उत्‍पत्ति 37

37
योसेफका सपनाहरू
1याकूब आफ्‍ना बाबुले बसोबास गरेको कनान देशमा बस्‍थे। 2याकूबको वृत्तान्‍त यही हो।
योसेफ सत्र वर्षका हुँदा तिनका दाजुहरूसँग भेड़ाबाख्राहरूका बगाल चराउँथे। एक दिन तिनले आफ्‍ना पिताका पत्‍नीहरू बिल्‍हा र जिल्‍पाका छोराहरूको खराब व्‍यवहारको कुरा आफ्‍ना बुबाकहाँ ल्‍याए।
3आफ्‍नो बुढ़ेसकालका छोरा भएकाले इस्राएलले अरू छोराहरूलाई भन्‍दा योसेफलाई बढ़ी माया गर्थे, र तिनले योसेफको निम्‍ति राम्रा बुट्टाहरू भएको एउटा लामो लबेदा बनाइदिए। 4तर तिनका बुबाले अरू दाजुभाइहरूलाई भन्‍दा तिनलाई बढ़ी माया गरेका देखी तिनका दाजुहरूले तिनीसित दुश्‍मनी राखे र तिनीसँग राम्ररी बोल्‍दैनथे।
5एक पल्‍ट योसेफले एउटा सपना देखे। तिनले त्‍यो सपना आफ्‍ना दाजुहरूलाई भनेपछि तिनीहरू उनीसँग झन्‌ बढ़ी दुश्‍मनी राख्‍न लागे। 6तिनले उनीहरूलाई भने, “मैले देखेको सपना सुन्‍नुहोस्‌। हामीहरू खेतमा अन्‍नका बिटा बाँधिरहेका थियौं। 7मेरो बिटाचाहिँ ठाड़ो भयो, र तपाईंहरूका बिटाहरू त्‍यसका चारैतिर जम्‍मा भएर मेरो बिटालाई दण्‍डवत्‌ गरे।”
8तिनका दाजुहरूले तिनलाई भने, “के तँ हामीमाथि राज्‍य गर्ने भइस्‌? के तेरो प्रभुत्‍व हामीमाथि हुने भयो?” अनि तिनको सपना र तिनका कुराहरूको कारणले उनीहरूले तिनीसँग झन्‌ दुश्‍मनी राखे।
9तब तिनले अर्को सपना देखे र तिनका दाजुहरूलाई यसो भनेर बताए, “सुन्‍नुहोस्, मैले अर्को सपना देखें। सूर्य, चन्‍द्र र एघार वटा ताराले मलाई दण्‍डवत्‌ गरिरहेका थिए।”
10जब तिनले आफ्‍ना बुबा र दाजुहरूलाई यो सपना बताए, तब तिनका बुबाले तिनलाई हप्‍काएर भने, “तैंले देखेको यो सपना के हो? के साँच्‍ची नै म र तेरी आमा र तेरा दाजुहरू आएर भूइँसम्‍मै झुकेर तँलाई ढोग्नुपर्ने?” 11तब तिनका दाजुहरूले तिनलाई डाह गर्न लागे। तर तिनका बाबुले चाहिँ यी कुरा मनैमा राखे। #प्रे ७:९
योसेफलाई तिनका दाजुहरूले बेचेर मिश्रमा पठाएका
12एक पल्‍ट तिनका दाजुहरू आफ्‍ना बुबाका बगालहरू शकेममा चराउन गएका थिए। 13र इस्राएलले योसेफलाई भने, “तेरा दाजुहरू शकेममा भेड़ाहरू चराइरहेका छन्‌। आइज, म तँलाई उनीहरूकहाँ पठाउँछु।”
योसेफले भने, “म तयार छु।”
14इस्राएलले तिनलाई भने, “गएर हेर्, तेरा दाजुहरू र भेड़ाबाख्राहरू राम्रै छन्‌ कि छैनन्‌। अनि मकहाँ समाचार ले।” तब इस्राएलले तिनलाई हेब्रोनको बेँसीबाट शकेममा पठाए।
योसेफ त्‍यहाँ आइपुगेपछि 15एक जना मानिसले तिनलाई खेतमा डुलिरहेका भेट्टायो। त्‍यस मानिसले तिनलाई सोध्‍यो, “तिमी कसलाई खोज्‍दैछौ?”
16तिनले भने, “म मेरा दाजुहरूलाई खोज्‍दैछु। दया गरी मलाई भन्‍नुहोस्, उनीहरू बगाल कहाँ चराउँदैछन्‌?”
17त्‍यस मानिसले भन्‍यो, “उनीहरू त यहाँबाट गए, किनभने उनीहरूले ‘हामी दोतानतिर जाऔं’ भनिरहेका मैले सुनेको थिएँ।”
यसैले आफ्‍ना दाजुहरूलाई खोज्‍दैगएर योसेफले उनीहरूलाई दोतानमा भेट्टाए। 18उनीहरूले तिनलाई टाढ़ैबाट आइरहेका देखे, र तिनी उनीहरूका नजिक आइपुग्‍नुभन्‍दा अघि नै तिनलाई मार्ने उनीहरूले मतो गरे।
