मत्ती 22:27-40
मत्ती 22:27-40 सरल नेपाली
आखिरमा त्यो स्वास्नी मानिस पनि मरी। अब सबै जना मरेकोबाट बिउँते भने त्यो कसकी स्वास्नी हुन्छे? उसलाई त सातै भाइले बिहे गरेका थिए!” येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू भुलमा परेछौ। तिमीहरूले न धर्मशास्त्र नता परमेश्वरको शक्तिको बारेमा नै बुझेका रहेछौ। मरेका मानिसहरू बिउँतेपछि त तिनीहरूको बिहे गर्ने र गराउने कुरै हुनेछैन। तिनीहरू त स्वर्गमा रहने स्वर्गदूतहरूजस्तै हुन्छन्। मरेकोबाट बिउँतने बारेमा अझै भन्ने हो भने ‘म अब्राहाम, इसहाक र याकूबको परमेश्वर हुँ’ भनेर परमेश्वरले तिमीहरूलाई भन्नुभएको कुरा के तिमीहरूले पढेका छैनौ? परमेश्वर त मरेकाहरूको होइन, तर जिउँदाहरूको पो परमेश्वर हुनुहुन्छ।” यसरी उहाँको शिक्षा सुनेर सबै मानिसहरू छक्क परे। येशूले सदुकीहरूलाई चुप पार्नुभयो भन्ने कुरा सुनेर फरिसीहरू एक गुट बाँधेर येशूकहाँ आए। तिनीहरूमध्ये एक जना धर्म-गुरुले येशूलाई फसाउने विचारले सोधे, “हे गुरु, व्यवस्थाको सबैभन्दा ठूलो आज्ञाचाहिँ कुन हो?” येशूले जवाफ दिनुभयो, “तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो पूरा हृदय, पूरा प्राण र पूरा मनले प्रेम गर। सबैभन्दा मुख्य र ठूलो आज्ञा यही हो। अनि यस्तै अर्को मुख्य र ठूलो आज्ञाचाहिँ, ‘आफ्नो छिमेकीलाई आफैंलाई जस्तै प्रेम गर।’ मोशाका सबै व्यवस्था र अगमवक्ताका शिक्षाहरूको आधार यी दुई आज्ञा हुन्।”

