भजनसंग्रह 37:1-22

भजनसंग्रह 37:1-22 सरल नेपाली

दुष्‍ट मानिसका कारणले चिन्‍तित नहोओ, दुष्‍कर्म गर्नेहरूसँग डाहा नगर। तिनीहरू सुकिजाने घाँसजस्‍तै हराउनेछन्; तिनीहरू ओइली जाने झारपातझैँ मर्नेछन्। परमप्रभुमा भरोसा गर र भलाइ गर। देशमा कुशलसँग बास गर। परमप्रभुमा आफ्‍नो आनन्‍द खोज र उहाँले तिमीलाई तिम्रो मनले चाहेको कुरा दिनुहुनेछ। आफैंलाई परमप्रभुकहाँ सुम्‍पिदेऊ, उहाँमा भरोसा राख; उहाँले तिमीलाई सहायता गर्नुहुनेछ। उहाँले मध्‍यदिनको घामजस्‍तै तिम्रा धार्मिकतालाई चम्‍काउनुहुनेछ। धैर्य गर र परमप्रभुलाई काम गर्न देऊ, फलिफाप हुने मानिसका कारणले वा कोही आफ्‍ना दुष्‍ट युक्तिमा सफल भएमा चिन्‍ता नगर, त्‍यसको कारणले पनि चिन्‍तित नहोऊ। रिस र चिन्‍ता नगर, त्‍यसो गर्नाले कष्‍ट मात्र पाइन्‍छ। परमप्रभुमा भरोसा राख्‍नेहरूले देश आफ्‍ना हात पार्छन्, तर दुष्‍टचाहिँ धपाइनेछन्। दुष्‍टहरू चाँडै हराइजानेछन्; तिमीहरूले तिनीहरूलाई खोजौला तर भेट्टाउनेछैनौ। नम्रहरूले देशमाथि अधिकार गर्नेछन्, तिनीहरूलाई शान्‍ति र फलिफाप हुनेछ। दुष्‍ट मानिसले भलो मानिसको विरुद्धमा जाल रच्‍दछ र घृणाले उसलाई हेर्दछ। तर परमप्रभुले दुष्‍ट मानिसहरूको हाँसो उडाउनुहुन्‍छ किनभने तिनीहरूचाहिँ नाश हुनेछन् भनी उहाँले जान्‍नुहुन्‍छ। दरिद्र र अभावमा परेका मानिसहरू मार्नलाई र असल काम गर्नेहरूलाई नाश पार्नलाई दुष्‍टहरूले आफ्‍ना तरवारहरू निकाल्‍दछन् र धनु-काँड ताक्‍दछन्। तिनीहरू आफ्‍ना तरवारहरूले आफ्‍नै मुटु छेडिएर मर्नेछन्, तिनीहरूका धनु-काँड चकनाचुर हुनेछन्। भलो मानिससँग भएको थोरै थोक सबै दुष्‍टहरूले जम्‍मा गरेका धेरै धनभन्दा बढी हो किनभने परमप्रभुले दुष्‍टको बल खोस्‍नुहुनेछ; तर असल मानिसहरूलाई रक्षा गर्नुहुनेछ। परमप्रभुले आफ्‍ना आज्ञा मान्‍नेहरूको वास्‍ता राख्‍नुहुनेछ र देश सधैँभरि तिनीहरूको अधिकारमा रहनेछ। तिनीहरूले दिन र काल खराब हुँदा कष्‍ट पाउनेछैनन्, अनिकालको बेलामा तिनीहरूसँग पुग्‍दो चीजबीज रहनेछन्। तर दुष्‍टहरू मरिजानेछन्, जङ्गलका फूलहरूझैँ परमप्रभुका शत्रुहरू हराउनेछन् र धुवाँझैँ तिनीहरू बिलाएर जानेछन्। दुष्‍ट मानिसले ऋण लिएर कहिल्‍यै फिर्ता दिँदैन, तर भलो मान्‍छेले मुट्ठी खोलेर दान दिँदछ। परमप्रभुबाट आशिष् पाएकाहरूले देशमाथि अधिकार गर्नेछन्, तर सराप पाएकाहरू भने धपाइनेछन्।

भजनसंग्रह 37 पढ्नुहोस्