मर्कूस 16

16
येशू पुनर्जीवित हुनुभएको
1शब्बाथ सकिएपछि येशूको शरीरमा घस्‍न भनी मरियम मग्दलिनी, याकोबकी आमा मरियम र सलोमीले सुगन्धित मसलाहरू किने। 2हप्‍ताको पहिलो दिन, एकाबिहानै सूर्योदय हुनसाथ तिनीहरू चिहानतिर लागे। 3तिनीहरूले आपसमा भने, “चिहानको मुखबाट ढुङ्गालाई गुड्याएर कसले हटाइदेला?”
4तर जब तिनीहरूले चिहानतिर हेरे, त्यो ठूलो ढुङ्गा हटाइएको देखे। 5जब तिनीहरू चिहानभित्र पसे, तब सेतो लुगा लगाएका एक जवान मानिसलाई दाहिनेपट्टि बसिरहेका देखेर छक्‍क परे।
6तिनले भने, “छक्‍क नपर। तिमीहरू क्रूसमा टाँगिएका येशू नासरीलाई खोज्दैछौ। उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्‍न। उहाँलाई राखेको ठाउँ हेर। 7तर जाओ, उहाँका चेलाहरू र पत्रुसलाई भनिदेओ, ‘उहाँ तिमीहरूभन्दा अगि-अगि गालीलमा जाँदैहुनुहुन्छ। उहाँले भन्‍नुभएबमोजिम त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ।’ ”
8स्त्रीहरू काँप्दै र अचम्म मान्दै बाहिर निस्के, र चिहानबाट भागे। तिनीहरूले कसैलाई केही भनेनन्; किनकि तिनीहरू डराएका थिए।
9जब येशू हप्‍ताको पहिलो दिनमा, बिहानै जीवित भई उठ्नुभयो, तब उहाँ पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो, जसबाट उहाँले सात वटा भूतहरू निकाल्नुभएको थियो। 10तब उनी दौडेर गइन् र उहाँसित हुनेहरूलाई यो कुरा सुनाइन्, जो रुँदै र विलाप गरिरहेका थिए। 11जब तिनीहरूले येशू जिउँदो हुनुभएको र त्यस स्त्रीले उहाँलाई देखेको कुरा सुने, तब तिनीहरूले त्यो विश्‍वासै गरेनन्।
12यसपछि गाउँतिर जाँदै गरेका दुई जनाकहाँ येशू बेग्लै रूपमा देखा पर्नुभयो। 13यिनीहरू फर्केर यो कुरा अरूलाई भनिदिए; तर तिनीहरूले पनि यिनीहरूका कुरामा विश्‍वास गरेनन्।
14त्यसपछि येशू एघार जनाले खाइरहेका बेला त्यहाँ देखा पर्नुभयो। उहाँले तिनीहरूका अविश्‍वास र हृदयको कठोरताले उहाँ जीवित भई उठ्नुभएपछि पनि उहाँलाई देख्नेहरूले विश्‍वास नगरेकोमा तिनीहरूलाई हप्काउनुभयो।
15उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा गएर सबै सृष्‍टिलाई यो सुसमाचार सुनाओ। 16जसले विश्‍वास गर्छ र बप्‍तिस्मा लिन्छ, त्यसले मुक्ति पाउनेछ; तर विश्‍वास नगर्ने दण्डित हुनेछ। 17अनि विश्‍वास गर्नेहरूसित यस्ता चिन्हहरू हुनेछन्: मेरो नाममा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ-नयाँ भाषाहरूमा बोल्नेछन्, 18तिनीहरूले आफ्ना हातले सर्पहरू समात्नेछन्, र तिनीहरूले प्राणघातक विष पिए तापनि तिनीहरूलाई पटक्‍कै हानि हुनेछैन। तिनीहरूले रोगीहरूमाथि हात राख्नेछन्, र तिनीहरू निको हुनेछन्।”
19प्रभु येशूले तिनीहरूसित कुरा गरिसक्नुभएपछि उहाँ स्वर्गमा उचालिनुभयो र परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभयो। 20तब चेलाहरू बाहिर गएर चारैतिर प्रचार गरे। अनि प्रभुले तिनीहरूसित काम गर्नुभयो र वचनलाई अलौकिक चिन्हहरूद्वारा सुदृढ पार्नुभयो।#16:20 केही प्राचीन पा.लि.हरूमा 9‑20 पदहरू पाइँदैन।

Цяпер абрана:

मर्कूस 16: NCV

Пазнака

Капіяваць

Параўнаць

Падзяліцца

None

Хочаце, каб вашыя адзнакі былі захаваны на ўсіх вашых прыладах? Зарэгіструйцеся або ўвайдзіце