तर अब तपाईंले हामीलाई इन्कार गर्नुभएको छ र हाम्रो हार हुन दिनुभएको छ। हाम्रा सेनाहरूका साथ तपाईं हिँड्नुहुन्न। तपाईंले हाम्रा शत्रुहरूको सामुबाट हामीलाई भाग्न लगाउनुभयो र हाम्रा सर-सम्पत्ति तिनीहरूले आफ्ना बनाए। तपाईंले हामीलाई भेडाहरूझैँ मारिनलाई दिनुभयो, हामीलाई विदेशभरि छरपष्ट पार्नुभयो। तिनीहरूको केही मूल्य नभएको जस्तो गरेर तपाईंले सस्तैमा आफ्ना प्रजालाई बेचिदिनुभयो। तपाईंले हामीसँग के गर्नुभयो, सो हाम्रा छिमेकीहरूले देख्नेछन् र तिनीहरूले हामीलाई खिसी गर्छन् र हाम्रो हाँसो उडाउँछन्। तपाईंले हामीलाई जातिहरूको बीचमा घृणाको पात्र बनाउनुभएको छ, हामीलाई देखेर हेला गर्दै तिनीहरूले आफ्ना टाउका हल्लाउँछन्। मेरो सधैँ बदनाम भएको छ र मेरो शत्रु र मलाई घृणा गर्नेहरूको बदनाम र खिसीका कुरा सुन्दा-सुन्दा म लाजमा परेको छु। हामीले तपाईंलाई भुलेका छैनौं अथवा तपाईंले हामीसँग गर्नुभएको करार तोडेका छैनौं, तापनि यी सबै हामीमाथि आइपरेका छन्। हामीले आफ्नो भक्ति तपाईंबाट हटाएका छैनौं, हामीले तपाईंको आज्ञा तोडेका छैनौं। तापनि तपाईंले जङ्गली जनावरको बीचमा हामीलाई असहाय छोड्नुभयो, घोर अन्धकारमा तपाईंले हामीलाई त्याग्नुभयो। यदि हामीले आफ्ना परमेश्वरलाई पुज्न छोडेका भए, अन्य देवतालाई प्रार्थना गरेका भए तपाईंले निश्चय चाल पाउनुहुनेथियो किनभने तपाईंले हाम्रा गुप्त सोचविचारहरू जान्नुहुन्छ। तर तपाईंको खातिर हरसमय हाम्रो हत्या भइरहेको छ र काट्न ल्याइएका भेडाहरूजस्तै हामीसित व्यवहार गरिन्छ। उठ्नु होस्! प्रभु, तपाईं किन निदाउनुभयो? ब्युँझनुहोस्! हामीलाई सधैँभरि नत्याग्नुहोस्। तपाईं किन हामीदेखि लुक्दै हुनुहुन्छ? हाम्रा दु:ख र कष्ट नभुल्नुहोस्। भूइँमा चकनाचुर भएर हामी लडेका छौं। हार भएर हामी धुलोमा सुतेका छौं। हाम्रा सहायताको लागि आउनुहोस्! आफ्नो अटुट प्रेमको कारणले हामीलाई बचाउनुहोस्।
भजनसंग्रह 44 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 44:9-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू