प्रस्थान 16
16
मन्न र बट्टाई चरा
1इस्राएलीहरूका सारा समुदाय एलीमबाट हिँडे, र सीनैको उजाडस्थानमा आइपुगे। यो एलीम र सीनैको बीचमा थियो। तिनीहरू इजिप्टबाट निस्केर आएको दोस्रो महिनाको पन्ध्रौँ दिन भइसकेको थियो। 2त्यस उजाडस्थानमा सारा इस्राएलीहरू मोशा र हारूनको विरुद्धमा गनगनाए। 3इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी इजिप्टमै याहवेहका हातद्वारा मरेका भए असल हुनेथियो! त्यस ठाउँमा छँदा हामी मासुका भाँडाको वरिपरि बस्थ्यौँ, र हामीले अघाउन्जेल भोजन खान्थ्यौँ; तर तपाईंले हामीलाई निकालेर यस उजाडस्थानमा यो सारा समुदायलाई भोकभोकै मार्न ल्याउनुभएको छ।”
4तब याहवेहले मोशालाई भन्नुभयो, “म तिमीहरूका लागि स्वर्गबाट रोटी बर्साउनेछु। यी मानिसहरू हरेक दिन बाहिर जाऊन्, र त्यस दिनको भाग बटुलून्; ताकि तिनीहरूले मेरा आज्ञाहरू मान्छन् कि मान्दैनन् भनी म तिनीहरूलाई जाँच्न सकूँ। 5छैटौँ दिनमा तिनीहरूले जे भित्र ल्याउनेछन्, त्यसलाई तयार पारून्; र त्यो अरू दिन बटुलेको भन्दा दोबर होस्।”
6यसकारण मोशा र हारूनले सारा इस्राएलीहरूलाई भने, “याहवेहले नै तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभएको हो भनी तिमीहरूले बेलुकीपख जान्नेछौ। 7अनि बिहान तिमीहरूले याहवेहको महिमा देख्नेछौ; किनकि तिमीहरूले उहाँको विरुद्धमा गनगनाएको उहाँले सुन्नुभएको छ। हामी को हौँ, र तिमीहरू हाम्रो विरुद्धमा गनगनाउँछौ?” 8मोशाले यो पनि भने, “जब याहवेहले तिमीहरूलाई बेलुकी खानलाई मासु र बिहानीपख चाहेजति रोटी दिनुहुनेछ, तब त्यसलाई दिनुहुने याहवेह नै हुनुहुन्छ भनी तिमीहरूले जान्नेछौ; किनकि तिमीहरूले उहाँको विरुद्धमा गनगनाएको उहाँले सुन्नुभएको छ। हामी को हौँ र? तिमीहरू हाम्रो विरुद्धमा होइन, तर परमेश्वरको विरुद्धमा गनगनाइरहेका छौ।”
9तब मोशाले हारूनलाई भने, “इस्राएलका सारा समुदायलाई भन्नुहोस्, ‘याहवेहको सामु आओ; किनकि उहाँले तिमीहरूको गनगन सुन्नुभएको छ।’ ”
10हारून सारा इस्राएली समुदायसित बोल्दैगर्दा तिनीहरूले उजाडस्थानतिर हेरे; अनि त्यहाँ याहवेहको महिमा बादलमा देखा पर्यो।
11याहवेहले मोशालाई भन्नुभयो, 12“मैले इस्राएलीहरूको गनगन सुनेको छु। तिनीहरूलाई भन्, ‘बेलुकी तिमीहरूले मासु खानेछौ र बिहानचाहिँ तिमीहरू रोटीले अघाउनेछौ। तब म नै याहवेह तिमीहरूका परमेश्वर हुँ भनी तिमीहरूले जान्नेछौ।’ ”
13त्यस बेलुकी बट्टाई चराहरू आएर छाउनी नै ढाकिदिए; अनि बिहानचाहिँ छाउनीका चारैतिर शीत पर्यो। 14शीत सुकेपछि उजाडस्थानभरि मसिना डल्लाहरू, तुसारोजस्ता चीजहरू देखा परे। 15जब इस्राएलीहरूले त्यो देखे, तब तिनीहरूले आपसमा भने, “यो के हो?” किनकि त्यो के थियो, तिनीहरूलाई थाहा थिएन।
अनि मोशाले तिनीहरूलाई भने, “यो याहवेहले तिमीहरूलाई खान भनी दिनुभएको रोटी हो। 16याहवेहले यसो भनी आज्ञा दिनुभएको छ: ‘हरेकले आफूलाई चाहिए जति बटुल्नू। तिमीहरूसित पालभित्र भएका हरेक व्यक्तिको निम्ति एक ओमेर#16:16 लगभग 1.4 किलो; 18, 32, 33 र 36 पदमा पनि लिनू।’ ”
