दुष्ट काम गर्ने मानिसहरूलाई देखेर झर्को नमान, वा दुष्ट काम गर्नेहरूप्रति डाही नहोऊ; किनकि तिनीहरू त चाँडै घाँसजस्तै ओइलाउनेछन्, हरिया बिरुवाहरूजस्तै तिनीहरू चाँडै नष्ट हुनेछन्। याहवेहमा भरोसा राख, र भलाइ गर; ताकि देशमा आनन्दसाथ बस्न सक। याहवेहमा आनन्दित होऊ; र उहाँले तिम्रो हृदयका इच्छाहरू पूरा गरिदिनुहुनेछ। तिम्रो आफ्नो मार्ग याहवेहलाई सुम्प; उहाँमा नै भरोसा राख; र उहाँले यो गर्नुहुनेछ: उहाँले तिम्रो धार्मिकता प्रभातको ज्योतिसमान र तिम्रो न्याय मध्यदिनको सूर्यसमान पार्नुहुनेछ। याहवेहको सामु मौन भई बस, र धैर्यतापूर्वक उहाँको प्रतीक्षा गर; जब मानिसहरू आफ्ना कुमार्गहरूमा सफल हुन्छन्, तब तिनीहरूका खराब योजनाहरू सफल हुँदा झर्को नमान। रिसबाट टाढा होऊ, र क्रोधबाट फर्क; झर्को नमान—यसले खराबीतिर मात्र डोर्याउँछ। किनकि दुष्टहरू नष्ट पारिनेछन्; तर याहवेहको प्रतीक्षा गर्नेहरूले देशमा अधिकार गर्नेछन्। थोरै समय मात्र बाँकी छ, र दुष्टहरू रहनेछैनन्; तिमीले तिनीहरूलाई खोजे तापनि तिनीहरू भेट्टाइनेछैनन्। तर नम्रहरूले देश अधिकार गर्नेछन्, र शान्ति र प्रशस्ततामा जिउनेछन्। दुष्टहरूले धर्मी जनका विरुद्धमा षड्यन्त्र रच्दछन्, र तिनीहरूले तिनीहरूमाथि दाह्रा किट्दछन्; तर प्रभु दुष्टहरूमाथि हाँस्नुहुन्छ; किनकि उहाँले तिनीहरूको दिन आइरहेको जान्नुहुन्छ। दुःखी र खाँचोमा परेकाहरूलाई ढाल्न, र सत्यको बाटोमा जिउनेहरूलाई मार्न, दुष्टहरूले तरवार थुत्छन्, र धनुमा ताँदो चढाउँछन्। तर तिनीहरूका तरवारले तिनीहरूकै मुटु छेडिनेछ, र तिनीहरूका धनुहरू भाँचिनेछन्। दुष्टहरूका धेरै सम्पत्तिभन्दा धर्मी जनहरूसँग भएको थोरै कुरा उत्तम हो; किनकि दुष्टहरूको शक्ति तोडिनेछन्, तर याहवेहले धर्मीहरूलाई थामिराख्नुहुन्छ। निर्दोष मानिसहरूले याहवेहको सुरक्षामा आफ्ना दिन बिताउँछन्, र तिनीहरूको अधिकार सदासर्वदा रहनेछ। आपत्को दिनमा तिनीहरू शर्ममा पर्नेछैनन्; अनिकालको दिनमा तिनीहरूसँग प्रशस्त खानेकुरा हुनेछ। तर दुष्टहरूचाहिँ नष्ट हुनेछन्: याहवेहका शत्रुहरूचाहिँ खेतका फूलहरूजस्तै भए तापनि तिनीहरू भष्म हुनेछन्, तिनीहरू धुवाँजस्तै लोप हुनेछन्। दुष्टहरूले ऋण लिन्छन् र फर्काउँदैनन्; तर धर्मीहरूले उदारतापूर्वक दिन्छन्। याहवेहबाट आशिष् पाउनेहरूले देश अधिकार गर्नेछन्; तर उहाँबाट श्राप पाउनेहरूचाहिँ नष्ट हुनेछन्।
भजनसंग्रह 37 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 37:1-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू