जकरिया 2
2
नाप्ने फित्ता लिएको मानिस
1त्यसपछि मैले माथि हेरेँ, र त्यहाँ मेरो अगाडि आफ्नो हातमा एउटा नाप्ने डोरी लिएका एक जना मानिस थिए! 2मैले सोधेँ, “तपाईं कहाँ जाँदैहुनुहुन्छ?”
तिनले जवाफ दिए, “यरूशलेमलाई नाप्न, त्यसको लम्बाइ र चौडाइ कति रहेछ, सो हेर्न जाँदैछु।”
3जब मसँग कुरा गरिरहेका स्वर्गदूत जाँदैथिए, र अर्को स्वर्गदूत तिनलाई भेट्न आए, 4अनि तिनलाई भने: “कुदेर जा, र त्यस जवान मानिसलाई भन्, ‘धेरैको संख्यामा मानिसहरू र गाईबस्तुहरू भएको कारण यरूशलेम पर्खाल नभएको सहर हुनेछ। 5अनि म आफैँ नै त्यस सहरको चारैतिर आगोको पर्खाल हुनेछु,’ याहवेह घोषणा गर्नुहुन्छ, ‘अनि म त्यस भित्रको महिमा हुनेछु।’
6“आओ! आओ! उत्तरको देशबाट भागिहाल,” याहवेह घोषणा गर्नुहुन्छ, “किनकि मैले तिमीहरूलाई आकाशका चारै बतासतिर तितरबितर पारिदिएको छु,” याहवेह घोषणा गर्नुहुन्छ।
7“हे सियोन, आइज! तँ जो बेबिलोनकी छोरीकहाँ बस्छेस्, भाग्!” 8किनकि सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “त्यसपछि महिमित एक जनाले मलाई तिमीहरूलाई लुटपाट गर्ने राष्ट्रको विरुद्धमा पठाउनुभयो—किनकि जसले तिमीहरूलाई छुन्छ, त्यसले उहाँको आँखाको नानीलाई छुन्छ— 9म निश्चय नै आफ्नो हात तिनीहरूको विरुद्धमा उठाउनेछु, ताकि तिनीहरूका दासहरूले तिनीहरूलाई लुटपाट गरून्। त्यसपछि तिमीहरूले जान्नेछौ, कि सेनाहरूका याहवेहले नै मलाई पठाउनुभएको हो।
10“हे सियोनकी छोरी, चर्कोगरी करा र आनन्दित हो; किनकि म आउँदैछु, र म तिमीहरूको बीचमा बसोबास गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ। 11“त्यस दिन धेरै राष्ट्रहरू याहवेहसँग मिल्न आउनेछन् र मेरा मानिसहरू हुनेछन्। म तिमीहरूका बीचमा रहनेछु र तिमीहरूले जान्नेछौ, कि सेनाहरूका याहवेहले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो। 12याहवेहले यहूदालाई पवित्र देशमा आफ्नो भागझैँ उत्तराधिकार बनाउनुहुनेछ, र यरूशलेमलाई फेरि चुन्नुहुनेछ। 13हे सबै मानव-जाति हो, याहवेहको सामु चुपचाप रहो; किनकि उहाँ आफ्नो पवित्र वासस्थानबाट आउँदैहुनुहुन्छ।”
Trenutno izbrano:
जकरिया 2: NCV
Označeno
Kopiraj
Primerjaj
Deli
Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.