यसकारण येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, भेड़ाहरूको ढोका मै हुँ। मभन्दा अघि आउने सबै चोर र डाँकूहरू हुन्, तर भेड़ाहरूले तिनीहरूका कुरा सुनेनन्। ढोका म नै हुँ, यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ, र भित्र-बाहिर आउने-जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ।
“चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ। म असल गोठालो हुँ। असल गोठालाले आफ्ना भेड़ाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ। भाडाको मान्छेचाहिँ भेड़ाहरूको आफ्नै गोठालोजस्तो होइन। त्यसले त ब्वाँसोलाई आएको देखेर भेड़ाहरूलाई छोडी त्यो भाग्छ, र ब्वाँसोले भेड़ाहरूलाई गाँजी लैजान्छ, र तितरबितर पारिदिन्छ। त्यो भाग्छ, किनभने त्यो भाडाको मान्छे हो, त्यसले भेड़ाको केही वास्ता गर्दैन।
“म असल गोठालो हुँ, म आफ्ना भेड़ाहरूलाई चिन्छु, अनि मेरा भेड़ाहरूले मलाई चिन्छन्। जसरी पिताले मलाई चिन्नुहुन्छ, म पितालाई चिन्छु, अनि म भेड़ाहरूका लागि आफ्नो प्राण अर्पण दिन्छु।
“मेरा अरू भेड़ा छन्, जो यस गोठका होइनन्। तिनीहरूलाई पनि मैले ल्याउनुपरेको छ, र तिनीहरूले मेरो सोर सुन्नेछन्, र तिनीहरू एउटै बगाल हुनेछन्, र एउटै गोठालो हुनेछ। पिताले मलाई यसैकारण प्रेम गर्नुहुन्छ, किनकि म आफ्नो प्राण फेरि फिर्ता लिने हेतुले अर्पण गर्छु। कसैले मबाट मेरो प्राण लिन सक्दैन, तर म आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्दछु। आफ्नो प्राण अर्पण गर्ने अधिकार मसित छ, अनि फेरि लिने अधिकार पनि मसित छ। यो आज्ञा मैले मेरा पिताबाट पाएको छु।”
यी वचनका कारणले यहूदीहरूमा फेरि मतभेद भयो। तिनीहरूमध्ये धेरैले भन्दथिए, “यसलाई भूत लागेको छ, र यो बौलाएको छ। तिमीहरू यसको कुरा किन सुन्छौ?”
अरूहरूले भन्दथिए, “भूत लागेको मानिसको कुरा यस्तो हुँदैन। के भूतले अन्धाका आँखा खोल्न सक्तछ र?”
यरूशलेममा मन्दिर समर्पणको चाड थियो। यो हिउँदको समय थियो। येशू मन्दिरभित्र सोलोमनको दलानमा टहलिरहनुभएको थियो। यहूदीहरूले उहाँका चारैपट्टि भेला भएर सोधे, “कहिलेसम्म तपाईं हामीलाई दोधारमा राख्नुहुन्छ? तपाईं ख्रीष्ट हुनुहुन्छ भने हामीलाई स्पष्ट भनिदिनुहोस्।”
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनिसकेको छु, तर तिमीहरू विश्वास गर्दैनौ। मेरा पिताको नाउँमा जे काम म गर्दछु, तिनैले मेरो गवाही दिन्छन्। तर तिमीहरू विश्वास गर्दैनौ, किनभने तिमीहरू मेरा भेड़ामध्येका होइनौ।