इजकिएल 40

40
मन्दिरको क्षेत्र पुनर्स्थापित
1हाम्रो निर्वासनको पच्‍चीसौँ वर्षको सुरुमा, महिनाको दसौँ दिनमा, सहर पतन भएको चौधौँ वर्षमा, त्यसै दिन याहवेहको हात ममाथि थियो र उहाँले मलाई त्यहाँ लानुभयो। 2परमेश्‍वरको दर्शनमा उहाँले मलाई इस्राएल देशमा लानुभयो र मलाई एउटा अति उच्‍च पर्वतमाथि राख्नुभयो, जसको दक्षिण भागतिर सहरजस्तै देखिने भवनहरू थिए। 3उहाँले मलाई त्यहाँ लैजानुभयो र मैले एक जना मानिसलाई देखेँ, जसको रूप काँसाजस्तै थियो; तिनको एउटा हातमा मिहिन सुतीको डोरी र एउटा नाप्‍ने टाँगो थियो; अनि तिनी मूलढोकामा उभिरहेका थिए। 4ती मानिसले मलाई भने, “हे मानिसको छोरा, मैले तँलाई देखाउन लागेको हरेक कुरालाई आँखाले हेर्, र कानले सुन्। अनि त्यसमा ध्यान लगा; किनकि यही कुरा देखाउनका निम्ति तँ यहाँ ल्याइएको होस्। तैँले देखेको हरेक कुरा इस्राएलका मानिसहरूलाई बताइदे।”
बाहिरी चोक जाने पूर्वी मूलढोका
5मैले मन्दिरको क्षेत्रको बाहिर वरिपरि पूर्ण रूपले पर्खालले घेरिराखेको देखेँ। ती मानिसको हातमा भएको नाप्‍ने टाँगोको लम्बाइ छ क्यूबिट#40:5 लगभग 11 फिट र 21 इन्च र यो नै 40–48 सम्म मापनको आधारभूत इकाई हो। 12 पदमा पनि थियो, जसमध्ये हरेक एक क्यूबिट र चार औँला बढी नापको थियो। तिनले पर्खाल नापे; त्यो एक क्यूबिट मोटो र एक क्यूबिट अग्लो थियो।
6तब तिनी पूर्वको मूलढोकामा गए। तिनी सिँढी उक्लेर तिनले मूलढोकाको सँघार नापे, जसको गहिराइ एक टाँगो थियो। 7पहरेदारहरूका निम्ति कोठाहरू एक टाँगो लम्बाइ र एक टाँगो चौडाइ थिए; अनि कोठाहरूका बीचमा बाहिर देखिने भित्ताहरू पाँच क्यूबिट#40:7 लगभग 8 3⁄4 फिट मोटो थिए। अनि मन्दिरतिर फर्केको दलानको छेउको मूलढोकाको सँघार एक टाँगो गहिरो थियो।
8तब तिनले मूलढोकाको दलान नापे; 9त्यस मूलढोकाको दलान आठ क्यूबिट#40:9 लगभग 14 फिट गहिरो थियो। अनि मूलढोकाका दलानका ढोकाका सँघारहरू दुई क्यूबिट#40:9 लगभग 3 1⁄2 फिट मोटा थिए। मूलढोकाको दलान मन्दिरतिर फर्केको थियो।
10पूर्वीय मूलढोकाको भित्र प्रत्येक छेउमा तीन वटा कोठाहरू थिए; ती तीन-तीन वटा कोठा एकै नापका थिए; अनि कोठाका वरिपरिका प्रत्येक भित्ताहरूको हरेक छेउ एकै नापका थिए। 11तब तिनले मूलढोकाको प्रवेशद्वारको चौडाइ नापे; त्यो दश क्यूबिट चौडा थियो र त्यसको लम्बाइ तेह्र क्यूबिट#40:11 लगभग 18 फिट चौडा 23 फिट थियो। 12प्रत्येक कोठाको अगाडि एक क्यूबिट अग्लो पर्खाल थियो; अनि कोठाहरू छ क्यूबिट लम्बाइ र छ क्यूबिट चौडाइको वर्गाकार थियो। 