यूहन्‍ना 5:16-30

यूहन्‍ना 5:16-30 NNRV

त्‍यसकारणले गर्दा यहूदीहरूले येशूलाई खेदो गर्न लागे, किनभने उहाँले यो काम शबाथ-दिनमा गर्नुभएको थियो। तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरा पिताले अहिलेसम्‍म काम गरिरहनुभएको छ, र म पनि काम गरिरहेछु।” यसकारण यहूदीहरूले येशूलाई मार्न अझ बढ़ी प्रयत्‍न गर्न लागे, किनकि उहाँले शबाथ-दिन भङ्ग गर्ने काम मात्र होइन, तर आफैलाई परमेश्‍वरको बराबरी तुल्‍याएर उहाँले परमेश्‍वरलाई आफ्‍नै पिता भन्‍नुभएको थियो। येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, पुत्र आफैले केही गर्न सक्‍दैन, तर पिताले जे गर्नुभएको देख्‍छ त्‍यही मात्र गर्छ, किनकि पिताले जे गर्नुहुन्‍छ, पुत्रले त्‍यसै गर्छ। किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्‍छ, र उहाँ आफैले गरिरहनुभएका सबै काम पुत्रलाई देखाउनुहुन्‍छ। यीभन्‍दा महान्‌ काम उहाँले पुत्रलाई देखाउनुहुनेछ, र तिमीहरू आश्‍चर्यचकित हुनेछौ। किनभने जसरी पिताले मृतकहरूलाई उठाउनुहुन्‍छ र तिनीहरूलाई जीवन दिनुहुन्‍छ, त्‍यसरी नै पुत्रले पनि जसलाई इच्‍छा गर्दछ, त्‍यसलाई जीवन दिँदछ। किनकि पिताले कसैको न्‍याय गर्नुहुन्‍न, तर सबै न्‍याय गर्ने काम पुत्रलाई दिनुभएको छ, ताकि सबैले पुत्रको आदर गरून्, जसरी तिनीहरूले पिताको आदर गर्दछन्‌। पुत्रको आदर नगर्नेले उसलाई पठाउनुहुने पिताको पनि आदर गर्दैन। “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, जसले मेरो वचन सुन्‍छ र मलाई पठाउनुहुनेमाथि विश्‍वास गर्छ, त्‍यससित अनन्‍त जीवन छ। त्‍यो न्‍यायमा आउँदैन, तर मृत्‍युदेखि त्‍यसले जीवनमा प्रवेश गरेको छ। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, त्‍यो समय आइरहेछ, र त्‍यो समय अहिले हो, जब मृतकहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन्, र सुन्‍नेहरू बाँच्‍नेछन्‌। किनभने जसरी पिता आफैमा जीवन छ, उसरी नै उहाँले पुत्रलाई पनि आफैमा जीवनको स्रोत हुने अधिकार दिनुभएको छ। अनि उसलाई न्‍यायको फैसला दिने अधिकार दिनुभएको छ, किनभने ऊ मानिसको पुत्र हो। “यसमा अचम्‍म नमान, किनभने समय आइरहेछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्‍नेछन्, र बाहिर निस्‍किआउनेछन्‌: सुकर्म गर्नेहरू जीवनको पुनरुत्‍थानको निम्‍ति, र कुकर्म गर्नेहरूचाहिँ दण्‍डाज्ञाको पुनरुत्‍थानको निम्‍ति। “म आफै केही गर्न सक्‍दिनँ। जस्‍तो म सुन्‍छु, त्‍यस्‍तै न्‍याय म गर्छु, र मेरो न्‍याय ठीक ठहर्छ, किनकि म आफ्‍नो इच्‍छा खोज्‍दिनँ, तर मलाई पठाउनुहुनेको इच्‍छा खोज्‍दछु।