हितोपदेश 28:1-12
हितोपदेश 28:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कसैले नलखेटे पनि दुष्ट मानिस भाग्छ, तर धर्मीचाहिँ सिंहजस्तै आँटिला हुन्छन्। जब देश बागी बन्छ, त्यहाँ धेरै शासकहरू खड़ा हुन्छन्, तर समझशक्ति भएको ज्ञानी मानिसले अमनचैन कायम राख्छ। गरीबमाथि थिचोमिचो गर्ने शासक अन्न एउटै नराखी नाश पार्ने मुसलधारे वर्षाजस्तै हो। व्यवस्था त्याग्नेहरूले दुष्टहरूको प्रशंसा गर्छन्, तर व्यवस्था पालन गर्नेहरूले तिनीहरूको विरोध गर्छन्। दुष्ट मानिसहरू न्यायलाई बुझ्दैनन्, तर परमप्रभुलाई खोज्नेहरूले यसलाई पूर्ण रूपले बुझ्दछन्। गरीब भए तापनि कलङ्करहित भई हिँड्नु कुटिल मतिको बाटोमा लागेको धनीभन्दा असल हो। व्यवस्था पालन गर्नेचाहिँ विवेकी छोरो हो, तर खन्चुवाको सङ्गत गर्नेले आफ्ना बुबामाथि बेइज्जत ल्याउँछ। अति नै ब्याज लगाएर जसले आफ्नो सम्पत्ति बढ़ाउँछ, त्यसले कुम्ल्याएको धन अर्कैको हुनेछ, जसले गरीबमाथि दया राख्नेछ। यदि कसैले व्यवस्थाप्रति आफ्नो कान बन्द गर्छ भने, त्यसका प्रार्थनाहरूसमेत घृणित हुन्छन्। ईमानसँग चल्नेलाई जसले खराब बाटोतिर लैजान्छ, त्यसको आफ्नै पासोमा त्यो फस्नेछ। तर निर्दोषले पर्याप्त अंश पाउनेछ। धनी मानिस आफ्नै नजरमा बुद्धिमान् हुन सक्छ, तर विवेक भएको गरीब मानिसले त्यसलाई छर्लङ्गै देख्छ। धर्मीको विजय हुँदा ठूलो खुशीयाली हुन्छ, तर दुष्ट सत्तामा पुग्दा मानिसहरू लुक्न थाल्छन्।
हितोपदेश 28:1-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
कसैले नखेदे तापनि दुष्ट मानिस भाग्छ; तर धर्मीचाहिँ सिंहजस्तै साहसी हुन्छ। कुनै देश बागी भयो भने त्यसका धेरै शासकहरू हुन्छन्; तर समझशक्ति र ज्ञान भएका शासकले सुख-शान्ति कायम राख्छ। गरिबमाथि शोषण गर्ने शासक अन्न नाश गर्ने मुसलधारे वृष्टिजस्तै हो। व्यवस्था त्याग्नेहरूले दुष्टहरूका प्रशंसा गर्छन्; तर व्यवस्था पालन गर्नेहरूले तिनीहरूको विरोध गर्छन्। दुष्ट मानिसहरूले न्याय बुझ्दैनन्, तर याहवेहलाई खोज्नेहरूले यसलाई सम्पूर्ण रूपले बुझ्दछन्। धनी भएर भ्रष्ट जीवन जिउनुभन्दा बरु गरिब भएर निर्दोष जीवन जिउनु असल हो। विवेकी छोराछोरीले शिक्षामा ध्यान दिन्छन्; तर घिचुवाहरूको सङ्गत गर्नेले आमाबुबालाई अपमान तुल्याउँछन्। ब्याज लगाएर जसले आफ्नो सम्पत्ति बढाउँछ, त्यसले कुम्ल्याएको धन गरिबमाथि दया राख्नेको हुनेछ। यदि कसैले व्यवस्थाप्रति आफ्नो कान सुन्नदेखि बन्द गर्छ भने, त्यसका प्रार्थनाहरू पनि घृणित हुन्छन्। जसले धर्मी जीवन जिउनेलाई खराब बाटोतिर लैजान्छ, त्यो आफ्नै पासोमा फस्नेछ; तर निर्दोषले प्रशस्त अंश पाउनेछ। धनी मानिस आफ्नै दृष्टिमा बुद्धिमान् हुन्छ; तर समझशक्ति भएका गरिब मानिसले त्यसलाई ठिकसँग मूल्याङ्कन गर्छ। धर्मी जनहरू विजय हुँदा ठूलो खुशीयाली हुन्छ; तर दुष्टहरू उच्च पदमा पुग्दा मानिसहरू लुक्न थाल्छन्।
हितोपदेश 28:1-12 पवित्र बाइबल (NERV)
