गन्ती 5
5
छाउनीको शुद्धता
1याहवेहले मोशालाई भन्नुभयो, 2“यदि कसैको छालाको सरुवा रोग अर्थात् कुनै किसिमको धातुको रोग छ, अर्थात् मृत शरीर छोएको कारणले विधिगत रूपमा अशुद्ध छ भने त्यो मानिसलाई छाउनीबाट बाहिर निकालिदिनू भनी इस्राएलीहरूलाई आज्ञा दिनू। 3तिनीहरू पुरुष अथवा स्त्री जोसुकै भए तापनि तिनीहरूलाई छाउनीबाट बाहिर निकालिदिनू; ताकि तिनीहरूले आफ्ना छाउनीलाई अशुद्ध नपारून्, जहाँ म बास गर्दछु।” 4इस्राएलीहरूले त्यसै गरे। तिनीहरूलाई छाउनीबाट बाहिर निकालिदिए। याहवेहले मोशालाई निर्देशन गर्नुभएझैँ तिनीहरूले गरे।
प्रायश्चित
5याहवेहले मोशालाई भन्नुभयो, 6“इस्राएलका मानिसहरूलाई भन्: याहवेहप्रतिको विश्वासलाई तोडेर यदि कुनै पुरुष अर्थात् स्त्रीले कसैसँग कुनै प्रकारको गलत व्यवहार गर्छ र त्यो व्यक्ति दोषी छ भने, 7तिनीहरूले आफूले गरेको पाप मानिलिनुपर्छ। तिनीहरूले गरेका आफ्ना अपराधको लागि पूर्ण हर्जाना तिर्नुपर्छ। त्यसमा पाँचौँ भाग थपेर त्यसले दुर्व्यवहार गरेको व्यक्तिलाई दिनुपर्छ। 8तर यदि त्यसले गरेको अपराधको लागि हर्जाना दिनलाई त्यस मानिसको नजिकको कुनै नातेदार छैन भने त्यो हर्जाना याहवेहको हुनेछ। अनि त्यो हर्जानाचाहिँ त्यस दोषीको प्रायश्चितको निम्ति बलि चढाइने भेडासँग पुजारीलाई दिनुपर्छ। 9इस्राएलीहरूले पुजारीकहाँ ल्याएका सबै पवित्र भेटीहरू पुजारीकै हुनेछन्। 10हरेक मानिसका पवित्र थोकहरू तिनीहरूका आफ्नै हुन्। तर तिनीहरूले पुजारीलाई जे दिन्छन्, त्यो पुजारीकै हुनेछ।”
अविश्वासयोग्य पत्नीको जाँच
11त्यसपछि याहवेहले मोशालाई भन्नुभयो, 12इस्राएलका मानिसहरूलाई भन्: “यदि कुनै मानिसकी पत्नी बरालिएर त्यसले आफ्नो पतिलाई विश्वासघात गरी, 13र यसरी त्यसले अर्को मानिससँग शारीरिक सम्बन्ध राखेर पतिसँग अविश्वासयोग्य भई, तर त्यसको पतिले थाहा पाएन। अनि त्यसको अशुद्धता गुप्तमै रहेको छ भने (त्यस स्त्रीको विरुद्धमा कुनै साक्षी छैन, र कुकर्म गर्दागर्दै रङ्गेहात पक्राऊ पनि परेको छैन भने), 14तर त्यसको पतिलाई डाहको भावना जागेकोले त्यसकी पत्नी अशुद्ध छ भन्ने शङ्का गर्यो भने—अर्थात् यदि त्यसले डाहको कारण त्यसकी पत्नी अशुद्ध नभए तापनि शङ्का गर्यो भने, 15त्यसले आफ्नी पत्नीलाई पुजारीकहाँ लैजाओस्। त्यसले पत्नीका निम्ति एपाको#5:15 लगभग 1.6 किलो दशौँ भाग जौको मसिनो पिठोको भेटी पनि ल्याओस्। त्यसले पिठोमा जैतुनको तेल नखन्याओस् र सुगन्ध पनि नहालोस्। किनभने त्यो डाहको निम्ति अन्नबलि अर्थात् अधर्म सम्झना गराउने बलि हो।