17मोशाले भनेझैँ इस्राएलीहरूले गरे; अनि कतिले धेरै, कतिले थोरै बटुले। 18जब तिनीहरूले त्यसलाई ओमेरले नापे, तब धेरै बटुल्नेको ज्यादा भएन, र थोरै बटुल्नेको पनि कम्ती भएन। तिनीहरू हरेकले आफूलाई जति चाहिन्छ, त्यति नै बटुले।
19मोशाले तिनीहरूलाई भने, “कसैले पनि यसबाट बाँकी भाग बिहानसम्म नराख्नू।”
20तैपनि कसै-कसैले मोशाको कुरामा ध्यान दिएनन्; र त्यसबाट केही भाग बिहानसम्म राखे। तर त्यसमा किरा पर्यो, र गनाउन थाल्यो। यसकारण मोशा तिनीहरूसित क्रोधित भए।
21प्रत्येक बिहान हरेकले आफूलाई चाहिने जति बटुल्थे; अनि घाम छिप्पिएपछि त्यो पग्लिहाल्थ्यो। 22छैटौँ दिनमा भने तिनीहरूले दोबर अर्थात् हरेकका लागि दुई ओमेर#16:22 लगभग 2.8 किलो बटुले; अनि समुदायका अगुवाहरूले यो कुरा मोशालाई बताइदिए। 23तब तिनले उनीहरूलाई भने, “याहवेहले यसो भनी आज्ञा गर्नुभएको छ: ‘भोलि याहवेहका निम्ति शब्बाथको विश्रामदिन, पवित्र शब्बाथ हुनुपर्छ। तिमीहरू जे पकाउन चाहन्छौ, त्यो पकाओ; अनि जे उमाल्न चाहन्छौ, उमाल; अनि जे उब्रिन्छ, त्यो बिहानसम्म राखिछोड।’ ”
24यसकारण मोशाले भनेझैँ तिनीहरूले त्यसलाई बिहानसम्म राखे; र त्यो गनाएन, र त्यसमा किरा पनि परेन। 25तब मोशाले भने, “त्यो खानेकुरा आज खाऊ; किनकि आज याहवेहका निम्ति शब्बाथ हो। तिमीहरूले आज जमिनमा त्यसको केही भाग पनि पाउनेछैनौ। 26छ दिन तिमीहरूले त्यसलाई बटुल्नू, तर सातौँ दिन, अर्थात् शब्बाथमा चाहिँ केही पनि हुनेछैन।”
27तैपनि केही मानिसहरू ती बटुल्नलाई सातौँ दिनमा बाहिर गए, तर तिनीहरूले केही भेटेनन्। 28तब याहवेहले मोशालाई भन्नुभयो, “कहिलेसम्म तिमीहरू मेरा आज्ञा र अर्तीहरू पालन गर्न अस्वीकार गर्छौ? 29यो कुरा मनमा राख: याहवेहले तिमीहरूका निम्ति शब्बाथ दिनुभएको छ; यसैकारण छैटौँ दिनमा उहाँले तिमीहरूलाई दुई दिनका लागि रोटी दिनुभएको छ। सातौँ दिन तिमीहरू हरेक आ-आफ्नै ठाउँमा बस्नू; कोही बाहिर नजानू।” 30यसकारण मानिसहरूले सातौँ दिनमा विश्राम गरे।
31अनि इस्राएलका मानिसहरूले त्यस रोटीलाई मन्न#16:31 मन्न हिब्रूको यो के हो? जस्तै सुनिन्छ। 15 भनी भने। त्यो धनियाँको बिउजस्तो सेतो देखिन्थ्यो; अनि स्वादचाहिँ मह मिसाएर बनाएको बाबरजस्तो थियो। 32मोशाले भने, “याहवेहले यसो भनी आज्ञा दिनुभएको छ: ‘मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउँदा उजाडस्थानमा तिमीहरूलाई कस्तो रोटी खुवाएको थिएँ भनेर पछिका पुस्ताहरूलाई देखाउन भनी एक ओमेर मन्न जोगाएर राख्नू।’ ”
33यसकारण मोशाले हारूनलाई भने, “एउटा भाँडो लिएर त्यसमा एक ओमेर मन्न भर्नुहोस्, र त्यसलाई पछि आउने पुस्तौँ-पुस्तासम्म रहोस् भनेर याहवेहको सामु राख्नुहोस्।”
34याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ, हारूनले त्यस मन्नलाई जोगाएर राख्न भनी करारको सन्दुकको सामु राखिदिए। 35इस्राएलीहरूले चालीस वर्षसम्म मन्न खाए; तिनीहरू कनान देशसम्म पुगेर बसोबास नगरुन्जेल मन्न खाइरहे।
36(एक ओमेर भनेको एपाको दशौँ भाग हो।)
Цяпер абрана:
प्रस्थान 16: NCV
Пазнака
Капіяваць
Параўнаць
Падзяліцца
Хочаце, каб вашыя адзнакі былі захаваны на ўсіх вашых прыладах? Зарэгіструйцеся або ўвайдзіце
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.