भजनसंग्रह 44:9-26

भजनसंग्रह 44:9-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर अब तपाईंले हामीलाई त्‍यागेर हामीलाई दीन तुल्‍याउनुभएको छ, र तपाईं हाम्रा सेनाहरूलाई साथ दिनुहुन्‍न। तपाईंले हामीलाई शत्रुहरूबाट पछि हट्‌ने तुल्‍याउनुभएको छ, र हाम्रा विरोधीहरूले हामीलाई लुटेका छन्‌। तपाईंले अरूको आहार हुन भेड़ाहरूजस्‍तै हामीलाई त्‍यागिदिनुभएको छ, र जाति-जातिहरूका बीचमा हामीलाई तितरबितर पार्नुभएको छ। तपाईंले आफ्‍नो प्रजालाई नाम मात्रको मूल्‍यमा बेच्‍नुभएको छ, र तिनीहरूको बिक्रीबाट तपाईंलाई कुनै लाभ भएको छैन। हाम्रा छिमेकीहरूका सामुन्‍ने तपाईंले हामीलाई निन्‍दाको पात्र बनाउनुभयो, हाम्रा वरिपरिका मानिसहरूका बीचमा हामीलाई तिरस्‍कार र उपहासको पात्र बनाउनुभएको छ। जातिहरूका बीचमा तपाईंले हामीलाई हाँसोको नमूना हुन दिनुभएको छ, मानिसहरूले हामीलाई देखेर मुन्‍टो हल्‍लाउँछन्‌। मेरो अपमान दिनभरि मेरो सामुन्‍ने रहन्‍छ, र मेरो मोहड़ा शर्मले ढाकिएको छ। गिल्‍ला गर्ने र खिसी गर्नेहरूका वचनहरूले र प्रतिशोध गर्ने शत्रुहरूका कारणले मलाई यस्‍तो भएको छ। हामीले तपाईंलाई नबिर्से पनि, र तपाईंको करारप्रति झूटा नभए तापनि यी सबै हामीमाथि परिआएका छन्‌। हाम्रा हृदय तपाईंबाट विमुख भएका छैनन्‌, तपाईंको मार्गबाट हाम्रा पाइलाहरू चुकेका छैनन्‌। तर तपाईंले हामीलाई चूर पारेर स्‍याल बस्‍ने पाखातुल्‍य बनाउनुभयो, र हामीलाई घोर अन्‍धकारले ढाक्‍नुभयो। यदि हामीले हाम्रा परमेश्‍वरको नाउँ बिर्सेका भएदेखि वा अन्‍य देवदेवतातिर हाम्रा हात पसारेका भएदेखि, के परमेश्‍वरले यो थाहा पाउनुहुनेथिएन र? किनकि उहाँले हृदयका गुप्‍त कुरा जान्‍नुहुन्‍छ। तापनि तपाईंको खातिर हामी दिनभरि मारिन्‍छौं, काटिने भेड़ाहरूजस्‍तै हामीहरू गनिएका छौं। उठ्‌नुहोस्‌ परमप्रभु, तपाईं किन सुत्‍नुहुन्‍छ? जाग्‍नुहोस्‌, हामीलाई सदाको निम्‍ति नत्‍याग्‍नुहोस्‌। तपाईं किन आफ्‍नो मुहार लुकाउनुहुन्‍छ, र हाम्रा दु:ख र हामीमाथिको थिचोमिचो बिर्सनुहुन्‍छ? हामी त धूलोमै मिलिसकेका छौं, हाम्रा शरीर माटोमै टाँसिसकेका छन्‌। उठ्‌नुहोस्‌, हामीलाई गुहार गर्नुहोस्‌, तपाईंको कहिले नटुङ्गिने प्रेमको कारण हाम्रो उद्धार गरिदिनुहोस्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 44 पढ्नुहोस्

