आमोस 3
3
इस्राएलको विरुद्धमा साक्षीहरू बोलाइएको
1हे इस्राएलका मानिसहरू हो, यो वचन सुन, जुन वचन याहवेहले तिमीहरूको विरुद्धमा बोल्नुभएको छ—मैले इजिप्टबाट ल्याएका सम्पूर्ण परिवारको विरुद्धमा:
2“पृथ्वीका सारा घरानाका बीचबाट
मैले केवल तिमीहरूलाई मात्र चुनेको छु;
यसकारण म तिमीहरूलाई तिमीहरूका
सबै पापहरूको दण्ड दिनेछु।”
3के एक-आपसमा सहमत नभएसम्म
दुई जना सँगसँगै हिँड्छन् र?
4के जङ्गलमा शिकार नै नभेटी
सिंह गर्जन्छ र?
के सिंहले केही फेला नपारीकन
त्यो आफ्नो गुफाभित्र गर्जन्छ र?
5के पासोमा चारो राखिएको छैन भने,
चरो पासोमा पर्छ र?
के पासोमा केही परेको छैन भने,
त्यो पासो भुइँबाट माथि आफैँ उछिटिन्छ र?
6जब सहरमा तुरही फुकिन्छ,
तब के मानिसहरू डरले काम्दैनन् र?
जब सहरमा विपत्ति आउँछ,
के त्यो याहवेहले नपठाउनुभएसम्म आउँछ र?
7निश्चय नै प्रभु याहवेहले
आफ्नो योजना उहाँका सेवक अगमवक्ताहरूलाई
प्रकट नगरी केही पनि गर्नुहुन्न।
8सिंह गर्जेको सुनेर,
को भयभीत नहोला र?
प्रभु याहवेहले बोल्नुभएको छ;
अनि कसले अगमवाणी गर्दैन र?
9अश्दोदका किल्लाहरू
र इजिप्टका किल्लाहरूलाई घोषणा गर:
“सामरियाका पर्वतहरूमा एकसाथ भेला होओ;
त्यसभित्र भएको ठूलो अशान्ति
र त्यसका आफ्नै मानिसहरूका बीचको थिचोमिचो हेर।”
10याहवेह घोषणा गर्नुहुन्छ,
“कसरी उचित काम गर्ने भन्ने कुरा तिनीहरूलाई थाहा नै छैन;
तिनीहरूले खोसेका र लुटेका मालसामानहरू
तिनीहरूका किल्लाहरूमा थुपार्छन्।”
11यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ:
“शत्रुले तिमीहरूको देशमाथि आक्रमण गर्नेछ;
त्यसले तिमीहरूका बलिया गढहरूलाई नाश गर्नेछ,
र तिमीहरूका किल्लाहरूलाई लुटपाट गर्नेछ।”
12याहवेह यसो भन्नुहुन्छ:
“जसरी एउटा गोठालोले सिंहको मुखबाट भेडाका
खुट्टाका दुई वटा हड्डीहरू अथवा एउटा कानको टुक्रा मात्र बचाउँछ,
त्यसरी नै सामरियामा बस्ने इस्राएलीहरू,
पलङको कुना र गद्दीमा बस्ने
थोरै मानिसहरू मात्र बचाइनेछन्।”
13प्रभु याहवेह, सेनाहरूका परमेश्वर घोषणा गर्नुहुन्छ, “यो सुन, र याकोबको घरानाको विरुद्धमा यो चेतावनी देओ।
14“जुन दिन इस्राएललाई त्यसका पापहरूका निम्ति दण्ड दिन्छु,
म बेथेल सहरका वेदीहरू ध्वस्त गर्नेछु;
वेदीका चारैतिरका सिङहरू काटिनेछन्,
र ती भुइँमा खस्नेछन्।
15म गर्मीका महल सँगसँगै हिउँदका
महललाई पनि भत्काउनेछु;
हस्तीदन्तले सजिएका भवनहरू ध्वस्त पारिनेछन्,
र दरबारहरू भत्काइनेछन्,”
याहवेह घोषणा गर्नुहुन्छ।
Trenutno izbrano:
आमोस 3: NCV
Označeno
Kopiraj
Primerjaj
Deli
Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.