दुष्टहरूलाई देखेर झर्को नमान, कुकर्मीहरूप्रति डाही नहोऊ,
किनकि तिनीहरू चाँड़ै घाँसझैँ सुकिजानेछन्,
र हरिया बिरुवाजस्तै ओइलिजानेछन्।
परमप्रभुमा भरोसा राख र भलाइ गर, त्यसरी देशमा रहेर सुरक्षाको उपभोग गर्नेछौ।
परमप्रभुमा आनन्दित होऊ,
र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ।
आफ्नो मार्ग परमप्रभुलाई सुम्प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुनेछ:
उहाँले तिम्रो धार्मिकता प्रभातझैँ ज्योतिसमान
र तिम्रो मामिलाको न्याय मध्यदिनको सूर्यसमान पार्नुहुनेछ।
परमप्रभुको सामुन्ने मौन बस र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर। मानिस आफ्ना कुमार्गमा फलिफाप हुँदा र त्यसले खराब युक्तिहरू कार्यान्वयन गर्दा तिमी झर्को नमान।
रिसाउन छोड र क्रोधलाई त्याग। झर्को नमान, यसले खराबी गर्नतिर मात्र ढल्काउँछ।
किनकि कुकर्मीहरू बहिष्कृत हुनेछन्, तर परमप्रभुको प्रतीक्षा गर्नेहरूले देश अधिकार गर्नेछन्।
अलिक बेरपछि दुष्टहरू रहनेछैनन्, तिमीले तिनीहरूलाई खोजे तापनि तिनीहरू पाइनेछैनन्।
तर नम्रहरूले देश अधिकार गर्नेछन्,
र ठूलो शान्ति उपभोग गर्नेछन्।
दुष्टहरूले धर्मी जनका विरुद्धमा षड्यन्त्र रच्तछन्, र उनीहरूमाथि दाह्रा किट्दछन्,
तर प्रभुले तिनीहरूलाई हाँसोमा उड़ाइदिनुहुन्छ, किनभने तिनीहरूको दिन आइराखेको उहाँ जान्नुहुन्छ।
दु:खी र कङ्गालीहरूलाई ढाल्न,
र सत्यको बाटोमा हिँड्नेहरूलाई मार्न, दुष्टहरूले तरवार थुत्छन्,
र धनुमा ताँदो चढ़ाउँछन्।
तर तिनीहरूका तरवारले तिनीहरूकै मुटु छेड्नेछन्,
र तिनीहरूका धनु भाँचिनेछन्।
धेरै दुष्टहरूका सम्पत्तिको प्रचुरताभन्दा धर्मी जनहरूसँग भएको थोरै कुरो उत्तम हो।
किनकि दुष्टहरूका पाखुरा भाँचिनेछन्, तर धर्मीहरूलाई परमप्रभुले थामिराख्नुहुन्छ।
परमप्रभुले निर्दोष मानिसहरूको वास्ता गर्नुहुन्छ,
र तिनीहरूको अधिकार सधैँभरि रहनेछ।
आपत्का दिनमा तिनीहरू लाजमा पर्नेछैनन्,
र अनिकालका दिनमा तिनीहरूसँग प्रशस्त हुनेछ।
तर दुष्टहरू त नष्ट हुनेछन्, परमप्रभुका शत्रुहरूचाहिँ चउरको हरियालीजस्तै छन्, तिनीहरू लोप भइजानेछन्,
धूवाँजस्तै तिनीहरू लोप हुनेछन्।
दुष्टहरूले ऋण लिन्छन्, र तिर्दैनन्, तर धर्मी जनहरूले उदारतापूर्वक दिन्छन्।
परमप्रभुबाट आशिष् पाउनेहरूले देशमाथि अधिकार गर्छन्, तर उहाँबाट श्राप पाउनेहरूचाहिँ पन्साइनेछन्।