उत्पत्ति 39
39
योसेफ र पोतिफरकी पत्नी
1अब योसेफलाई तल इजिप्टमा लगिएको थियो। फारोका अधिकारी, अङ्गरक्षकका सेनापति पोतिफर भन्ने इजिप्टियनले तिनलाई त्यहाँ लैजाने इश्माएलीहरूबाट किने।
2याहवेह योसेफसित हुनुभएकोले तिनको उन्नति भयो, र तिनी आफ्ना इजिप्टियन मालिकको घरमा बस्न लागे। 3जब तिनका मालिकले याहवेह योसेफको साथमा हुनुभएको र तिनले गरेका सबै कुरामा उहाँले आशिष् दिनुभएको देखे, 4योसेफले उनको दृष्टिमा निगाह पाए, र उनका मुख्य कारिन्दा भए। पोतिफरले तिनलाई आफ्नो घरको जिम्मा दिए र उनीसित भएका सबै कुराहरूमाथि रेखदेख गर्न जिम्मेवारी सुम्पिदिए। 5पोतिफरले आफ्नो घरको र आफूसित भएका सबै कुराको जिम्मा योसेफलाई दिएको समयदेखि तिनको कारण याहवेहले त्यहाँका इजिप्टियन घरलाई आशिष् दिनुभयो। याहवेहको आशिष् पोतिफरसित भएका सबै कुराहरूमा, अर्थात् घरभित्र र खेतमा भएका दुवै कुराहरूमाथि थियो। 6यसकारण उनले आफूसित भएका सबै कुराहरू योसेफको रेख-देखमा छोडिदिए; आफूले खाने भोजनबाहेक अरू कुनै कुरामा पनि उनले चिन्ता गरेनन्।
योसेफ हट्टाकट्टा र सुन्दर थिए। 7अनि केही समयपछि तिनका मालिककी पत्नीले योसेफलाई मन पराउन थालिन् र भनिन्, “मसँग ओछ्यानमा आऊ!”
8तर तिनले अस्वीकार गरे। तिनले आफ्नी मालिक्नीलाई भने, “सबै कुरा मेरो जिम्मामा रहेकोले मेरा मालिकलाई घरको कुनै कुराको पनि चिन्ता छैन। उहाँसित भएका सबै कुरा उहाँले मेरै रेख-देखमा राखिदिनुभएको छ। 9यस घरमा मभन्दा ठूलो अरू कोही छैन। तपाईं उहाँकी पत्नी हुनुभएकोले, मेरा मालिकले तपाईंबाहेक अरू कुनै कुरा पनि मदेखि अलग राख्नुभएको छैन। त्यसकारण यस्तो दुष्ट काम गरेर कसरी परमेश्वरको विरुद्धमा म पाप गर्न सक्छु र?” 10अनि तिनले दिनदिनै योसेफलाई त्यसो भने तापनि योसेफले तिनीसित सुत्न त परै जाओस्, तिनको नजिक बस्न समेत अस्वीकार गरे।
11एक दिन योसेफ आफ्नो काम गर्न भनी घरभित्र गए; घरभित्र अरू कोही पनि सेवकहरू थिएनन्। 12तब तिनले योसेफको लुगा समात्दै, “आऊ, मसँग ओछ्यानमा सुत!” भनिन्, तर आफ्नो लुगा तिनको हातैमा छाडेर तिनी घरबाट बाहिर भागे।
13जब योसेफले आफ्नो लुगा तिनकै हातमा छाडेर घरदेखि बाहिर भागेको तिनले देखिन्, 14तब तिनले आफ्ना घरका सेवकहरूलाई बोलाएर तिनीहरूलाई भनिन्, “हेर, यस हिब्रूलाई त हाम्रो बेइज्जत गर्न भनेर पो हामीकहाँ ल्याइएको रहेछ! त्यो मसँग सुत्नलाई यहाँ भित्र आयो, र म चिच्याएँ। 15जब म चिच्याएको त्यसले सुन्यो, तब त्यसले आफ्नो लुगा मेरो छेउमा छोडेर घरबाट बाहिर भाग्यो।”
16तिनले त्यो लुगा आफ्ना पति नआउन्जेल आफ्नै साथमा राखिन्। 17तब तिनले उनलाई यो घटना भनिन्: “तपाईंले ल्याउनुभएको त्यो हिब्रू सेवक मेरो इज्जत लुट्न भनी मकहाँ आयो। 18तर म जब सहायताको लागि चिच्याएँ, तब त्यसले आफ्नो लुगा मेरो छेउमा छोडेर घरबाट बाहिर भाग्यो।”
19जब उनका मालिकले आफ्नी पत्नीले, “तपाईंको दासले मसँग यस्तो व्यवहार गर्यो,” भनेको घटना सुने, तब तिनी रिसले चुर भए। 20योसेफका मालिकले तिनलाई राजाका कैदीहरू थुन्ने झ्यालखानामा लगेर हालिदिए।
तर योसेफ त्यस झ्यालखानामा हुँदा, 21याहवेह तिनको साथमा हुनुहुन्थ्यो, र उहाँले तिनीमाथि दया देखाउनुभयो, र झ्यालखानाका हाकिमको दृष्टिमा तिनलाई निगाह प्राप्त गराइदिनुभयो। 22यसकारण झ्यालखानाका हाकिमले योसेफलाई झ्यालखानामा राखिएका सबैमाथि रेखदेख गर्ने जिम्मा दिए; अनि तिनलाई त्यहाँ गरिने सबै कुराहरूका जिम्मेवारी सुम्पिदिए। 23ती हाकिमले योसेफको जिम्मामा रहेका कुनै कुरामाथि पनि चिन्ता गर्दैनथिए; किनकि याहवेह योसेफसित हुनुहुन्थ्यो, र तिनले गरेका सबै कुरामा उहाँले तिनलाई सफलता दिनुभयो।
Цяпер абрана:
उत्पत्ति 39: NCV
Пазнака
Капіяваць
Параўнаць
Падзяліцца
Хочаце, каб вашыя адзнакі былі захаваны на ўсіх вашых прыладах? Зарэгіструйцеся або ўвайдзіце
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.