13त्यसपछि तिनले एउटा कोठाको पछाडिको पर्खालको टुप्पोबाट त्यसको विपरीत भएको पर्खालको टुप्पोसम्मको मूलढोकाको नाप लिए; एउटा ढोकाबाट अर्को ढोकासम्मको दूरी पच्‍चीस क्यूबिट#40:13 लगभग 44 फिट; 21, 25, 29, 30, 3336 पदमा पनि थियो। 14तिनले मूलढोकाको भित्रपट्टिका सबै वरिपरिका पर्खालहरू नापे—त्यो साठी क्यूबिट#40:14 लगभग 105 फिट थियो। यो नाप चोकतिर फर्केको दलानसम्म थियो। 15मूलढोकाको प्रवेशद्वारदेखि भित्री दलानको पल्‍लो छेउसम्मको दूरी पचास क्यूबिट#40:15 लगभग 88 फिट थियो। 16प्रवेशद्वार भित्रको कोठामा र मूलढोकाको भित्रपट्टि चारैतिरका भित्ताहरूमाथि साँघुरा झ्यालहरू थिए; अनि दलानहरू पनि त्यस्तै थिए, र ती सबै झ्यालहरू भित्रपट्टि फर्केका थिए। बाहिरतिर देखिने भित्ताका भागहरूमा खजूरका बोटहरूका बुट्टा खोपेर सिँगारिएका थिए।
बाहिरी चोक
17तब तिनले मलाई बाहिरी चोकमा ल्याए। त्यहाँ मैले केही कोठाहरू र चोकका चारैतिर ढुङ्गाले छापेर बनाइएको पिँडी देखेँ; ती ढुङ्गा छापेर बनिएको पिँडीमा तीस वटा कोठाहरू थिए। 18ढुङ्गा छापिएका बाटो मूलढोकाका किनारहरूसम्म नै थिए; अनि ती लम्बाइ र चौडाइमा बराबर थिए, त्यो तल्‍लो आँगन थियो। 19त्यसपछि तिनले तल्‍लो मूलढोकाको भित्री भागदेखि भित्री चोकको बाहिरी भागसम्मको दूरी नापे; त्यो पूर्वतिर र उत्तरतिर एक सय क्यूबिट#40:19 लगभग 175 फिट; 23, 2747 नाप थियो।
उत्तरको मूलढोका
20तब तिनले बाहिरी चोकतिर जाने उत्तरतिर फर्केको मूलढोकाको लम्बाइ र चौडाइ नापे। 21यसका कोठाहरू—प्रत्येक छेउमा तीन वटा कोठाहरू थिए; अनि त्यसका बाहिर देखिने भित्ताहरू र त्यसको दलानका नापहरू पहिलो मूलढोकाका जति नै थिए। त्यो पचास क्यूबिट लम्बाइ र पच्‍चीस क्यूबिट चौडाइ थियो। 22त्यसका झ्यालहरू, त्यसको दलान र त्यसका सिँगार्ने खजूरका रूखहरूका नापहरू पूर्वतिर फर्केको मूलढोकाका जति नै थिए। पूर्वी मूलढोकामा जाने सात वटा खुड्किलाहरू थिए र विपरीत दिशामा दलान थियो। 23पूर्व मूलढोकामा भएजस्तै उत्तरी ढोकातिर फर्केका भित्री चोकमा जाने ढोका थियो। तिनले एउटा ढोकादेखि विपरीततिरका ढोकासम्म नापे; त्यो एक सय क्यूबिट थियो।
दक्षिणको मूलढोका
