उत्पत्ति 46

46
याकोब इजिप्टमा गएका
1यसकारण आफूसित भएका सम्पूर्ण थोकहरू लिएर इस्राएलले यात्रा सुरु गरे; अनि तिनी बेर्शेबा पुगेपछि तिनले आफ्ना पिता इसहाकका परमेश्‍वरका निम्ति बलिदान चढाए।
2अनि राति दर्शनमा परमेश्‍वर इस्राएलसँग बोल्नुभयो र भन्‍नुभयो, “याकोब! ए याकोब!”
उनले जवाफ दिए, “हजुर, म यहाँ छु!”
3उहाँले भन्‍नुभयो, “म याहवेह, तेरा पिताका परमेश्‍वर हुँ। इजिप्टमा जानलाई नडरा; किनकि म त्यहाँ तँलाई एउटा ठूलो राष्ट्र बनाउनेछु। 4म तँसित इजिप्टमा जानेछु, र म निश्‍चय तँलाई फेरि फर्काएर ल्याउनेछु। अनि योसेफले आफ्नै हातले तेरा आँखा बन्द गरिदिनेछ।”
5तब याकोबले बेर्शेबा छोडे; अनि इस्राएलका छोराहरूले आफ्ना पिता याकोब र उनीहरूका छोराछोरीहरू, उनीहरूका पत्नीहरूलाई फारोले पठाइदिएका गाडाहरूमा बसाए। 6यसरी याकोब र उनका सबै सन्तानहरूले आफूसित आफ्ना गाईबस्तु र उनीहरूले कनानमा कमाएका सम्पत्तिहरू लिएर इजिप्टमा गए। 7याकोबले आफ्ना सबै सन्तान—अर्थात् आफ्ना छोराहरू, नातिहरू, आफ्ना छोरीहरू र नातिनीहरू इजिप्टमा लिएर गए।
8इजिप्टमा जाने इस्राएलका छोराहरू (याकोब र उनका सन्तानहरू) का नामहरू यिनै हुन्:
याकोबका जेठा छोरा रूबेन।
9रूबेनका छोराहरू:
हानोक, पल्‍लू, हेस्रोन र कर्मी।
10शिमियोनका छोराहरू:
यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी स्त्रीतर्फको छोरा शौल।
11लेवीका छोराहरू:
गेर्शोन, कहात र मरारी।
12यहूदाका छोराहरू:
एर, ओनान, शेलह, फारेस र जेरह (तर एर र ओनान कनान देशमा नै मरेका थिए)।
पेरेसका छोराहरू:
हेस्रोन र हामूल।
13इस्साखारको छोराहरू:
तोला, पुवा, याशूब र शिम्रोन।
14जबूलूनका छोराहरू:
सेरेद, एलोन र यहलेल।
15यिनीहरूचाहिँ याकोबका निम्ति लेआले पद्दन-अराममा जन्माएका छोराहरू थिए; यसबाहेक उनकी छोरी दीना पनि थिइन्। उनका छोराछोरीहरू जम्मा तेत्तीस जना थिए।
16गादका छोराहरू:
सेफोन, हाग्गी, शूनी, एसबोन, एरी, अरोदी अनि अरेली।
17आशेरका छोराहरू:
यिम्ना, यिश्‍वा, यिश्‍वी र बेरियाह। उनीहरूकी बहिनी सेरह थिइन्।
बरीआका छोराहरू:
हेबेर र मल्कीएल थिए।
18लाबानले आफ्नी छोरी लेआलाई दिएकी दासी जिल्पापट्टिका याकोबका छोराछोरीहरू यिनै हुन्; यिनीहरू जम्मा सोह्र जना थिए।
19याकोबकी पत्नी राहेलका छोराहरू:
योसेफ र बेन्यामीन।
20इजिप्टमा ओनका पुजारी पोतीफेराकी छोरी आसनतद्वारा जन्मेका योसेफका छोराहरू मनश्शे र एफ्राइम थिए।
21बेन्यामीनका छोराहरू:
बेला, बेकेर, अश्बेल, गेरा, नामान, एही, रोश, मुप्पीम, हुप्पीम र आर्द।
22राहेलबाट जन्मेका याकोबका छोराहरू यी हुन्; यिनीहरू जम्मा चौध जना थिए।
23दानका छोरा:
हुशीम।
24नप्‍तालीका छोराहरू:
यहसेल, गुनी, येसेर र शिल्‍लेम।
25यिनीहरूचाहिँ लाबानले आफ्नी छोरी राहेललाई दिएकी दासी बिल्हापट्टिका याकोबका छोराहरू हुन; यिनीहरू जम्मा सात जना थिए।
26इजिप्टमा याकोबसित जाने उनका सबै आफ्ना सन्तानमा उनका बुहारीहरूबाहेक, उनीहरू छयसट्ठी जना थिए। 27इजिप्टमा जन्मेका योसेफका दुई छोराहरू लगायत, इजिप्टमा गएका याकोबका परिवारमा जम्मा सत्तरी#46:27 केही प्राचीन पा.लि.हरूले 75 जना भनेर पनि उल्‍लेख गरेका छन्। (प्रेरित 7:14) जना थिए।
28अब याकोबले आफू गोशेनमा पुग्न लागेको खबर दिन भनी यहूदालाई आफ्नो अगि योसेफकहाँ पठाए। जब उनीहरू गोशेनको प्रान्तमा आइपुगे; 29तब योसेफले आफ्नो रथ तयार पारे, र आफ्ना पिता इस्राएललाई भेट्न गोशेन गए। योसेफ उनको सामु पुग्नसाथ आफ्ना पितालाई अँगालो हालेर धेरै समयसम्म रोइरहे।
30इस्राएलले योसेफलाई भने, “म आफैँले तँ अझै जीवितै रहेको देखेको हुनाले अब म शान्तिसित मर्न तयार छु।”
31तब योसेफले आफ्ना दाजुभाइहरू र आफ्ना पिताको घरानालाई भने, “म गएर फारोसित कुरा गर्नेछु, ‘कनान देशमा बसिरहेका मेरा दाजुभाइहरू र मेरा पिताका घराना मकहाँ आएका छन्। 32यी मानिसहरू गोठालाहरू हुन्, र पशुपालन गर्छन्; अनि उनीहरूले आफ्ना बगाल, बथान र भएभरका सबै कुराहरू लिएर आएका छन्।’ 33जब फारोले तपाईंहरूलाई भित्र बोलाएर ‘तिमीहरूका कामकाज के हो?’ भनी सोध्छन्, 34तपाईंहरूले भन्‍नुहोस्, ‘हाम्रा पुर्खाहरूले गरेझैँ हामी बाल्यकालदेखि नै पशुपालन गर्दैआएका छौँ।’ तब तपाईंहरूलाई गोशेनको प्रान्तमा बसोबास गर्न दिइनेछ; किनकि इजिप्टियनहरूका नजरमा गोठालाहरू घृणित हुन्।”

Цяпер абрана:

उत्पत्ति 46: NCV

Пазнака

Капіяваць

Параўнаць

Падзяліцца

None

Хочаце, каб вашыя адзнакі былі захаваны на ўсіх вашых прыладах? Зарэгіструйцеся або ўвайдзіце