१ कोरिन्थी 9:1-12

१ कोरिन्थी 9:1-12 NNRV

के म स्‍वतन्‍त्र छैनँ? के म प्रेरित होइनँ? के मैले येशू, हाम्रा प्रभुलाई देखेको छैनँ? के प्रभुमा तिमीहरू मेरो कामको प्रतिफल होइनौ र? म अरूहरूका निम्‍ति प्रेरित नभए तापनि कम-से-कम तिमीहरूका निम्‍ति त हुँ, किनभने प्रभुमा मेरो प्रेरितको कामको छाप तिमीहरू नै हौ। मेरो विरुद्धमा बोल्‍नेहरूलाई मेरो यही जवाफ छ, के हामीलाई खाने-पिउने अधिकार छैन? के अरू प्रेरितहरूजस्‍तै, प्रभुका भाइहरू र केफासलाई जस्‍तै हामीलाई पनि पत्‍नी लिएर हिँड्‌ने अधिकार छैन र? अथवा के बारनाबास र मलाई मात्र काम नगरिकन नै जीविका चलाउने अधिकार छैन? आफ्‍नै खर्चमा कसले सिपाहीको काम गर्छ र? दाखबारी लाएर कसले त्‍यसको फल खाँदैन? अथवा भेडाबाख्राका बथान पालेर कसले त्‍यसको दूध पिउँदैन? के मानिसको दृष्‍टिकोणबाट मात्र म यो भन्‍दैछु र? अथवा के व्‍यवस्‍थाले पनि यही कुरा भन्‍दैन? किनभने मोशाको व्‍यवस्‍थामा लेखिएको छ, “दाइँ गर्दा गोरुलाई मोहोलो नलगाओ।” के गोरुहरूका विषयमा परमेश्‍वर चिन्‍तित हुनुहुन्‍छ? के उहाँले हाम्रो खातिर नै यो भन्‍नुभएको होइन र? हाम्रो खातिर नै यो लेखिएको हो। किनकि जोत्‍ने र दाइँ गर्नेले अन्‍नको केही हिस्‍सा पाउने आशामा नै जोत्‍छ र दाइँ गर्छ। यदि हामीहरूले तिमीहरूका माझमा आत्‍मिक बीउ रोपेका छौं भने, र तिमीहरूको भौतिक सम्‍पत्तिको कटनी गर्‍यौ भने, के त्‍यो अति भयो र? यदि अरूहरूले तिमीहरूमाथि यस मुनासिब हकको दाबी गर्छन्‌ भने के हाम्रो अझ बढ़ी हक छैन? तापनि हामीले त यस हकको प्रयोग गरेका छैनौं, तर ख्रीष्‍टको सुसमाचारमा बाधा नपारौं भनेर बरु हामी सबै कुरा सहन्‍छौं।