भजनसंग्रह 44:9-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तर अहिले तपाईंले हामीलाई त्याग्नुभएको छ, र लज्जित तुल्याउनुभएको छ; तपाईं हाम्रा सेनाहरूको साथमा जान छोड्नुभएको छ। तपाईंले हामीलाई शत्रुहरूको सामुबाट पछि हट्ने तुल्याउनुभएको छ; र हाम्रा विरोधीहरूले हामीलाई लुटेका छन्। तपाईंले हामीलाई भेडाहरूजस्तै अरूको आहारा हुनलाई त्यागिदिनुभएको छ; र हामीलाई जाति-जातिहरूका बीचमा तितरबितर पार्नुभएको छ। तपाईंले आफ्नो प्रजाहरूलाई सस्तोमा दास हुनलाई बेचिदिनुभएको छ; तिनीहरूको बिक्रीबाट तपाईंलाई केही फाइदा भएको छैन। हाम्रा वरिपरिका मानिसहरूका बीचमा हामीलाई तिरस्कार र हाँसोको पात्र बनाउनुभएको छ; छिमेकीहरूका बीचमा हामीलाई हाँसोको पात्र तुल्याउनुभएको छ। तपाईंले हामीलाई जाति-जातिहरूका बीचमा हाँसोको पात्र हुन दिनुभएको छ; मानिसहरू हामीलाई देखेर टाउको हल्‍लाउँछन्। मेरो गिल्‍ला गर्ने र खिसी गर्नेहरूका बोलीहरूले, बदला लिने शत्रुहरूका कारणले, मैले आफ्नो अपमान दिनभरि सहनुपर्छ, र मेरो अनुहार लाजले ढाकिएको छ। यी सबै कुरा हामीमाथि परिआएका छन्; यद्यपि हामीले तपाईंलाई बिर्सेका छैनौँ, हामी तपाईंको करारप्रति झूटो भएका छैनौँ। हाम्रा हृदय तपाईंबाट पछाडि फर्केका छैनन्; हाम्रा पाइलाहरू तपाईंका मार्गबाट तर्किएका छैनन्। तर तपाईंले हामीलाई चकनाचुर पारेर स्यालहरू बस्‍ने ठाउँ बनाउनुभयो, र हामीलाई घोर अन्धकारले ढाक्नुभयो। यदि हाम्रा परमेश्‍वरको नाम हामीले बिर्सिएका छौँ भने, अथवा कुनै विदेशी देवी-देवतातिर हाम्रा हातहरू पसारेका छौँ भने, के परमेश्‍वरले त्यो कुरा जान्‍नुहुने थिएन र? किनकि उहाँले हाम्रा हृदयका गुप्‍त कुराहरू समेत जान्‍नुहुन्छ। तरै पनि तपाईंको खातिर हामी दिनभरि मृत्युको सामना गर्छौँ; हामीहरू काट्न लगिएका भेडाहरूजस्तै गनिएका छौँ। हे प्रभु, उठ्नुहोस्! तपाईं किन सुत्नुहुन्छ? जाग्नुहोस्! हामीलाई सदाको लागि नत्याग्नुहोस्। किन तपाईं आफ्नो मुहार लुकाउनुहुन्छ र हाम्रा दुःख र हामीमाथिको अत्याचार बिर्सनुहुन्छ? हामी धुलोसम्मै झारिएका छौँ; हाम्रो पेट जमिनमै टाँसिसकेको छ। उठ्नुहोस् र हामीलाई सहायता गर्नुहोस्; तपाईंको अचुक प्रेमको कारण हाम्रो उद्धार गरिदिनुहोस्!

शेयर गर्नुहोस्
भजनसंग्रह 44 पढ्नुहोस्

भजनसंग्रह 44:9-26 पवित्र बाइबल (NERV)

तर, हे परमेश्वर, तपाईंले हामीलाई छोड्नु भयो, तपाईंले हामीलाई लज्जित पार्नु भयो। तपाईं युद्धभूमिमा हामीसँग आउनु भएन। तपाईंले हाम्रा शत्रुहरूलाई पछि धकेल्न लगाउनु भयो। हाम्रा शत्रुहरूले हाम्रो सम्पत्ति लगेर गए। तपाईंले हामीलाई खाद्य रूपमा खाओस् भनेर भेंडा जस्तो टाढा अलग्ग राखि दिनु भयो। तपाईंले विदेशीहरूका माझ हामीलाई छरपस्ट पारेर छाडी दिनुभयो। हे परमेश्वर, तपाईंले आफ्ना मानिसहरू सित्तैमा बेचिदिनु भयो, तपाईंले तिनीहरूको दर दाम पनि गर्नु भएन। तपाईंले छिमेकीहरू समक्ष हामीलाई हाँसोको पात्र बनाउनु भयो। तिनीहरूले हामीमाथि हाँसे र खिल्ली उडाए। हामी हँसाउने कथाहरू मध्ये एक हौं जो मानिसहरू भन्छन्। आफ्नो देश नभएका मानिसहरू सम्म हामीमाथि हाँस्छन् र आफ्ना टाउकाहरू हल्लाउँछन्। म लाजले छोपिएको छु। सारा दिन आफ्नो लज्जित रूप हेर्छु। मेरा शत्रुहरू जसले मसित साटो फेर्न चाहन्थे, तिनीहरूको खिसी र अपमानबाट उप्जेको लाजले गर्दा म आफैं लुक्छु। परमेश्वर, तपाईंलाई हामीले बिर्सेका छैनौं। अझै यी सबै कुराहरू तपाईंले हाम्रा लागि गर्नु हुन्छ। हामीले तपाईंको करार पत्रमा हस्ताक्षर गर्दा छल-कपट गरेका छैनौ! परमेश्वर, हामी तपाईंबाट टाढिएका छैनौं। हामी तपाईंलाई पछ्याउनका लागि रोकिएका छैनौं। तर, परमेश्वर, तपाईंले हामीलाई यस ठाउँमा मिच्नु भयो जहाँ स्यालहरू बस्दछन्। तपाईंले हामीलाई त्यस ठाउँमा छाडिदिनु भयो जुन मृत्यु भन्दा पनि भयानक अंध्यारो छ। के हामीले हाम्रो परमेश्वरको नाउँ बिर्सियौं? के हामीले विदेशी देवताहरूलाई प्रार्थना गर्यौ? होइन! निश्चय नै परमेश्वर यी सबै कुराहरू जान्नुहुन्छ। उहाँले हाम्रो गहन गुप्त कुराहरू पनि जान्नुहुन्छ। हे परमेश्वर, दिनभरि हामी तपाईंका लागि मरिमेट्‌यौं! हामी मार्न लगिएका भेंडा़ जस्तै छौं। उठ्नु होस्, मेरो स्वामी! किन तपाईं सुतिरहनु भएको छ? उठ्नु होस्! हामीलाई सदाको निम्ति नछोडनु होस्! परमेश्वर, तपाईं किन हामीदेखि लुकिरहनु हुन्छ? तपाईंले हाम्रो पीर र सङ्कटहरूलाई बिर्सिनु भयो? हामीलाई फोहोर भित्र हुत्याइएको छ। हाम्रो शरिर धूलोमा पल्टिरहेको छ। हे परमेश्वर, उठ्नु होस् र हामीलाई सहयोग गर्नुहोस्। तपाईंको स्नेहपूर्ण करूणाले हामीलाई बचाउनुहोस्।

शेयर गर्नुहोस्
भजनसंग्रह 44 पढ्नुहोस्

भजनसंग्रह 44:9-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तर अब तपाईंले हामीलाई इन्‍कार गर्नुभएको छ र हाम्रो हार हुन दिनुभएको छ। हाम्रा सेनाहरूका साथ तपाईं हिँड्‍नुहुन्‍न। तपाईंले हाम्रा शत्रुहरूको सामुबाट हामीलाई भाग्‍न लगाउनुभयो र हाम्रा सर-सम्‍पत्ति तिनीहरूले आफ्‍ना बनाए। तपाईंले हामीलाई भेडाहरूझैँ मारिनलाई दिनुभयो, हामीलाई विदेशभरि छरपष्‍ट पार्नुभयो। तिनीहरूको केही मूल्‍य नभएको जस्‍तो गरेर तपाईंले सस्‍तैमा आफ्‍ना प्रजालाई बेचिदिनुभयो। तपाईंले हामीसँग के गर्नुभयो, सो हाम्रा छिमेकीहरूले देख्‍नेछन् र तिनीहरूले हामीलाई खिसी गर्छन् र हाम्रो हाँसो उडाउँछन्। तपाईंले हामीलाई जातिहरूको बीचमा घृणाको पात्र बनाउनुभएको छ, हामीलाई देखेर हेला गर्दै तिनीहरूले आफ्‍ना टाउका हल्‍लाउँछन्। मेरो सधैँ बदनाम भएको छ र मेरो शत्रु र मलाई घृणा गर्नेहरूको बदनाम र खिसीका कुरा सुन्‍दा-सुन्‍दा म लाजमा परेको छु। हामीले तपाईंलाई भुलेका छैनौं अथवा तपाईंले हामीसँग गर्नुभएको करार तोडेका छैनौं, तापनि यी सबै हामीमाथि आइपरेका छन्। हामीले आफ्‍नो भक्ति तपाईंबाट हटाएका छैनौं, हामीले तपाईंको आज्ञा तोडेका छैनौं। तापनि तपाईंले जङ्गली जनावरको बीचमा हामीलाई असहाय छोड्‍नुभयो, घोर अन्‍धकारमा तपाईंले हामीलाई त्‍याग्‍नुभयो। यदि हामीले आफ्‍ना परमेश्‍वरलाई पुज्‍न छोडेका भए, अन्‍य देवतालाई प्रार्थना गरेका भए तपाईंले निश्‍चय चाल पाउनुहुनेथियो किनभने तपाईंले हाम्रा गुप्‍त सोचविचारहरू जान्‍नुहुन्‍छ। तर तपाईंको खातिर हरसमय हाम्रो हत्‍या भइरहेको छ र काट्‍न ल्‍याइएका भेडाहरूजस्‍तै हामीसित व्‍यवहार गरिन्‍छ। उठ्‍नु होस्! प्रभु, तपाईं किन निदाउनुभयो? ब्युँझनुहोस्! हामीलाई सधैँभरि नत्‍याग्‍नुहोस्। तपाईं किन हामीदेखि लुक्‍दै हुनुहुन्‍छ? हाम्रा दु:ख र कष्‍ट नभुल्‍नुहोस्। भूइँमा चकनाचुर भएर हामी लडेका छौं। हार भएर हामी धुलोमा सुतेका छौं। हाम्रा सहायताको लागि आउनुहोस्! आफ्‍नो अटुट प्रेमको कारणले हामीलाई बचाउनुहोस्।

शेयर गर्नुहोस्
भजनसंग्रह 44 पढ्नुहोस्