१ कोरिन्थी 9:1-12

१ कोरिन्थी 9:1-12 सरल नेपाली

के म स्‍वतन्‍त्र छैनँ? के म प्रेरित होइनँ? के मैले हाम्रा प्रभु येशू ख्रीष्‍टलाई देखेको छैनँ? के तिमीहरू नै प्रभुका लागि मैले गरेका कामका फलहरू होइनौ र? कति जनाले मलाई प्रेरित नमाने पनि तिमीहरूले त मान्‍छौ। तिमीहरू ख्रीष्‍टमा भएको कुराले नै म प्रेरित हुँ भन्‍ने सबुत दिन्‍छ। मलाई दोष लाउनेहरूलाई यही नै मेरो जवाफ हो। मेरो कामको लागि खाने-पिउने खर्च मैले पाउनैपर्ने होइन र? पत्रुस, प्रभुकै भाइहरू र अरू प्रेरितहरूले जस्‍तै मैले ख्रीष्‍टिय स्‍वास्‍नी लिएर यात्रा गर्न पाउँदिनँ र? के बारनाबास र मैले मात्रै आफैं काम गरेर पेट पाल्‍नुपर्छ? के सेनामा हुँदा सिपाहीले आफ्‍नो खर्च आफैं ब्‍यहोर्छ? के अङ्‌गुरको खेती गर्नेले अङ्‌गुर खान पाउँदैन? के गोठालाले आफ्‍नो वस्‍तुको दूध खान पाउँदैन? यो मैले मान्‍छेको विचार लिएर मात्र भनेको होइनँ, व्यवस्थाले पनि यसै भन्‍छ। मोशाले दिएको व्यवस्थामा लेखिएको छ, “दाइँ गर्ने गोरुलाई मोहला नलगाऊ।” के परमेश्‍वरले यो गोरुकै लागि भन्‍नुभएको हो? के उहाँले हाम्रो लागि भन्‍नुभएको होइन? हो, यो हाम्रो लागि भनिएको हो किनभने खेत जोत्‍नेले आशामै जोत्‍छ अनि दाइँ गर्नेले केही पाउँला भन्‍ने आशाले नै दाइँ गर्छ। हामीले त तिमीहरूका माझमा आत्‍माको अन्‍न छरेका छौं। हामीले तिमीहरूबाट केही चीज पाउनु कुनै उदेकको कुरो हो र? यदि अरूले तिमीहरूबाट केही पाउँदा हुन्‍छ भने हामीले झन् पाउनुपर्ने हो। तर हामीले यो हक चलाएनौं। ख्रीष्‍टको सुसमाचार सुनाउन कुनै बाधा नपरोस् भनेर नै हामीले सबै कुरा सहेर बस्‍यौं।

१ कोरिन्थी 9 पढ्नुहोस्