उनीहरूले आपसमा भने, “त्‍यो स्‍वप्‍न-दर्शी आउँदैछ। 19लौ, अब हामी त्‍यसलाई मारेर एउटा खाड़लमा फालिदिऔं। 20‘जङ्गली पशुले त्‍यसलाई खाएछ क्‍यारे’ भनी हामी भनौं, र त्‍यसका सपनाहरू के हुँदारहेछन्, हेरौंला।”
21यो सुनेर रूबेनले यसो भनेर उनीहरूका हातबाट तिनलाई बचाउन खोजे, “हामीले त्‍यसको ज्‍यानै त लिनुहुँदैन।” 22रूबेनले उनीहरूलाई भने, “रक्तपातचाहिँ नगरौं। यहाँ मरुभूमिको यस खाल्‍डोमा त्‍यसलाई फालिदिऔं। तर त्‍यसमाथि हातचाहिँ नउठाऔं।” उनीहरूका हातबाट बचाएर योसेफलाई आफ्‍ना बुबाकहाँ पुर्‍याइदिने हेतुले रूबेनले यसो भनेका थिए।
23यसैले जब योसेफ आफ्‍ना दाजुहरूकहाँ आइपुगे तब तिनले लाएका राम्रा बुट्टाहरू भएको त्‍यो लामो लबेदा उनीहरूले फुकालेर खोसे। 24अनि उनीहरूले तिनलाई समातेर एउटा गहिरो खाल्‍डोमा फालिदिए। त्‍यो पानी नभएको सुक्‍खा खाल्‍डो थियो।
25जसै उनीहरू खान बसे, उनीहरूले यसो मास्‍तिर हेरे र मिश्रतिर सुगन्‍धित मसला, लेप र मूर्र ऊँटहरूमा लादेर लगिरहेका गिलादबाट आएको एक इश्‍माएली यात्री दललाई देखे।
26तब यहूदाले आफ्‍ना दाजुभाइहरूलाई भने, “हामीले आफ्‍नो भाइलाई मारेर त्‍यसको रगत लुकाएर हामीलाई के फाइदा हुन्‍छ र? 27आओ, अब त्‍यसलाई इश्‍माएलीहरूका हातमा बेचिदिऔं। हामी त्‍यसमाथि हातचाहिँ नउठाऔं। किनकि त्‍यो हाम्रै भाइ, हाम्रै जीउजस्‍तै हो।” उनका दाजुभाइहरूले उनको कुरा माने।
28यसकारण जब मिद्यानी व्‍यापारीहरू त्‍यही बाटो भएर आए, तब योसेफका दाजुहरूले तिनलाई खाल्‍डोबाट तानी निकालेर ती इश्‍माएलीहरूका हातमा चाँदीका बीस सिक्‍कामा बेचिदिए। अनि तिनीहरूले योसेफलाई मिश्रमा लगे। #प्रे ७:९
29जब रूबेन खाल्‍डोमा फर्के तब योसेफलाई त्‍यस खाल्‍डोमा नदेख्‍दा उनले आफ्‍ना लुगा च्‍याते, 30र भाइहरूकहाँ गएर भने, “केटो त छैन त? अब म कहाँ जाऊँ?”
31तब उनीहरूले एउटा बोका मारेर योसेफको लबेदा त्‍यस रगतमा चोपे। 32अनि त्‍यो राम्रा बुट्टाहरू भएको लबेदा उनीहरूले आफ्‍ना बुबाकहाँ ल्‍याएर भने, “यो हामीले भेट्टायौं। हेर्नुहोस्‌ त, यो तपाईंको छोराको हो कि होइन?”
33इस्राएलले त्‍यो लुगा चिनेर भने, “यो त मेरो छोराकै लबेदा हो। जङ्गली पशुले त्‍यसलाई खाएछ क्‍यारे! नि‍स्सन्‍देह योसेफलाई धुजाधुजा पार्‍यो होला।”
34तब याकूबले आफ्‍ना लुगा च्‍याते, र तिनले आफ्‍नो कम्‍मरमा भाङ्‌ग्रा लाएर आफ्‍ना छोराको निम्‍ति धेरै दिनसम्‍म शोक गरे। 35तिनका सबै छोराछोरीहरूले तिनलाई सान्‍त्‍वना दिने प्रयत्‍न गरे, तर तिनलाई शान्‍ति भएन। तिनले भने, “अँहँ, यो मेरो शोकमा नै म मेरो छोराकहाँ चिहानमा#37:35 हिब्रू: पातालमा जानेछु।” यसरी योसेफका बुबाले तिनको निम्‍ति बिलौना गरे।
36यसै बीचमा मिद्यानीहरूले योसेफलाई मिश्रमा फारोका एक जना अधिकृत पोतीफरको हातमा बेचिदिए।

Tällä hetkellä valittuna:

उत्‍पत्ति 37: NNRV

Korostus

Kopioi

Vertaa

Jaa

None

Haluatko, että korostuksesi tallennetaan kaikille laitteillesi? Rekisteröidy tai kirjaudu sisään