दुष्टको मनमा सधैँ डर हुन्छ र कसैले नलखेटे पनि ऊ भागि हिँड्छ। तर धर्मी मानिस सिंह झैं आँटिलो हुन्छ। जब देशमा राजद्रोह हुन्छ अनगन्ती शासकहरू बलपूर्वक उठ्छन। तर जब शासक ज्ञानी अनि समझदार हुन्छ उसले सबै कुरालाई व्यवस्थित बनाएर राख्छ। एकजना गरीब मानिस जसले अर्को गरीबमाथि अत्याचार गर्छ। ऊ एउटा मुसलधारे बर्षा जस्तै हो, जसले अन्न बालि को विनाश गर्छ। जसले व्यवस्थाको विधान त्यगि दिन्छ उसले दुष्टको प्रशंसा गर्छ तर जसले व्यवस्थाको पालन गर्छ। त्यसले तिनीहरूको विरोध गर्छ। दुष्ट मानिसले न्याय के हो बुझ्दैन, तर जुन मानिसले परमप्रभुलाई खोज्छ उसले बुझेको हुन्छ। ईमान्दार भई गरीब हुनु राम्रो हो, धनी भई दुष्ट हुनु राम्रो होइन। जसले व्यवस्थाको पालन गर्छ ऊ विवेकी छोरा हो, तर जसले बेकारका घिचुवाहरूलाई साथी बनाउँछ, त्यसले केवल आफ्नो बाबुलाई लज्जित बनाउँछ। जसले अधिक ब्याज असुल गरी सम्पत्ति कमाउँछ तर त्यो सम्पत्ति उसले आफ्नो निम्ति होइन, तर कुनै गरीव मानिसको निम्ति सम्पत्ति जम्मा गर्छ। यदि कसैले परमप्रभुको अनुशासन ग्रहण गर्न अस्वीकार गर्छ, परमेश्वरले पनि उसको प्रार्थना सुन्न अस्वीकार गर्नु हुन्छ। धर्मी मानिसहरूलाई पथभ्रष्ट बनाउन खोज्ने मानिस आफ्नै पासोमा पर्छ तर निर्दोष मानिसहरूले असल कुराहरू आर्जन गर्छन्। धनी मानिस आफ्नो नजरमा बुद्धिमान् हुन सक्छ, तर ज्ञानी गरीब मानिसले उसलाई चिनिहाल्छ। जब सज्जन मानिसहरूले जित्छन्, विजय हुन्छ र सबै खुशी हुन्छन, तर जब दुष्ट मानिसहरूको हातहरूमा शक्ति जान्छ मानिसहरू आफैं लुक्छन्।
हितोपदेश 28:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
कसैले नखेद्दा पनि दुष्ट भाग्दछ तर इमानदार मानिस सिंहजस्तै आँटिलो हुन्छ। एउटा जातिले पाप गरे त्यसका शासक बदलिरहन्छ। तर त्यसका शासकहरू र समझदार भए जाति बलियो र दिगो भइरहन्छ। दरिद्रहरूलाई सताउने अधिकारी अन्नबाली विनाश गर्ने मुसुलधारे बृष्टिजस्तै हो। तिमीले व्यवस्था मान्दैनौ भने दुष्टहरूपट्टि लागेका छौ तर व्यवस्था मान्छौ भने तिनीहरूको विरोध गर्दछौ। दुष्टहरूले न्याय के कुरा हो, जान्दैनन्, तर परमप्रभुलाई दण्डवत् गर्नेहरूले न्याय बुझ्दछन्। धनी र बेइमानी हुनुभन्दा गरीब र इमानदार हुनु असल हो। व्यवस्था पालन गर्ने युवक बुद्धिमान् हुन्छ। घिचुवा मानिसहरूसित मित्रता गर्ने छोराले आफ्ना बुबाको अपमान गर्दछ। जसले ब्याज लिएर मानिसबाट अनुचित लाभ उठाई धन बटुल्दछ, त्यसको धन गरीबमाथि दया गर्नेले पाउनेछ। व्यवस्था नमान्ने मानिसको प्रार्थना परमेश्वरको निम्ति घिनलाग्दो हुन्छ। जसले चलाकी गरेर सिधा-साधा मानिसलाई दुष्ट चालमा हिँड्न लगाउँदछ, त्यो आफूले खनेको खाडलमा आफैं पर्छ। तर निर्दोषले असल इनाम पाउनेछ। धनी मानिसहरूले आफैंलाई बुद्धिमान् ठान्छ तर अन्तर्दृष्टि भएको गरीब मानिसले त्यो बुझिहाल्छ। धर्मी मानिसहरूले अधिकार पाउँदा सबै खुसी हुन्छन् तर दुष्ट मानिसहरूले अधिकार पाउँदा मानिसहरू लुक्छन्।