हितोपदेश 28:1-12

हितोपदेश 28:1-12 NNRV

कसैले नलखेटे पनि दुष्‍ट मानिस भाग्‍छ, तर धर्मीचाहिँ सिंहजस्‍तै आँटिला हुन्‍छन्‌। जब देश बागी बन्‍छ, त्‍यहाँ धेरै शासकहरू खड़ा हुन्‍छन्, तर समझशक्ति भएको ज्ञानी मानिसले अमनचैन कायम राख्‍छ। गरीबमाथि थिचोमिचो गर्ने शासक अन्‍न एउटै नराखी नाश पार्ने मुसलधारे वर्षाजस्‍तै हो। व्‍यवस्‍था त्‍याग्‍नेहरूले दुष्‍टहरूको प्रशंसा गर्छन्, तर व्‍यवस्‍था पालन गर्नेहरूले तिनीहरूको विरोध गर्छन्‌। दुष्‍ट मानिसहरू न्‍यायलाई बुझ्‍दैनन्, तर परमप्रभुलाई खोज्‍नेहरूले यसलाई पूर्ण रूपले बुझ्‍दछन्‌। गरीब भए तापनि कलङ्करहित भई हिँड्‌नु कुटिल मतिको बाटोमा लागेको धनीभन्‍दा असल हो। व्‍यवस्‍था पालन गर्नेचाहिँ विवेकी छोरो हो, तर खन्‍चुवाको सङ्गत गर्नेले आफ्‍ना बुबामाथि बेइज्‍जत ल्‍याउँछ। अति नै ब्‍याज लगाएर जसले आफ्‍नो सम्‍पत्ति बढ़ाउँछ, त्‍यसले कुम्‍ल्‍याएको धन अर्कैको हुनेछ, जसले गरीबमाथि दया राख्‍नेछ। यदि कसैले व्‍यवस्‍थाप्रति आफ्‍नो कान बन्‍द गर्छ भने, त्‍यसका प्रार्थनाहरूसमेत घृणित हुन्‍छन्‌। ईमानसँग चल्‍नेलाई जसले खराब बाटोतिर लैजान्‍छ, त्‍यसको आफ्‍नै पासोमा त्‍यो फस्‍नेछ। तर निर्दोषले पर्याप्‍त अंश पाउनेछ। धनी मानिस आफ्‍नै नजरमा बुद्धिमान्‌ हुन सक्‍छ, तर विवेक भएको गरीब मानिसले त्‍यसलाई छर्लङ्गै देख्‍छ। धर्मीको विजय हुँदा ठूलो खुशीयाली हुन्‍छ, तर दुष्‍ट सत्तामा पुग्‍दा मानिसहरू लुक्‍न थाल्‍छन्‌।