भजनसंग्रह 107:17-32

भजनसंग्रह 107:17-32 सरल नेपाली

कति जना आफ्‍नो पाप र दुष्‍टताको कारणले कष्‍टमा परेका मूर्खहरू थिए। तिनीहरू खाना हेर्न पनि नसक्‍ने भएका थिए र मर्न आँटेका थिए। तब तिनीहरूले परमप्रभुलाई आफ्‍नो कष्‍टमा पुकारे र उहाँले तिनीहरूलाई सबै दु:ख-कष्‍टबाट बचाउनुभयो, आफ्‍नो आज्ञाले उहाँले तिनीहरूलाई निको पार्नुभयो र मृत्‍युदेखि बचाउनुभयो। तिनीहरूले परमप्रभुलाई उहाँको अनन्‍त प्रेमको निम्‍ति र उहाँले तिनीहरूका लागि गर्नुभएका उदेकका कामहरूका निम्‍ति धन्‍यवाद दिनैपर्छ। बलि चढाएर तिनीहरूले उहाँलाई धन्‍यवाद चढाउनुपर्छ र आनन्‍दका भजन गाएर उहाँले गर्नुभएका सारा कामको बारेमा भन्‍नुपर्छ। कति जना महासागरमा जहाजहरू चलाएर गए र समुद्रमा आफ्‍नो जीविका चलाउने कमाइ गरे। परमप्रभुले के कसो गर्न सक्‍नुहुन्‍छ, तिनीहरूले देखे, समुद्रमा उहाँका उदेकका कामहरू तिनीहरूले देखे। उहाँको आज्ञाले एउटा तेज बतास बग्‍न सुरु भयो र पानीका लहरहरू उठ्‍न थाले। जहाजहरू हावामा माथि उचालिन्‍थे र समुद्रमा गहिरोसम्‍म डुबिजाँदथे। यस्‍तो विपत्तिको समयमा मानिसहरूले साहस हराए। मातेका मानिसहरूझैँ तिनीहरू लरबरिन्‍थे र लड्थे, तिनीहरूको केही सीप चलेन। तब तिनीहरूले परमप्रभुलाई आफ्‍ना कष्‍टमा पुकारे र उहाँले तिनीहरूलाई सबै दु:ख-कष्‍टबाट बचाउनुभयो। उर्लंदो आँधीलाई उहाँले थाम्‍नुभयो र पानीका लहरहरू शान्‍त भए। सबै शान्‍त भएको हुनाले तिनीहरू खुसी भए र उहाँले तिनीहरूलाई कुशलसित तिनीहरूले चाहेका बन्‍दरगाहमा ल्‍याइपुर्‍याउनुभयो। तिनीहरूले परमप्रभुलाई उहाँको अनन्‍त प्रेमको निम्‍ति र उहाँले तिनीहरूको लागि गर्नुभएको उदेकका कामहरूको निम्‍ति धन्‍यवाद दिनैपर्छ। मानिसहरूका सभामा तिमीहरूले उहाँको महान्‌ताबारे भन्‍ने गर्नुपर्छ र अगुवाहरूका सभाघरमा उहाँको प्रशंसा गर्नुपर्छ।

भजनसंग्रह 107 पढ्नुहोस्