16“ ‘पुजारीले त्यस स्त्रीलाई ल्याओस् र याहवेहको सामु खडा हुन लगाओस्। 17त्यसपछि पुजारीले माटोको भाँडामा केही पवित्र पानी लेओस् र समागम पालको भुइँबाट केही धुलो त्यसमा हालोस्। 18पुजारीले त्यस स्त्रीलाई याहवेहको सामु खडा गराएपछि पुजारीले स्त्रीको केश खोलिदेओस्। अनि स्त्रीको हातमा सम्झनाको भेटी अर्थात् डाहको अन्नबलि राखिदेओस्। पुजारीले चाहिँ श्राप ल्याउने तितो पानी आफैँले हातमा लेओस्। 19त्यसपछि पुजारीले त्यस स्त्रीलाई शपथ खान लगाओस् र स्त्रीलाई भनोस्, “यदि अरू कुनै मानिस तँसित सुतेको छैन; र तेरो विवाह तेरो पतिसित भएपछि तँ बरालिएर अशुद्ध भएकी छैनस् भने श्राप ल्याउने यस तितो पानीले तँलाई हानि नगरोस्। 20तर यदि तैँले आफ्नो पतिसित विवाह भएपछि तँ बरालिएर आफ्नो पतिबाहेक अर्को मानिससँग यौन सम्बन्ध राखेर तैँले आफूलाई अशुद्ध पारेकी छस् भने”, 21पुजारीले त्यस स्त्रीलाई यसरी श्रापको शपथ खुवाओस्, “याहवेहले तेरो कोख बाँझो गराएर र तेरो पेट फुल्न दिएर उहाँले तँलाई तेरा मानिसहरूका बीचमा सरापको कारण तुल्याऊन्। 22श्राप ल्याउने यो पानी तेरो शरीरभित्र पसोस् र तेरो पेट सुनियोस्; अनि तेरो कोख बाँझो होस्।”
“ ‘त्यसपछि त्यस स्त्रीले, “आमेन, यस्तै होस्” भनोस्।
23“ ‘पुजारीले यी श्रापहरू एउटा चर्मपत्रमा लेखेर त्यस तितो पानीमा त्यसलाई पखालिदेओस्। 24पुजारीले श्राप ल्याउने त्यो पानी त्यस स्त्रीलाई पिउन देओस्। यदि त्यो दोषी भएमा त्यस पानी त्यसभित्र पसेर कठोर पीडा दिनेछ। 25पुजारीले स्त्रीको हातबाट डाहको अन्नबलि लिएर त्यसलाई याहवेहको सामु उचालोस् र त्यो वेदीमा ल्याओस्। 26त्यसपछि पुजारीले त्यस अन्नबलिबाट एक मुठी अन्न सम्झनाको भेटीको रूपमा लिएर त्यसलाई वेदीमा जलाओस्। त्यसपछि पुजारीले त्यस स्त्रीलाई त्यो पानी पिउन लगाओस्। 27यदि त्यस स्त्रीले आफ्नो पतिप्रति विश्वासयोग्य नभई आफूलाई अशुद्ध पारेकी छे भने यस्तो परिणाम ल्याउनेछ: जब त्यस स्त्रीलाई श्राप ल्याउने त्यो पानी पिउन दिइन्छ, तब पानी त्यसभित्र पसेर तितो भई कठोर पीडा ल्याउनेछ। त्यसको पेट सुनिनेछ र त्यसको कोख बाँझो हुनेछ। अनि त्यो आफ्ना मानिसहरूका बीचमा श्राप लागेको हुनेछे। 28तर यदि त्यसले आफूलाई अशुद्ध पारेकी छैन र शुद्ध छे भने त्यो आफ्नो दोषबाट मुक्त भएर छोराछोरीहरू जन्माउन सक्ने हुनेछे।
29“ ‘यसकारण जब कुनै स्त्रीले आफ्नो पतिसित विवाह भइसकेपछि बरालिएर आफूलाई अशुद्ध पार्छे भने डाहको नियम यही हो, 30अर्थात् जब कुनै मानिसमा आफ्नी पत्नीप्रति शङ्का गरेर डाहको भावना आउँछ भने डाहको नियम यही हो। पुजारीले त्यस स्त्रीलाई याहवेहको सामु खडा गराउनुपर्छ। अनि त्यस स्त्रीमाथि यो सम्पूर्ण नियम लागू गरिनुपर्छ। 31तब त्यस मानिसलाई केही दोष लाग्नेछैन, तर त्यो स्त्रीले चाहिँ आफ्नो अधर्मको दण्ड भोग्नेछ।’ ”
Цяпер абрана:
गन्ती 5: NCV
Пазнака
Капіяваць
Параўнаць
Падзяліцца
Хочаце, каб вашыя адзнакі былі захаваны на ўсіх вашых прыладах? Зарэгіструйцеся або ўвайдзіце
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.