग्लाका उत्तरको किनार छिचलेर यर्दनको दक्षिणपट्टि भएको खारा समुद्रको उत्तरीय खाड़ीमा टुङ्गिएको थियो। दक्षिण सिमाना यही हो। त्यसका पूर्वपट्टिको सिमानाचाहिँ यर्दन भइहाल्यो। बेन्यामीनका वंशहरूको अधिकार चारैतिरको सिमानाबमोजिम यही हो। बेन्यामीनको कुललाई तिनीहरूका वंश-वंशअनुसार मिलेका सहरहरू यी नै हुन्: यरीहो, बेथ-होग्ला, एमेक-कसीस, बेथ-अराबा, समारैम, बेथेल, अब्बीम, पारा, ओप्रा, कपरअमोनी, ओप्नी, गेबा। तिनीहरूका बस्तीहरूसमेत बाह्र सहरहरू हुन्। गिबोन, रामा, बेरोत, मिस्पा, कपीरा, मोशा, रेकेम, यिर्पल, तरला, सेलाह, एलेप, यबूसी सहर (अर्थात् यरूशलेम), गिबा र किर्यत। तिनीहरूका बस्तीहरूसमेत चौध सहरहरू हुन्। बेन्यामीनका सन्तानको अधिकार तिनीहरूका वंशका निम्ति यही हो।

