यूहन्नाको सुसमाचार 5:16-30

यूहन्नाको सुसमाचार 5:16-30 NERV

येशूले त्यस्ता कामहरू विश्रामको दिनमा गर्नु भएको थियो। यसैले यहूदीहरूले येशू विरूद्ध नराम्रा कामहरू गर्न थाले। तर येशूले यहूदीहरूलाई भन्नुभयो, “मेरो पिताले कहिल्यै काम रोक्नु भएन। अनि यसैले म पनि काम गर्न रोकिँदिन।” येशूले यी कुराहरू भन्नु भए पछि, यहूदीहरूले उहाँलाई मार्ने अझ निश्चय गरे। किनभने, “येशूले विश्रामको दिनमा व्यवस्था मात्र भङ्गा गरेनन्। उहाँले परमेश्वर नै उहाँको आफ्नो पिता हुन् पनि भन्नु भयो। अनि यसप्रकारले येशूले आफूलाई परमेश्वरको समान तुल्याउनु भयो।” तर येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्छु। पुत्रले एक्लै केही गर्न सक्तैन। पिताले गरेको कामहरू देखे पछि मात्र पुत्रले त्यसै गर्दछ। पिताले जे गर्दछ पुत्रले त्यही गर्दछ। पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ अनि आफूले गरेको सम्पूर्ण कार्यहरू पुत्रलाई देखाउनु हुन्छ। यो मानिस निको भयो। तर पिताले यो भन्दा पनि महान कार्य पुत्रलाई देखाउनु हुन्छ। तब तिमीहरू सबै छक्क पर्नेछौ। पिताले मरेका मानिसहरू उठाउनु भयो र तिनीहरूलाई जीवन दिनु भयो। त्यस्तै प्रकारले पुत्रले पनि जसलाई चाहानु हुन्छ तिनीहरूलाई जीवन दिनु हुन्छ। “अनि पिताले कसैको न्याय गर्नु हुन्न। न्याय गर्ने सम्पूर्ण अधिकार पिताले पुत्रलाई सुम्पनु भएको छ। परमेश्वरले यसो गर्नु भएको छ, ताकि सबै मानिसहरूले पुत्रलाई आदर गर्नेछन् जसरी पितालाई आदार गरेकाछन्। यदि कसैले पुत्रलाई आदर गर्दैन उसले पितालाई पनि आदर गर्दैन जसले उहाँलाई पठाउनु भयो। “म तिमीहरूलाई साँच्चो भन्दछु, यदी कुनै व्यक्तिले मेरो कुरा सुन्दछ र मेरा पितामा विश्वास गर्दछ भने उसले अनन्त जीवन पाउनेछ। त्यो मानिसलाई कहिल्यै न्याय गरिनेछैन। उनी मृत्युबाट बाहिर आएका हुन् अनि जीवनमा प्रवेश गरेकाहुन्। म तिमीहरूलाई साँच्चो भन्दछु, एउटा समय आइरहेको छ। वास्तवमा त्यो सयम अहिले नै आइसकेको छ। मानिसहरू जो मरेका छन् उनीहरूले परमेश्वरको पुत्रको आवाज सुन्नेछन्। अनि जजसले ती सुनेका कुराहरू मान्नेछन् उनीहरूले अनन्त जीवन पाउनेछन्। जीवन पिताबाट आउँदछ र पुत्रलाई पनि उहाँले जीवन-दान दिने अधिकार प्रदान गर्नुभएको छ। अनि पिताले आफ्ना पुत्रलाई मानिसहरूलाई न्याय गर्ने अधिकार दिनुभएकोछ। किनभने उहाँ मानिसको पुत्र हुनुहुन्छ। “यसमा अचम्म नमान। समय आइरहेछ जब सम्पूर्ण मानिसहरू जो मरेका छन्, तिनीहरूले उहाँको आवाज सुन्नेछन्। तब तिनीहरू जजसले राम्रो कामहरू गरेका छन् बौरी उठ्नेछन् अनि अनन्त जीवन पाउनेछन्। तर तिनीहरू जजसले आफ्नो जीवनमा दुष्ट कामहरू गरेका छन्, दोषी ठहरिनको लागि बौरिनेछन्। “म एक्लै केही गर्दिनँ। म परमेश्वरबाट जस्तो सुन्छु त्यही प्रकारले न्याय गर्छु। यसैले मेरो निर्णय ठीक हुन्छ। किनभने म आफैंलाइ खुशी पार्ने कोशिश गर्दिन। तर म उहाँलाई खुशी पार्न चाहन्छु जसले मलाई पठाउनु भयो।