अय्यूबको पुस्तक 1:13-22

अय्यूबको पुस्तक 1:13-22 NERV

एकदिन, अय्यूबका छोरा-छोरीहरू आफ्ना जेठा दाज्यूको घरमा खाँदै अनि दाखरस पिउँदै उत्सव मनाइरहेका थिए। तब एकजना सन्देश-वाहक अय्यूबकहाँ आए र भने, “गोरूहरूले जोतिरहेका थिए र गधाहरूले छेउमा नै घाँस खाईरहेका थिए। शबाईका मानिसहरूले हामीमाथि आक्रमण गरे अनि तपाईंका पशुहरू लगे। ती मानिसहरूले अन्य नोकरहरूलाई पनि मारे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।” त्यो सन्देश-वाहक बोलिरहेकै बेला अर्को सन्देश-वाहक अय्यूबकहाँ आई पुग्यो। त्यो दोस्रो सन्देश-वाहकले भन्यो, “आकाशबाट आएको चट्याङले तपाईंको सारा भेंडाहरू र नोकरहरू मार्यो। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।” त्यो सन्देश-वाहक बोलिरहेको बेला अर्को सन्देश-वाहक आई पुग्यो। त्यो तेस्रो सन्देश-वाहकले भन्यो, “कल्दीहरूले तीन सैन्यदलहरू पठाए। तिनीहरूले हामीमाथि आक्रमण गरे अनि सारा ऊँटहरू लगे। तिनीहरूले नोकरहरूलाई पनि मारे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।” तेस्रो सन्देश-वाहक बोलिरहेकै बेला, अर्को सन्देश-वाहक त्यहाँ आई पुग्यो। त्यो चौथो सन्देश-वाहकले भन्यो, “तपाईंका जेठा छोरोको घरमा तपाईंका अन्य छोरा-छोरीहरूले खाइरहेका र दाखरस पिइरहेका थिए। तब एक जोडदार हावा मरुभूमिबाट अचानक चल्यो र त्यसले घर घराशायी पारिदियो। त्यो घर तपाईंका छोरा-छोरीहरूमाथि बज्रयो, अनि तिनीहरू सबैजना मरे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।” जब अय्यूबले ती सबै खबरहरू सुने आफ्नो दुःख र उदासीनता प्रकट गर्नका लागि उनले आफ्ना लुगाहरू च्याते अनि केश खौरिए। तब अय्यूब भूईंमा घोप्टो परेर परमेश्वरलाई दण्डवत गरे। उनले भनेः “जब म यस संसारमा जन्मको थिएँ, म नाङ्गै थिएँ अनि मसँग केही पनि थिएन। जब म मर्छु अनि यो संसार छाडेर जान्छु, म नाङ्गै नै जानेछु अनि मसँग केही रहनेछैन। परमप्रभुले दिनुभयो, अनि परमप्रभुले लानु भयो। परमप्रभुको नाउँको प्रशंसा होस्।” ती सारा कुराहरू घटे, तर अय्यूबले केही गल्ती काम गरेनन्। जे भयो त्यसको लागि अय्यूबले परमेश्वरलाई दोष दिएनन्।