प्रस्थान 40:18-34
प्रस्थान 40:18-34 सरल नेपाली
मोशाले त्यसका आसन र फल्याकहरू तेर्साए, तेर्सा बारहरू लाए र खम्बाहरू गाडे। परमप्रभुले आज्ञा गर्नुभएअनुसार पवित्र पालमाथि भित्री र बाहिरी पर्दाले छोपे। तब तिनले दुईवटा ढुङ्गाका पाटीहरू करारका सन्दुकमा हाले। सन्दुकको कुण्डलभित्र डन्डाहरू छिराए र त्यसमाथि कृपा-आसन लाए। तब तिनले सन्दुक पालभित्र राखे र त्यसलाई छेल्ने गरी पर्दा झुन्ड्याए। यसरी परमप्रभुले आज्ञा गर्नुभएअनुसार करारको सन्दुकको रक्षा भयो। पवित्र पालभित्र परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले पर्दा बाहिर उत्तरपट्टि टेबिलमा राखे र त्यसमाथि परमप्रभुलाई चढाएको रोटी राखे। टेबिलको सामुन्ने दक्षिणमा सामदान राखे र त्यहाँ परमप्रभुको अघि उहाँले आज्ञा गर्नुभएअनुसार पानसहरू बाले। पर्दाको अघिल्तिर डेराभित्र सुनको वेदी राखे र परमप्रभुले आज्ञा गर्नुभएअनुसार मीठो बास्ना दिने धूप बाले। तिनले पवित्र पालको ढोकामा पर्दा टाँगे र त्यहाँ पर्दाको अघिल्तिर होमबलि चढाउने वेदी राखे। परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले वेदीमा होमबलि र अन्नबलि चढाए। पवित्र पाल र वेदीको बीचमा तिनले पानी हाल्ने बाटा राखे र त्यसमा पानी भरे। परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशा, हारून र तिनका छोराहरूले पवित्र पालभित्र वा वेदीमा जाँदा आ-आफ्ना हात-खुट्टा धुन्थे। मोशाले पवित्र पाल र वेदीका चारैपट्टि घेरा लाए र घेराका ढोकामा पर्दा टाँगे। यसरी तिनले सबै काम सिध्याए। तब बादलले पवित्र पाललाई ढाक्यो र परमप्रभुको उपस्थितिको चम्किलो ज्योतिले पाल भरियो।

