भजनसंग्रह 107:17-32

भजनसंग्रह 107:17-32 NNRV

कोही-कोही आफ्‍नै विद्रोही चालले गर्दा मूर्ख बने, र आफ्‍नै अपराधको कारण विपत्तिमा परे। सब भोजनहरू तिनीहरूलाई अमन भयो, र तिनीहरू मृत्‍युको मुखसम्‍म पुगे। तब तिनीहरूले आफ्‍नो सङ्कष्‍टमा परमप्रभुको पुकार गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्‌बाट छुटाउनुभयो। उहाँले आफ्‍नो वचन पठाउनुभएर तिनीहरूलाई निको पार्नुभयो, र तिनीहरूलाई मृत्‍युको खाड़लबाट उकास्‍नुभयो। तिनीहरूले परमप्रभुको अचूक प्रेमको निम्‍ति, र मानिसहरूप्रति उहाँका आश्‍चर्य कामका निम्‍ति उहाँलाई धन्‍यवाद चढ़ाऊन्‌। तिनीहरूले धन्‍यवाद बलि चढ़ाऊन्‌, र हर्षका गीतहरूमा उहाँका कार्यहरूको वर्णन गरून्‌। कोही-कोही जहाज चढ़ी समुद्रमा गए, तिनीहरू महासागरमाथिका व्‍यापारी थिए। तिनीहरूले परमप्रभुका कार्यहरू देखे, सागरको गहिराइमा तिनीहरूले उहाँका आश्‍चर्य कार्यहरू देखे। किनभने उहाँले आज्ञा गर्नुभयो, र प्रचण्‍ड आँधी चलाउनुभयो, जसले सागरका छालहरू उठाए। तिनीहरू आकाशसम्‍मै चढ़ेर गए, र फेरि सागरको गहिराइमा झरे, तिनीहरूको क्‍लेशमा तिनीहरूको साहस गलेर गयो। तिनीहरू मतवालाजस्‍तै रन्‍थनिएर धरमराउँदैथिए, र तिनीहरूको अक्‍कल गुम भयो। तब तिनीहरूले आफ्‍नो सङ्कष्‍टमा परमप्रभुको पुकारा गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्‌बाट छुटाउनुभयो। उहाँले आँधीलाई शान्‍त गराउनुभयो, र सागरका छालहरू स्‍थिर भए। आँधी शान्‍त भएपछि तिनीहरू खुशी भए, र उहाँले तिनीहरूले चाहेका बन्‍दरगाहमा पुर्‍याउनुभयो। तिनीहरूले परमप्रभुको अचूक प्रेमको निम्‍ति, र मानिसहरूप्रति उहाँका आश्‍चर्यका कामका निम्‍ति उहाँलाई धन्‍यवाद चढ़ाऊन्‌। तिनीहरूले मानिसहरूको समुदायमा उहाँको तारीफ गरून्‌, र धर्म-गुरुहरूको सभामा उहाँको प्रशंसा गरून्‌।