उत्‍पत्ति 50:18-26

उत्‍पत्ति 50:18-26 सरल नेपाली

तब तिनका दाजुभाइहरू आफैं गएर तिनको अघि शिर निहुराएर भने, “हामी तपाईंका कमाराहरू यहाँ तपाईंको अघि हाजिर छौं।” योसेफले तिनीहरूलाई भने, “नडराओ, म परमेश्‍वरको स्‍थानमा छैनँ। तिमीहरूले मेरो विरुद्धमा खराब जाल रच्‍यौ तर परमेश्‍वरले त्‍यसलाई भलाइमा बदल्‍नुभयो, जसले गर्दा उहाँले धेरै मानिसहरूको प्राण जोगाउनुभयो र आज तिनीहरू बाँचेका छन्। तिमीहरू डराउने केही काम छैन। म तिम्रा र तिम्रा छोरा-छोरीहरूको हेरचाह गर्नेछु।” यसरी योसेफले दयाको शब्‍द बोलेर तिनीहरूलाई ढाडस दिए। ती शब्‍दले तिनीहरूको हृदय छोयो। आफ्‍नो बुबाको परिवार लिएर योसेफ मिश्रमा बसिरहे। उहाँको मृत्‍यु हुँदा उनको उमेर ११० वर्ष भएको थियो। एफ्राइमका छोरा-छोरी, नाति-नातिनीहरू पनि उनले देखे। मनश्‍शेको छोरो माकीरका छोरा-छोरीहरू पनि परिवारमा थपिञ्‍जेलसम्‍म उनी बाँचिरहे। उनले दाजुभाइहरूलाई भने, “मेरो मर्ने बेला भयो तर परमेश्‍वरले निश्‍चय नै उहाँले अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको प्रतिज्ञाअनुसार तिमीहरूलाई यस देशबाट डोर्‍याएर निकालिलैजानुहुनेछ।” त्‍यसपछि योसेफले आफ्‍ना मानिसहरूलाई शपथ खान लाए। उनले भने, “परमेश्‍वरले तिमीहरूलाई त्‍यस देशमा लैजानुहुँदा मेरो लाश पनि लिएर जानेछौ भनी मसँग प्रतिज्ञा गर।” योसेफ मिश्रदेशमा ११० वर्ष उमेर पुगेर मरे। तिनीहरूले सुगन्‍धित तेल र लेप तिनको लाशमा मलेर लाश एउटा बाकसमा हालेर राखे।

उत्‍पत्ति 50 पढ्नुहोस्