मीका 4

4
याहवेहको पर्वत
1अन्तिम दिनहरूमा
याहवेहको मन्दिरको पर्वत
अरू पर्वतहरूमध्ये प्रमुख भएर स्थापित गरिनेछ;
र पहाडहरूभन्दा माथि उठाइनेछ;
अनि सबै मानिसहरू त्यसमा ओइरिएर आउनेछन्।
2धेरै राष्ट्रहरू आएर भन्‍नेछन्,
“आओ, हामीहरू याहवेहको पर्वतमा,
याकोबका परमेश्‍वरको मन्दिरमा जाऔँ।
उहाँले हामीलाई उहाँका मार्गहरू सिकाउनुहुनेछ,
ताकि हामी उहाँका मार्गहरूमा हिँड्न सकौँ।”
व्यवस्था सियोनबाट,
र याहवेहको वचन यरूशलेमबाट निस्कनेछन्।
3उहाँले धेरै मानिसहरूका बीचमा न्याय गर्नुहुनेछ,
र टाढाका शक्तिशाली राष्ट्रहरूका वाद-विवाद सुल्झाउनुहुनेछ।
तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका फालीहरू बनाउनेछन्,
र भालाहरू पिटेर हँसियाहरू बनाउनेछन्।
एउटा राष्ट्रले अर्को राष्ट्रको विरुद्धमा तरवार उठाउनेछैन,
न त तिनीहरूले फेरि कहिल्यै युद्धका निम्ति तालिम दिनेछन्।
4हरेक मान्छे आफ्नै दाखको बोटमुनि
र आफ्नै नेभाराको रूखमुनि बस्‍नेछ;
अनि कसैले पनि तिनीहरूलाई भयभीत तुल्याउनेछैन;
किनकि सेनाहरूका याहवेहले बोल्नुभएको छ।
5सबै राष्ट्रहरू तिनीहरूका
आफ्नै देवताहरूका नाममा हिँडून्;
तर हामीचाहिँ याहवेह हाम्रा परमेश्‍वरको
नाममा सदासर्वदै हिँड्नेछौँ।
याहवेहको योजना
6याहवेहले घोषणा गर्नुहुन्छ, “त्यस दिन
म लङ्गडाहरूलाई एकसाथ भेला गर्नेछु;
म निर्वासितहरूलाई एक ठाउँमा भेला गर्नेछु,
जसमाथि मैले शोक ल्याएको थिएँ।
7म लङ्गडालाई मेरो बाँकी भाग बनाउनेछु,
देश निकाला गरिएकाहरूलाई बलियो राष्ट्र तुल्याउनेछु।
त्यसपछि याहवेहले सियोन पर्वतमा,
तिनीहरूमाथि सदासर्वदा राज्य गर्नुहुनेछ।
8तेरो बारेमा चाहिँ, हे बगालको धरहरा,
हे सियोनकी छोरीको सुरक्षाको गढ,
तँलाई फेरि पहिलेको अधिकार फर्काइनेछ;
त्यो राजपद यरूशलेमकी छोरीकहाँ फेरि आउनेछ।”
9अहिले तँ किन ठूलो सोरले चिच्याउँछेस्,
के तेरा निम्ति कुनै राजा छैनन्?
के तेरो शासक नष्‍ट भएको छ?
के तँ प्रसव-वेदनामा परेकी एउटी स्त्रीजस्तै पीडामा परेकी छेस्?
10हे सियोनकी छोरी यरूशलेम,
एउटी प्रसव-वेदनामा परेकी स्त्रीजस्तै व्यथामा छटपटा;
किनकि अब तैँले यो सहर छोड्नुपर्छ,
र तैँले खुला मैदानमा छाउनी हाल्नुपर्छ।
तँ बेबिलोनमा जानेछस्;
त्यहाँ तँलाई छुटकारा दिइनेछ।
त्यहाँ याहवेहले तँलाई
तेरा शत्रुहरूका हातबाट उद्धार गर्नुहुनेछ।
11तर अहिले धेरै राष्ट्रहरू
तेरो विरुद्धमा एकसाथ भेला भएका छन्।
तिनीहरू भन्छन्, “त्यसलाई भ्रष्‍ट पारियोस्
र हाम्रा आँखाहरूले सियोनको दुर्गतिलाई नियालोस्!”
12तर तिनीहरूले याहवेहका
विचारहरू जान्दैनन्;
तिनीहरूले उहाँका योजनाहरू बुझ्दैनन्;
किनकि उहाँले तिनीहरूलाई खलामा बिटाहरूजस्तै जम्मा गर्नुभएको छ।
13“हे सियोनकी छोरी, उठ् र दाइँ गर्;
किनकि म तँलाई फलामका सिङहरू दिनेछु;
म तँलाई पित्तलका खुरहरू दिनेछु,
र तैँले धेरै राष्ट्रहरूलाई चकनाचुर पार्नेछस्।”
तैँले तिनीहरूका अर्धमले कमाएको सम्पत्ति याहवेहलाई,
तिनीहरूको धन सारा पृथ्वीका प्रभुलाई समर्पित गर्नेछस्।

Trenutno izbrano:

मीका 4: NCV

Označeno

Kopiraj

Primerjaj

Deli

None

Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi