गन्‍ती 5:11-31

गन्‍ती 5:11-31 सरल नेपाली

इस्राएलीहरूलाई यी तलका आदेशहरू दिनू भनी परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो, “यस्‍तो हुन सक्‍छ कि कुनै पुरुषले आफ्‍नी स्‍वास्‍नी आफूप्रति अविश्‍वासी भएकी छे र पर-पुरुषसित सुतेर आफैंलाई अपवित्र तुल्‍याएकी छे भनी शङ्का गर्न सक्‍छ। तर लोग्‍नेचाहिँले त्‍यो कुरा हो भनी जानेको नहोला किनभने स्‍त्रीले त्‍यो कुरा गुप्‍तमा राखेकी होली वा कोही साक्षी थिएन होला वा त्‍यो दुष्‍कर्मकै बेलामा स्‍त्री पक्राउ परेकी थिई होली। यस्‍तो पनि हुन सक्‍छ कि बिनाकारण अथवा स्‍वास्‍नी अविश्‍वासयोग्‍य हुँदै नभएकी छे भने पनि लोग्‍नेले चाहिँ शङ्का गर्न सक्‍दछ। जुनै कारणले शङ्का उठेको होस्, लोग्‍नेले स्‍वास्‍नीलाई पूजाहारीकहाँ लैजाओस्। त्‍यति बेला चाहिने एक किलोग्राम जौको पीठो पनि त्‍यसले सँगै लैजाओस् तर त्‍यसमाथि जैतुनको तेल वा धूप नमिसाओस् किनभने त्‍यो एउटा शङ्कालु लोग्‍नेले साँचो कुरो प्रकाशमा आओस् भनी चढाएको भेटी हो। “पूजाहारीले त्‍यस स्‍त्रीलाई ल्‍याएर वेदीको सामुन्‍ने खडा हुन लाओस्। उसले केही पवित्र पानी माटोको बटुकोमा लिएर परमप्रभुको पवित्र पालको मझेरीमा भएको केही माटो उठाएर त्‍यस पानीमा हालोस् र पानी तीतो पारोस्। उसले त्‍यसपछि स्‍त्रीको केश फुकाइदेओस् र पिठोको भेटी त्‍यसका हातमा देओस्। पूजाहारीले आफ्‍नो हातमा तीतो पानी भएको बटुको लेओस्। त्‍यस तीतो पानीले सराप ल्‍याउँछ। तब पूजाहारीले स्‍त्रीलाई उसले भनेको यो शपथ खान राजी गराओस्– ‘यदि तैँले व्‍यभिचार गरेकी छैनस् भने यस पानीबाट आउने सरापले तेरो हानि गर्नेछैन। तर तैँले व्‍यभिचार गरेकी छेस् भने परमप्रभुले तेरो नाम तेरा आफ्‍ना मानिसहरूका बीचमा श्रापित पारून्। उहाँले तेरो कोख बाँझो राख्‍नुहुनेछ अनि तेरो गर्भपात गराउनुहुनेछ। यो पानी तेरो पेटमा पसेर गर्भपात गरोस् र तेरो कोख बाँझो बनाओस्।” स्‍त्रीले उत्तरमा भनोस्, ‘म राजी छु! परमप्रभुले त्‍यसै गरून्’।” “तब पूजाहारीले त्‍यो सराप लेखेर त्‍यो तीतो पानीले पखाली बटुकामा हालोस्। त्‍यस स्‍त्रीलाई त्‍यो पानी पिउन दिनुअघि पूजाहारीले पिठोको भेटी त्‍यसका हातबाट लेओस् र त्‍यो परमप्रभुलाई चढाउन उँभो उचालोस् र वेदीमा चढाओस्। त्‍यो पानी पिउँदा स्‍त्रीलाई कठोर व्‍यथा हुन सक्‍छ। तब पूजाहारीले एक मुट्ठी पिठो भेटीको रूपमा लिएर वेदीमाथि जलाओस्। अन्‍तमा उसले त्‍यो तीतो पानी स्‍त्रीलाई पिउन लाउनेछ। यदि स्‍त्रीले व्‍यभिचार गरेकी छे भने पानीले त्‍यसको पेट अति नमीठो गरी दुख्‍नेछ, गर्भपात हुनेछ अनि कोख बाँझो हुनेछ। आफ्‍ना मानिसहरूका बीचमा त्‍यसको नाम श्रापित हुनेछ। तर त्‍यो निर्दोष भए त्‍यसलाई केही हानि हुनेछैन र गर्भवती हुन सक्‍नेछ। “कोही मानिस ईर्ष्‍या गर्ने खालको छ र त्‍यसले आफ्‍नी स्‍वास्‍नीले व्‍यभिचार गरेकी छे भनी शङ्का गर्छ भने त्‍यसको लागि यही नियम हो। त्‍यो स्‍त्री वेदीको सामुन्‍ने खडा गरिनेछ र पूजाहारीले यो रीति पूरा गर्नेछ। लोग्‍नेलाई केही दोष लाग्‍नेछैन तर स्‍त्रीचाहिँ दोषी ठहरिए त्‍यसको फल त्‍यसले भोग्‍नेछे।”

गन्‍ती 5 पढ्नुहोस्