यूहन्‍ना 5:16-30

यूहन्‍ना 5:16-30 सरल नेपाली

येशूले यो काम विश्रामको दिनमा गर्नुभएको हुनाले यहूदी अगुवाहरूले उहाँलाई दु:ख दिन थाले। तर येशूले तिनीहरूलाई यसरी जवाफ दिनुभयो, “मेरा पिताले सधैँ काम गरिरहनुहुन्‍छ। त्‍यसैले म पनि काम गरिरहन्‍छु।” यो कुरा सुनेर यहूदी अगुवाहरूले झन् सुरिएर भने, “त्‍यसले विश्राम दिनमा काम गर्नुहुँदैन भन्‍ने व्यवस्थालाई मात्र तोडेको होइन तर परमेश्‍वरलाई नै पिता भनेर आफैंलाई पनि परमेश्‍वरको बराबरी तुल्‍याउँदै छ। त्‍यसलाई त मार्नु नै पर्छ।” त्‍यसैकारण येशूले तिनीहरूलाई जवाफ दिँदै भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, पुत्रले आफ्‍नै तर्फबाट केही गर्न सक्‍दैन। पिताले जे गर्नुभएको देख्‍छ, उसले त्‍यही मात्र गर्छ। पिताले जे-जे गर्नुहुन्‍छ, त्‍यही नै पुत्रले पनि गर्छ किनभने पिताले पुत्रलाई माया गर्नुहुन्‍छ र आफूले गर्नुहुने सबै काम पिताले पुत्रलाई देखाउनुहुन्‍छ। अँ, पिताले पुत्रलाई अझै ठूला-ठूला कामहरू गर्न लगाउनुहुनेछ अनि तिमीहरू सबै छक्‍कपर्नेछौ। पिताले मरेकाहरूलाई बिउँताएर अनन्त जीवन दिनुभएजस्‍तै पुत्रले पनि आफूले चाहेकाहरूलाई अनन्त जीवन दिनेछ किनभने पिता आफैंले कसैको न्‍याय गर्नुहुन्‍न। मानिसहरूले पिताको आदर गरेजस्‍तै पुत्रको पनि आदर गरून् भनेर पिताले न्‍याय गर्ने कामचाहिँ पुत्रलाई नै सुम्‍पिदिनुभएको छ। पुत्रको आदर नगर्नेले चाहिँ पुत्रलाई पठाउनुहुने पिताको पनि आदर गर्दैन। “अब म तिमीहरूलाई भन्‍छु, जसले मेरो कुरा सुन्‍छ र मलाई पठाउनुहुनेलाई विश्‍वास गर्छ, ऊसँग अनन्त जीवन हुन्‍छ। उसलाई दोषी ठहराइनेछैन, तर ऊ मृत्‍युदेखि जीवनमा सरिसकेको हुन्‍छ। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, बेला आउँदै छ र आइसकेको पनि छ, जब मरेकाहरूले परमेश्‍वरको पुत्रको सोर सुन्‍नेछन् अनि सुन्‍ने जति बाँच्‍नेछन्। पिता नै जीवनको मूल हुनुहुन्‍छ र उहाँले आफ्‍नो पुत्रलाई पनि जीवनको मूल बनाउनुभएको छ र उसलाई न्‍याय गर्ने अधिकार दिनुभएको छ किनभने मानव पुत्र उहाँ नै हुनुहुन्‍छ। तिमीहरू मेरो कुरा सुनेर छक्‍क नपर किनभने त्‍यो बेला आउँदै छ, जुन बेला मरेकाहरूले मानव पुत्रको सोर सुन्‍नेछन् र फेरि जिउनेछन्। असल काम गर्नेहरूचाहिँ जीवित भएर अनन्त जीवन पाउनेछन् र खराब काम गर्नेहरूले चाहिँ जीवित भएर दण्‍ड भोग्‍नेछन्। “म आफ्‍नै तर्फबाट त केही पनि गर्न सक्‍दिनँ। न्‍याय गर्दा म परमेश्‍वर पिताको आज्ञालाई नै पर्खिरहन्‍छु। यसरी मेरो न्‍याय सत्‍य हुन्‍छ किनभने म आफ्‍नै इच्‍छाअनुसार होइन, तर मलाई पठाउनुहुनेको इच्‍छाअनुसार नै काम गर्छु।

यूहन्‍ना 5 पढ्नुहोस्