अय्‍यूब 1:13-22

अय्‍यूब 1:13-22 सरल नेपाली

एक दिन अय्‍यूबका छोरा-छोरीहरू आफ्‍नो जेठा दाइको घरमा भोजमा बसेका थिए। एक जना मानिस यस्‍तो खबर लिएर अय्‍यूबकहाँ दगुरेर आयो, “हामी गोरुहरू जोतिरहेका थियौं, छेउमा गधाहरू पनि चरिरहेका थिए। अचानक शबीहरूले हमला गरे र ती पशुहरू लगे। अरू सबै तपाईंका नोकरहरूलाई मारे। म मात्र भागेर तपाईंलाई खबर दिन आइपुगें।” त्‍यसले बोल्‍दाबोल्‍दै अर्को नोकर आएर भन्‍यो, “भेडा र गोठालाहरूलाई चट्याङ्गले मार्‍यो। तपाईंलाई खबर दिन म मात्र बाँचेर आएँ।” त्‍यसले भनिनसक्दै अर्को नोकर आएर भन्‍यो, “तीन दल कल्‍दी छापामारहरूले हामीमाथि हमला गरे र ऊँटहरू लुटेर लगे। मबाहेक अरू सबै तपाईंका नोकरहरूलाई तिनीहरूले मारे। तपाईंलाई खबर दिन बाँचेर आउने म मात्र भएँ।” त्‍यो पनि बोल्‍दै नै थियो, अर्को नोकर आएर भन्‍न लाग्‍यो, “तपाईंका छोरा-छोरीहरूले जेठा दाजुको घरमा खानपान गर्दै थिए। त्‍यस बेला मरुभूमिबाट आँधी-बेहरी आयो र घरै भत्‍काइदियो र तपाईंका छोरा-छोरीहरू सबै मरे। तपाईंलाई खबर दिन म मात्र बाँचें।” ती सबै सुनेपछि अय्‍यूब उभिए र शोकले आफ्‍नो वस्‍त्र च्‍याते। तिनले आफ्‍ना कपाल खौरे र भूइँमा घोप्‍टो परे। उनले भने, “म आफ्‍नी आमाको गर्भबाट नाङ्गै आएँ र म नाङ्गै फर्केर जानेछु। परमप्रभुले दिनुभयो र परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्‍यको होस्!” यी सबै भए पनि अय्‍यूबले परमेश्‍वरलाई दोष दिएर पाप गरेनन्।

अय्‍यूब 1 पढ्नुहोस्