24त्यसपछि तिनले मलाई दक्षिण भागतिर लगे, र मैले दक्षिणतिर फर्केको एउटा मूलढोका देखेँ। तिनले त्यस ढोकाको सँघार र दलान नापे; अनि तिनीहरूका नापहरू पूर्वीय र उत्तरी मूलढोकाको नापजस्तै थिए। 25दक्षिणी मूलढोका र यसको दलानका वरिपरि साँघुरा झ्यालहरू अरू भित्ताका झ्यालहरूजस्ता थिए। दक्षिणी मूलढोका पचास क्यूबिट लम्बाइ र पच्‍चीस क्यूबिट चौडाइ थियो। 26पूर्वी मूलढोकामा जाने सात वटा खुड्किलाहरू थिए, र त्यसको विपरीतपट्टि दलान थियो; बाहिरतिर देखिने भित्ताका हरेक भागमा खजूरका बोटहरूका बुट्टा खोपेर सिँगारिएका थिए। 27भित्री चोकमा पनि दक्षिणतिर फर्केको एउटा मूलढोका थियो; अनि तिनले यस दक्षिणी मूलढोकाबाट दक्षिणतिरको बाहिरी मूलढोकासम्म नापे; त्यो एक सय क्यूबिट थियो।
भित्री चोकमा पुर्‍याउने ढोकाहरू
28त्यसपछि तिनले मलाई दक्षिणी मूलढोका हुँदै भित्री चोकमा ल्याए; अनि तिनले दक्षिणी ढोकालाई नापे; त्यसको नाप अरू ढोकाहरूको जस्तै थियो। 29त्यसका कोठाहरू, त्यसका बाहिर देखिने भित्ताहरू र त्यसका दलानका नापहरू पनि अरूहरूजस्तै थिए। मूलढोका र त्यसका दलानका झ्यालहरू चारैतिर थिए। त्यो पचास क्यूबिट लम्बाइ र पच्‍चीस क्यूबिट चौडाइ थियो। 30(भित्री चोकको चारैतिरका मूलढोकाहरूका दलानहरू पच्‍चीस क्यूबिट लम्बाइ र पाँच क्यूबिट चौडाइ थियो)। 31त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो; त्यसका ढोकाको सँघारहरूलाई खजूरका रूखहरूका बुट्टाले दुवैतिर सिँगारेका थिए; अनि मूलढोकासम्म पुग्नलाई आठ वटा खुड्किलाहरू थिए।
32त्यसपछि तिनले मलाई पूर्वतिरको भित्री चोकमा ल्याए, र त्यसको प्रवेशद्वार नापे; ती प्रवेशद्वारका नाप अरू प्रवेशद्वारको जस्तै एकै नापको थियो। 33त्यसका कोठाहरू, त्यसका बाहिर देखिने भित्ताहरू र त्यसका दलानका नापहरू पनि अरूहरूजस्तै थिए। मूलढोका र त्यसका दलानका झ्यालहरू चारैतिर थिए। त्यो पचास क्यूबिट लम्बाइ र पच्‍चीस क्यूबिट चौडाइ थियो। 34त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो; त्यसका ढोकाको सँघारमा खजूरका बोटका चित्रहरू दुवैतिर सजाइएका थिए। मूलढोकासम्म पुग्नलाई आठ वटा खुड्किलाहरू थिए।
35त्यसपछि तिनले मलाई उत्तरी मूलढोकामा ल्याए र त्यसलाई नापे। त्यसका नापहरू अरूका जस्तै थिए; 36अनि त्यसका कोठाहरू, त्यसका बाहिर देखिने भित्ताहरू र त्यसको दलानका नापहरू पनि त्यस्तै थिए, र त्यसका चारैतिर झ्यालहरू थिए। त्यो पचास क्यूबिट लम्बाइ र पच्‍चीस क्यूबिट चौडाइ थियो। 37त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो; त्यसका ढोकाको सँघारमा खजूरका बोटका चित्रहरू दुवैतिर सजाइएका थिए। मूलढोकासम्म पुग्नलाई आठ वटा खुड्किलाहरू थिए।
बलिदानहरू तयार गरिने कोठाहरू
