मत्ती 28
28
येशू मरेकोबाट बिउँतनुभएको
(मर्कूस १६:१-११; लूका २४:१-१२; यूहन्ना २०:१-१८)
1विश्राम दिनको भोलिपल्ट आइतबार बिहान मिर्मिरे उज्यालोमा मरियम मग्दलिनी र अर्की मरियम येशूलाई राखिएको चिहान हेर्न गए। 2त्यस बेला एक्कासि ठूलो भूइँचालो गयो किनभने स्वर्गबाट प्रभु परमेश्वरका एउटा स्वर्गदूत आएर चिहानको ढुङ्गा पल्टाएर त्यसैमाथि बसे। 3उनको अनुहार बिजुलीजस्तै चम्किलो र लुगा हिउँजस्तै सेता थिए। 4पालेहरूचाहिँ डरले थरथर काँपेर भूइँमा लोटे र मरेका मानिसजस्तै भए।
5तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “नडराओ, मलाई थाहा छ, तिमीहरू क्रूसमा मारिनुभएको येशूलाई खोज्न आएका हौ। 6तर हेर, येशू यहाँ हुनुहुन्न। आफूले भन्नुभएजस्तै उहाँ त मरेकोबाट बिउँतनुभएको छ। आएर प्रभुको लाश राखिएको ठाउँ हेर! 7त्यसपछि छिटो गएर उहाँका चेलाहरूलाई ‘प्रभु त मरेकोबाट बिउँतनुभएको छ। उहाँ तिमीहरूभन्दा अघि नै गालीलमा जाँदै हुनुहुन्छ, त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ’ भनेर खबर देओ! अब जाओ, मैले यति नै भन्नु छ।”
8ती स्वास्नी मानिसहरूलाई डर पनि भयो र एकदम खुसी पनि लाग्यो। तिनीहरू तुरुन्तै चिहानबाट निस्के र चेलाहरूलाई खबर दिन दगुरे।
9येशूले तिनीहरूलाई एक्कासि भेटेर भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्!” त्यतिखेर तिनीहरूले घोप्टो परेर उहाँको पाउ समाते। 10येशूले तिनीहरूलाई भन्नुभयो, “नडराओ, तिमीहरू गएर मेरा भाइहरूलाई गालीलमा जान भनिदेओ। त्यहीँ नै तिनीहरूले मलाई देख्नेछन्।”
सिपाहीहरूले ल्याएको खबर
11ती स्वास्नी मानिसहरू गइसकेपछि चिहानमा पहरा दिने केही सिपाहीहरू पनि सहरतिर गए र चिहानमा भएका सबै कुराहरू मुख्य पूजाहारीहरूलाई सुनाए। 12मुख्य पूजाहारीहरूले अरू अगुवाहरूसँग मिलेर “अब के गर्ने?” भनेर सल्लाह गरे अनि तिनीहरूले सिपाहीहरूलाई पैसा दिएर भने, 13“तिमीहरूले ‘राती हामी निदाएको बेलामा येशूका चेलाहरूले आएर उसको लाश चोरेर लगेछन्’ भन्नू है। 14रोमी बडा-हाकिमले सुनेछन् भने हामी उनीसँग कुरा मिलाउँछौं। तिमीहरूले यसको बारेमा केही चिन्ता गर्नुपर्दैन।” 15ती पहरा दिनेहरूले पैसा लिएर मुख्य पूजाहारीहरूले सिकाएजस्तै भने। यो कुराचाहिँ यहूदीहरूको बीचमा अहिलेसम्म पनि फैलिरहेको छ।
येशू चेलाहरूकहाँ देखा पर्नुभएको
(मर्कूस १६:१४-१८; लूका २४:३६-४९; यूहन्ना २०:१९-२३; प्रेरित १:६-८)
16 #
मत्ती 26:32; मर्कूस 14:28 एघार जना चेलाहरू येशूले जान भन्नुभएको गालीलको डाँडामा गए। 17येशूलाई देख्नासाथ तिनीहरू उहाँको अगाडि घोप्टो परे। तैपनि तिनीहरूमध्ये कति चेलालाई त ‘येशू नै हो कि होइन’ भन्ने शङ्का लाग्यो। 18तब येशू नजिक आएर तिनीहरूलाई भन्नुभयो, “हेर, स्वर्ग र पृथ्वीको सबै अधिकार मलाई दिइएको छ। 19#प्रेरित 1:8अब तिमीहरू गएर सबै मानिसहरूलाई मेरा चेलाहरू बनाओ। तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। 20तिनीहरूलाई मैले आज्ञा गरेका सबै कुराहरू मान्न सिकाओ। अनि हेर, म सधैँभरि, अँ संसारको आखिरी दिनसम्मै तिमीहरूसँगै रहनेछु।”
Trenutno izbrano:
मत्ती 28: सरल नेपाली
Označeno
Deli
Kopiraj

Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.