1 कोरिन्थी 9:1-12

1 कोरिन्थी 9:1-12 NCV

के म स्वतन्त्र छैनँ? के म प्रेरित होइनँ? के मैले हाम्रा प्रभु येशूलाई देखेको छैनँ? के तिमीहरू प्रभुमा मेरो कामको फल होइनौ र? म अरूका निम्ति प्रेरित होइनँ भने तापनि तिमीहरूको लागि निश्‍चय नै हुँ! किनकि प्रभुमा मेरो प्रेरितीयपनको छाप त तिमीहरू नै हौ। जसले मेरो बारेमा आलोचना गर्दछन्, उनीहरूलाई प्रतिवादमा मेरो जवाफ यही हो: के हामीलाई खाने र पिउने अधिकार छैन र? के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासले जस्तै हामीलाई पनि आफूसँग आफ्नी विश्‍वासी पत्नीलाई लिएर हिँड्ने अधिकार छैन र? अथवा के बारनाबास र मलाई मात्र जीविका चलाउनका निम्ति काम गर्नुपर्ने हो? आफ्नै खर्चमा सिपाही भएर कसले काम गर्छ र? कसले दाखबारी लगाएर त्यसको फलबाट खाँदैन र? कसले भेडाको बथान पालेर त्यसको दूध पिउँदैन र? के मैले यो साधारण मानव दृष्‍टिकोणले मात्र भनेको हुँ र? के व्यवस्थाले पनि यही कुरा भन्दैन र? किनकि मोशाको व्यवस्थामा यसरी लेखिएको छ: “अन्‍नबाली दाइँ गर्दा गोरुको मुखमा मोहोलो नलगाउनू।” के गोरुहरूका बारेमा मात्र परमेश्‍वरले वास्ता राख्नुहुन्छ? के उहाँले विशेष गरी यो हाम्रा निम्ति भन्‍नुभएको होइन र? हो, यो हाम्रा निम्ति नै लेखिएको थियो; किनभने जोत्ने र दाइँ गर्नेले फसलको केही हिस्सा पाउने आशामा नै जोत्छ र दाइँ गर्दछ। यदि हामीले तिमीहरूका बीचमा आत्मिक बिउ छरेका छौँ भने तिमीहरूबाट भौतिक थोकको कटनीको आशा गर्नु के यो ठूलो कुरा हो र? यदि तिमीहरूबाट अरूले भौतिक सहयोग पाउने अधिकार छ भने के हामीलाई तिमीहरूबाट त्योभन्दा बढी भौतिक सहयोग पाउने अधिकार छैन र? तरै पनि हामीले यस अधिकारको प्रयोग गरेका छैनौँ। बरु ख्रीष्‍टको सुसमाचार प्रचारमा बाधा नपुगोस् भनेर हामीले सबै कुरा सहेका छौँ।

1 कोरिन्थी 9 पढ्नुहोस्