38प्रत्येक भित्री मूलढोकामा भएको दलानको छेउमा ढोका भएको एउटा कोठा थियो, जहाँ होमबलिका पशुहरूलाई धुने गरिन्थ्यो। 39मूलढोकाको दलानमा दुवैतिर दुई-दुई वटा टेबुलहरू थिए, जुन टेबुलमा होमबलिहरू, पापबलिहरू र दोषबलिहरूका पशुहरू काट्ने गरिन्थ्यो। 40प्रवेशद्वारका दलानको भित्ताको छेउमा उत्तरीय मूलढोकातिर जाने प्रवेशद्वारको नजिकै दुई वटा टेबुलहरू थिए; अनि खुड्किलाहरूको अर्कोपट्टि दुई वटा टेबुलहरू थिए। 41यसरी मूलढोकाको एकातिर चार वटा टेबुलहरू थिए र अर्कोतिर चार वटा गरी जम्मा आठ वटा टेबुलहरू थिए; जसमाथि बलिदानका पशुहरू काट्ने गरिन्थ्यो। 42त्यहाँ होमबलिहरूका निम्ति कुँदेका ढुङ्गाका चार वटा टेबुलहरू पनि थिए। ती हरेक टेबुलहरू डेढ क्यूबिट लम्बाइ, डेढ क्यूबिट चौडाइ र एक क्यूबिट अग्ला थिए। त्यहाँ होमबलिहरू र अरू बलिदान गर्दा चलाउने हातहतियारहरू राखिन्थे। 43अनि चारैतिर भित्तामा एक हात चोडा#40:43 लगभग 3 1⁄2 इन्च भएको दुई चुच्‍चे अङ्कुसेहरू झुण्डाइएका थिए। ती टेबुलहरू बलि चढाइएका मासुहरूका निम्ति थिए।
पुजारीहरूका निम्ति कोठाहरू
44भित्री मूलढोकाको बाहिरपट्टि भित्री चोकभित्रै दुई वटा कोठाहरू थिए; अनि एउटा कोठा दक्षिणतिर फर्केको उत्तरी मूलढोकाको छेउमा थियो, र अर्को कोठा दक्षिणी मूलढोकाको छेउमा उत्तरतिर फर्केको थियो। 45तिनले मलाई भने, “दक्षिणतिर फर्केको कोठा पुजारीहरूका निम्ति हो, जसले मन्दिरको जिम्मेवारी वहन गर्दथे। 46उत्तरतिर फर्केको कोठा ती पुजारीहरूका निम्ति हो, जसले वेदीको जिम्मेवारी वहन गर्दथे। यिनीहरू सादोकका छोराहरू हुन्, र ती लेवीहरू हुन्, जसले मात्र याहवेहको सेवा गर्नलाई उहाँको छेउमा जान पाउनेछन्।”
47त्यसपछि तिनले चोकको नाप लिए; त्यो एउटा वर्गाकार थियो—एक सय क्यूबिट लम्बाइ र एक सय क्यूबिट चौडाइ। अनि वेदीचाहिँ मन्दिरको अगाडिपट्टि थियो।
नयाँ मन्दिर
48तिनले मलाई मन्दिरको दलानमा ल्याए, र दलानका ढोकाको सँघार नापे; ती दुवैतिर पाँच क्यूबिट चौडा थिए। प्रवेशद्वारको चौडाइ चौध क्यूबिट#40:48 लगभग 25 फिट थियो र कोठाका बाहिर देखिने दुवैपट्टिका भित्ताहरू तीन क्यूबिट चौडा थिए। 49त्यसको दलान बीस क्यूबिट चौडा#40:49 लगभग 35 फिट र अगाडिको भागदेखि पछाडिको भागसम्म बाह्र क्यूबिट#40:49 लगभग 21 फिट थियो। दलानसम्म जानलाई दश खुड्किलाहरू थिए; अनि ढोकाको सँघारका दुवैतिर मन्दिरको अगाडिपट्टि खम्बाहरू थिए।

Označeno

Kopiraj

Primerjaj

Deli

None

Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi