उत्‍पत्ति 35

35
याकूबले बेथेलमा वेदी बनाएका
1त्‍यसपछि परमेश्‍वरले याकूबलाई भन्‍नुभयो, “उठेर बेथेलमा जा, र त्‍यहीँ बसोबास गर्, र तेरो दाजु एसावबाट तँ भाग्‍दाखेरि तँकहाँ देखा पर्ने परमेश्‍वरको निम्‍ति त्‍यहाँ एउटा वेदी बना।”#उत २८:११-१७
2यसकारण याकूबले आफ्‍नो घराना र आफूसित भएका सबैलाई भने, “तिमीहरूसँग भएका विदेशी देवताहरू मिल्‍काइदेओ र आफू-आफूलाई शुद्ध पारेर लुगाहरू फेर। 3तब हामी बेथेलमा जाऔं, र मेरो दु:खको दिनमा मेरो पुकारा सुन्‍नुहुने र म जहाँ गए तापनि मसित हुनुहुने परमेश्‍वरको निम्‍ति त्‍यहाँ एउटा वेदी म बनाउनेछु।” 4यसकारण तिनीहरूले आफू-आफूसित भएका विदेशी देवताहरू र आफ्‍ना कानमा भएका कुण्‍डलहरू याकूबलाई दिए र याकूबले शकेमको नजिकै भएको फलाँटको रूखमुनि ती गाड़िदिए। 5जब तिनीहरूले आफ्‍नो यात्रा सुरु गरे तब परमेश्‍वरको त्रास वरिपरिका सहरहरूमा फैलियो, र कसैले पनि तिनीहरूलाई खेदेन।
6याकूब र तिनीसँग भएका सबै जना कनान देशमा भएको लूज सहरमा, अर्थात्‌ बेथेलमा आइपुगे। 7त्‍यहाँ तिनले एउटा वेदी बनाए। त्‍यस ठाउँको नाउँ तिनले एल-बेथेल राखे, किनभने तिनका दाजुबाट भागेर जाँदा परमेश्‍वरले आफैलाई त्‍यहाँ तिनीकहाँ प्रकट गर्नुभएको थियो।
8त्‍यहाँ रिबेकाकी धाई दबोरा मरी, र त्‍यसलाई बेथेलनेरको फलाँटको रूखमुनि तिनीहरूले गाड़े। त्‍यसैले त्‍यस ठाउँको नाउँ अल्‍लोन-बकुत राखे।
9याकूब पद्दन-आरामबाट आएपछि परमेश्‍वर फेरि तिनीकहाँ देखा परेर तिनलाई आशिष्‌ दिनुभयो। 10परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तेरो नाउँ त याकूब हो, तर अबदेखि उप्रान्‍त तँलाई याकूब भनिनेछैन, तेरो नाउँ इस्राएल हुनेछ।” यसैले तिनको नाउँ इस्राएल भयो। #उत ३२:२८
11परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “म सर्वशक्तिमान्‌ परमेश्‍वर हुँ। फल्‍दै-फुल्‍दैजा, र संख्‍यामा तेरो वृद्धि होस्‌। एउटा जाति र जातिहरूको समूह तँबाट उत्‍पन्‍न हुनेछन्, र राजाहरू पनि तँबाट उत्‍पन्‍न हुनेछन्‌। #उत १७:४-८ 12अब्राहाम र इसहाकलाई मैले दिएको देश म तँलाई दिनेछु, र म त्‍यो देश तँपछि हुने तेरा सन्‍तानलाई दिनेछु।” 13तब तिनीसँग कुरा गर्नुभएको ठाउँबाट परमेश्‍वर उक्‍लिहाल्‍नुभयो।
14परमेश्‍वर तिनीसँग कुरा गर्नुभएको ठाउँमा याकूबले ढुङ्गाको एउटा खामो खड़ा गरे। अनि तिनले त्‍यसमा अर्घ-बलि चढ़ाएर तेल खन्‍याए। #उत २८:१८-१९ 15परमेश्‍वरले तिनीसँग कुरा गर्नुभएको त्‍यस ठाउँको नाउँ याकूबले बेथेल राखे।
राहेल र इसहाकको मृत्‍यु
16तिनीहरू फेरि बेथेलबाट हिँड़ेर एप्रात पुग्‍न अझ केही बाँकी छँदै राहेललाई सुत्‍केरी बेथा लाग्‍यो, र तिनलाई ज्‍यादै पीडा भयो। 17तिनलाई अतिशय पीडा हुँदा सुँड़ेनीले तिनलाई भनी, “नडराउनुहोस्, किनकि तपाईंको अर्को एक जना छोरो हुनेछ।” 18तिनको प्राण जाने बेलामा (किनभने तिनी मर्न लागिन्‌) तिनले त्‍यस बालकको नाउँ बेन-ओनी राखिन्‌। तर त्‍यसका बुबाले बालकको नाउँ बेन्‍यामीन राखे।
19यसरी राहेल मरिन्, र एप्रात, अर्थात्‌ बेथलेहेम जाने बाटोमा तिनीहरूले तिनलाई गाड़े। 20याकूबले तिनको चिहानमाथि एउटा खामो खड़ा गरे। यो राहेलका चिहानको खामो हो, जो अहिलेसम्‍म पनि छँदैछ।
21इस्राएल अगि बढ़े, र तिनले मिग्‍दल-एदेरबाट पारिपट्टि आफ्‍नो पाल टाँगे। 22इस्राएल त्‍यस देशमा रहँदा रूबेन तिनकी भित्रिनी बिल्‍हासँग सुते, र इस्राएलले यो कुरा सुने। #उत ४९:४
23याकूबका बाह्रजना छोराहरू थिए:
लेआतर्फका छोराहरू:
जेठा रूबेन, त्‍यसपछि शिमियोन, लेवी, यहूदा, इस्‍साखार र जबूलून।
24राहेलतर्फका छोराहरू:
योसेफ र बेन्‍यामीन।
25राहेलकी कमारी बिल्‍हातर्फका छोराहरू:
दान र नप्‍ताली।
26लेआकी कमारी जिल्‍पातर्फका छोराहरू:
गाद र आशेर।
पद्दन-आराममा जन्‍मेका याकूबका छोराहरू यी नै हुन्‌।
27याकूब तिनका बुबा इसहाककहाँ मम्रे, अर्थात्‌ किर्यत-अर्बामा आए (जो हेब्रोन हो), जहाँ अब्राहाम र इसहाकले बसोबास गरेका थिए। #उत १३:१८ 28इसहाकको जम्‍मा उमेर एक सय असी वर्ष भएको थियो। 29तब इसहाकको मृत्‍यु भयो। तिनी वृद्ध र पूरा दिन पुगेका भई आफ्‍ना पिता-पुर्खाहरूसँग मिल्‍न गए। अनि तिनका छोरा एसाव र याकूबले तिनलाई गाड़े।

Tällä hetkellä valittuna:

उत्‍पत्ति 35: NNRV

Korostus

Kopioi

Vertaa

Jaa

None

Haluatko, että korostuksesi tallennetaan kaikille laitteillesi? Rekisteröidy tai kirjaudu sisään