होशे 11
11
इस्राएलको निम्ति परमेश्वरको प्रेम
1“इस्राएल बालक छँदा, मैले त्यसलाई प्रेम गरेँ,
मैले आफ्नो पुत्रलाई इजिप्टबाट बोलाएँ।
2तर मैले इस्राएललाई जति धेरै बोलाएँ,
तिनीहरू मदेखि उति नै धेरै टाढा गए।
तिनीहरूले बाल-देवताहरूलाई बलिदान चढाए,
र तिनीहरूले मूर्तिहरूलाई धूप बाले।
3एफ्राइमलाई आफ्नो अँगालोमा राखेर,
तिनीहरूलाई हिँड्न सिकाउने म नै हुँ;
तर तिनीहरूले जानेनन्,
कि मैले नै तिनीहरूलाई निको पारेको हुँ।
4मैले तिनीहरूलाई मानवीय प्रेम
र दयाको डोरीले बाँधेर डोर्याएँ;
मैले तिनीहरूलाई एउटा सानो बालकलाई जस्तै
मायाले उठाएर आफ्नो गालामा टसाएँ
र तिनीहरूलाई खुवाउन म निहुरेँ।
5“तिनीहरूले पश्चात्ताप गर्न अस्वीकार गरेको कारण
के तिनीहरू इजिप्टमा फर्कनेछैनन्
र अश्शूरले तिनीहरूमाथि शासन गर्नेछैन र?
6तिनीहरूका सहरहरूमा तरवार घुम्नेछ;
तिनीहरूका झूटा अगमवक्ताहरू मारिनेछन्,
र तिनीहरूका योजनाहरूको अन्त्य गरिदिनेछन्।
7मेरा मानिसहरूले मबाट तर्किएर जाने निश्चय गरेका छन्।
तिनीहरूले मलाई सर्वोच्च परमेश्वर भनी पुकारे तापनि
म कुनै पनि हालतमा तिनीहरूलाई उचाल्ने छैन।
8“हे एफ्राइम, म तँलाई कसरी त्याग्न सक्छु?
हे इस्राएल, म तँलाई कसरी शत्रुको हातमा सुम्पिदिन सक्छु?
म तँलाई कसरी अदमा सहरलाई झैँ व्यवहार गर्न सक्छु?
म तँलाई कसरी सबोयीम सहरझैँ बनाउन सक्छु?
मेरो हृदय मभित्र बदलिएको छ;
मेरो मनमा दया जागेको छ।
9म मेरो भयानक क्रोध पोख्नेछैनँ;
म एफ्राइमलाई फेरि सर्वनाश गर्नेछैनँ।
किनकि म त परमेश्वर हुँ, मानिस होइनँ;
तिमीहरूका बीचमा रहने पवित्र परमेश्वर हुँ।
म तिनीहरूका सहरहरूको विरुद्धमा क्रोधित भएर आउनेछैनँ।
10तिनीहरूले याहवेहलाई पछ्याउनेछन्;
उहाँ सिंहजस्तै गर्जनुहुनेछ।
जब उहाँ गर्जनुहुन्छ, तब उहाँका छोराछोरीहरू
काम्दै पश्चिमबाट आउनेछन्।
11तिनीहरू इजिप्टबाट आउनेछन्,
भँगेराहरूझैँ काँप्दै आउनेछन्,
र अश्शूरबाट ढुकुरहरूझैँ फटफटाउँदै आउनेछन्।
म तिनीहरूलाई तिनीहरूका घरहरूमा बसाल्नेछु,”
याहवेह घोषणा गर्नुहुन्छ।
इस्राएलको पाप
12एफ्राइमले मलाई झूटले,
र इस्राएलले मलाई छलले घेरेको छ।
यहूदाले अझै परमेश्वरको विरुद्धमा,
विश्वासयोग्य पवित्र परमेश्वरको विरुद्धमा विद्रोह गर्छ।
Trenutno izbrano:
होशे 11: NCV
Označeno
Kopiraj
Primerjaj
Deli
Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.