मर्कूस 8
8
येशूले चार हजारलाई खुवाउनुभएको
1ती दिनहरूमा फेरि अर्को एउटा ठूलो भीड जम्मा भयो। तिनीहरूसित खानेकुरा केही नभएकोले, येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, 2“म यी मानिसहरूलाई टिठ्याउँछु; तिनीहरू हामीसित तीन दिनदेखि सँगै छन्। तिनीहरूसित खानेकुरा केही पनि छैन। 3यदि मैले तिनीहरूलाई भोकै घर पठाएँ भने तिनीहरू बाटैमा मूर्च्छा पर्नेछन्; किनकि तिनीहरूमध्ये कोही धेरै टाढाबाट आएका छन्।”
4उहाँका चेलाहरूले जवाफ दिए, “तर यस निर्जन ठाउँमा तिनीहरूलाई खुवाउन प्रशस्त रोटी कहाँ पाउन सकिएला र?”
5येशूले सोध्नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्?”
तिनीहरूले जवाफ दिए, “सात वटा छन्।”
6उहाँले भीडलाई भुइँमा बस्न लाउनुभयो। जब उहाँले ती सात वटा रोटी लिएर परमेश्वरलाई धन्यवाद दिनुभयो, तब उहाँले ती भाँचेर मानिसहरूमा बाँडिदिनका लागि चेलाहरूलाई दिनुभयो, अनि तिनीहरूले त्यसै गरे। 7तिनीहरूसित केही साना माछाहरू पनि थिए; उहाँले माछाको लागि पनि धन्यवाद दिएर ती माछाहरू पनि चेलाहरूलाई बाँडिदिन अह्राउनुभयो। 8मानिसहरूले पेटभरि खाए। त्यसपछि चेलाहरूले उब्रेका टुक्राहरू सात डालाभरि बटुले। 9त्यहाँ प्रायः चार हजार मानिसहरू उपस्थित थिए। त्यसपछि तिनीहरूलाई बिदा गरी पठाउनुभयो। 10अनि उहाँ आफ्ना चेलाहरूसित डुङ्गामा चढेर दलमनुथाका क्षेत्रमा जानुभयो।
11फरिसीहरू आएर येशूसँग बहस गर्न लागे। उहाँलाई जाँच गर्नको लागि तिनीहरूले उहाँसित स्वर्गबाट एउटा चिन्ह मागे। 12उहाँले लामो सास लिएर भन्नुभयो, “किन यस पुस्ताले चमत्कारी चिन्ह माग्छ? म तिमीहरूलाई साँच्चै भन्दछु, यस पुस्तालाई कुनै चिन्ह दिइनेछैन।” 13तब उहाँ तिनीहरूलाई छोडेर डुङ्गामा चढी पारिपट्टि जानुभयो।
फरिसीहरू र हेरोदको खमिर
14आफूसित भएको एउटा मात्र रोटीबाहेक चेलाहरूले अरू रोटी डुङ्गामा ल्याउन बिर्सेका थिए। 15“सावधान होओ!” येशूले तिनीहरूलाई चेतावनी दिनुभयो, “फरिसीहरू र हेरोदको खमिरदेखि होसियार रहो।”
16तिनीहरूले यसबारे आपसमा छलफल गरेर भने, “यो त हामीसित रोटी छैन भनेर भन्नुभएको हो।”
17तिनीहरूको बहस थाहा पाएर येशूले तिनीहरूलाई सोध्नुभयो: “तिमीहरू किन रोटी छैन भनेर कुरा गर्छौ? तिमीहरू अझै देख्दैनौ वा बुझ्दैनौ? के तिमीहरूको हृदय कठोर भएको छ? 18के तिमीहरूका आँखा भएर पनि देख्दैनौ र कान भएर पनि सुन्दैनौ? र के तिमीहरूलाई सम्झना छैन? 19जब मैले पाँच रोटीहरू पाँच हजारका निम्ति भाँचेको थिएँ, तिमीहरूले कति डालाभरि टुक्राटाक्रीहरू उठायौ?”
“बाह्र,” तिनीहरूले भने।
20“अनि जब मैले चार हजारका निम्ति सात वटा रोटीहरू भाँचेको थिएँ, तिमीहरूले कति डालाभरि टुक्राटाक्रीहरू उठायौ?”
“सात,” तिनीहरूले भने।
21उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै बुझ्दैनौ?”
येशूले बेथसेदामा दृष्टिविहीन मानिसलाई निको पार्नुभएको
22उहाँहरू बेथसेदामा आउनुभयो; अनि केही मानिसहरूले एक जना दृष्टिविहीनलाई येशूकहाँ ल्याएर त्यसलाई छोइदिन बिन्ती गरे। 23येशूले त्यस दृष्टिविहीन मानिसलाई आफ्नो हातमा समातेर गाउँदेखि बाहिर लानुभयो। जब उहाँले त्यसको आँखामा थुकेर आफ्ना हात त्यसमाथि राख्नुभयो, र सोध्नुभयो, “के तिमीले केही देख्यौ?”
24त्यसले मास्तिर हेरेर भन्यो, “म मानिसहरूलाई रूखहरूजस्तै हिँडिरहेको देख्छु।”
25येशूले आफ्ना हात फेरि एक पल्ट त्यस मानिसको आँखामा राख्नुभयो। तब त्यसका आँखाहरू खोलिए, त्यसको दृष्टि फर्केर आयो; अनि त्यसले सबै थोक स्पष्टसँग देख्यो। 26येशूले त्यसलाई यसो भनेर घर पठाउनुभयो, “गाउँमाचाहिँ जाँदै नजाऊ।”
येशू नै ख्रीष्ट हुनुहुन्छ भनी पत्रुसको स्वीकार
27येशू र उहाँका चेलाहरू कैसरिया फिलिप्पीका गाउँहरूतिर जानुभयो। बाटोमा उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भनी भन्छन्?”
28तिनीहरूले जवाफ दिए, “कसैले बप्तिस्मा दिने यूहन्ना भन्छन्, कसैले एलिया भन्छन्; अनि कतिले चाहिँ अगमवक्ताहरूमध्ये एक हुन् भनी भन्छन्।”
29उहाँले सोध्नुभयो, “तिमीहरूले नि? तिमीहरूचाहिँ मलाई म को हुँ भन्छौ?”
पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट#8:29 हिब्रू भाषामा यसको अर्थ अभिषिक्त जन हुन्छ। हुनुहुन्छ।”
30येशूले तिनीहरूलाई आफ्नो विषयमा कसैलाई केही नभन्नू भनी कडा आज्ञा दिनुभयो।
येशूले आफ्नो मृत्युको भविष्यवाणी गर्नुभएको
31तब उहाँले तिनीहरूलाई मानिसको पुत्रले धेरै दुःखहरू सहनुपर्छ; अनि प्रधानहरू, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूबाट तिरस्कृत हुनुपर्छ; मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी सिकाउन थाल्नुभयो। 32उहाँले यस विषयमा स्पष्ट रूपले भन्नुभयो। अनि पत्रुसले उहाँलाई एकातिर लगेर हकार्न लागे।
33तर येशूले फर्केर आफ्ना चेलाहरूतिर हेरेर पत्रुसलाई हकार्नुभयो, “ए शैतान! मबाट टाढा होइजा,” उहाँले भन्नुभयो, “तेरो मनमा परमेश्वर सम्बन्धी विचारहरू होइनन्, तर मानिसहरू सम्बन्धी विचारहरू छन्।”
येशूलाई पछ्याउँदा चुकाउनुपर्ने मूल्य
34तब उहाँले आफ्ना चेलाहरूसित भीडलाई पनि आफूकहाँ बोलाएर भन्नुभयो: “यदि कोही मेरो चेला बन्न चाहन्छ भने उसले आफैँलाई इन्कार गरोस्, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। 35किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, उसले त्यो गुमाउनेछ, तर जसले मेरो र सुसमाचारका निम्ति आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ। 36कुनै मानिसले सारा संसार हात पारेर पनि आफ्नो प्राणचाहिँ गुमाउँछ भने उसलाई के फाइदा हुन्छ? 37अथवा मानिसले आफ्नो प्राणको बदलामा के दिन सक्छ र? 38यस व्यभिचारी र पापी पुस्तामा यदि कोही म र मेरो वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि आफ्ना पिताको महिमामा पवित्र स्वर्गदूतहरूसँग आउँदा त्यसदेखि शर्माउनेछ।”
Trenutno izbrano:
मर्कूस 8: NCV
Označeno
Kopiraj
Primerjaj
Deli
Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.