प्रस्थान 10
10
सलहहरू
1तब परमप्रभुले मोशालाई भन्नुभयो, “गएर राजालाई भेट्। मैले राजा र उसका भारदारहरूको मन कठोर बनाएको छु। तिनीहरूका बीचमा मैले यी आश्चर्यका कामहरू गरें र 2ती गर्दा कसरी मिश्रीहरूलाई मूर्ख बनाएको थिएँ, त्यो कुरा तिमीहरूले आफ्ना छोरानातिहरूलाई भन्न सकौला भनेरै मैले तिनीहरूको मन कठोर गरेको छु। तिमीहरू सबैले म परमप्रभु हुँ भनी जान्नेछौ।”
3यसकारण मोशा र हारून राजाकहाँ गएर भने, “हिब्रूहरूका परमेश्वर परमप्रभु भन्नुहुन्छ, ‘कहिलेसम्म तिमीहरू मलाई अस्वीकार गरिरहन्छौ? मेरा प्रजालाई जान दे र तिनीहरूले गएर मलाई पुजून्। 4तैँले मेरा कुरा नमानी बसिस् भने भोलि म तेरो देशमा सलहहरू ल्याउनेछु। 5यति धेरै सलहहरू हुनेछन् कि तिनीहरूले सारा जमिन ढाक्नेछन्। असिनाले छोडेका सबै थोक, बाँचेका रूखहरूसमेत तिनीहरूले खानेछन्। 6तेरा महलहरू र भारदारका र प्रजाका सबै घरहरू सलहहरूले भरिनेछन्। त्यति धेरै सलहहरू त तेरा पितापुर्खाहरूले कहिल्यै देखेका थिएनन्।” मोशा फनक्क फर्केर हिँडे।
7राजाका भारदारहरूले तिनलाई भने, “यस मानिसले कहिलेसम्म हामीलाई दु:ख दिइरहने हो? इस्राएलीहरूलाई छोडिदिनुहोस् र तिनीहरू गएर परमप्रभु आफ्ना परमेश्वरलाई पुजून्। के हजुरलाई थाहा छैन, मिश्रदेश नै नष्ट भइसक्यो?”
8तब मोशा र हारून राजाकहाँ ल्याइए र राजाले भने, “तिमीहरू गएर आफ्ना परमेश्वर परमप्रभुलाई पुज्न सक्नेछौ। तर तिमीहरूमध्ये को-को जाने?”
9मोशाले उत्तर दिए, “हामीहरू सबै, बालबच्चाहरू र बुढा-बुढीहरूसमेत सबै नै जानेछौं। हामीहरू आफ्ना छोरा-छोरी, भेडाबाख्रा सबै लैजानेछौं किनभने हामीले परमप्रभुलाई आदर गरेर एउटा चाड मनाउनुपर्छ।”
10राजाले भने, “म परमप्रभुको नाममा कसम खाएर भन्छु कि म तिमीहरूलाई आइमाई, छोरा-छोरीहरू लैजान दिनेछैनँ। तिमीहरूले विद्रोह गर्न जाल रचेको स्पष्ट देखिन्छ। 11अँहँ, परमप्रभुलाई आराधना गर्न चाहन्छौ भने खालि पुरुषहरू मात्र गएर आराधना गर।” त्यसो भनेर मोशा र हारून राजाको सामुबाट निकालिए।
12तब परमप्रभुले मोशालाई भन्नुभयो, “सलहहरू मिश्रमा आऊन् भनी आफ्नो हात पसार्। खेतबारीमा उब्जिएका हरथोक र असिनाबाट बचेका हरेक चीज तिनीहरूले आएर खानेछन्।” 13मोशाले आफ्नो लौरो उचाले र परमप्रभुले त्यस दिन र रातभरि मिश्रदेशमा पूर्वबाट बतास ल्याउनुभयो। भोलिपल्ट बिहान त्यो बतासले सलहहरू ल्यायो। 14#प्रकाश 9:2,3ती हुलका हुल आए र सारा देशभरि बसे। त्यति धेरै सलहहरू न त अघि आएका थिए न पछि नै आउनेछन्। 15तिनीहरूले ढाकिएर सारा जमिन कालै भयो। असिनाबाट बाँचेका सबै थोक, रूखको फलहरूसमेत तिनीहरूले खाए। मिश्रदेशमा भएका रूखको हरियो-परियो र सागपात केही रहेन।
16तब राजाले हतार-हतार मोशा र हारूनलाई बोलाएर भने, “मैले तिमीहरूका परमप्रभु परमेश्वर र तिम्रा विरुद्धमा पाप गरें। 17एकपल्टको लागि मेरा पाप क्षमा गर र त्यो मृत्यु बराबरको दण्ड मबाट हटाइलैजान आफ्ना परमेश्वर परमप्रभुसित प्रार्थना गरिदेओ।” 18मोशाले राजाबाट बिदा लिए र परमप्रभुसित प्रार्थना गरे। 19परमप्रभुले पूर्वबाट आएको बतासलाई शक्तिशाली पश्चिमी बतासमा परिवर्तन गर्नुभयो र त्यो बतासले सलहहरूलाई उडाएर लाल समुद्रमा हालिदियो। मिश्रमा एउटै सलह पनि रहेन। 20तर परमप्रभुले राजाको मन कठोर पारिदिनुभयो र तिनले इस्राएलीहरूलाई जान दिएनन्।
अन्धकार
21तब परमप्रभुले मोशालाई भन्नुभयो, “आफ्नो हात आकाशतिर पसार् र मिश्रदेशमा बाक्लो निष्पट्ट अन्धकार हुनेछ।” 22#भजनसंग्रह 105:28; प्रकाश 16:10मोशाले हात आकाशतिर पसारे र मिश्रभरि नै तीन दिनसम्म निष्पट्ट अँध्यारो भयो। 23मिश्रीहरूले एक-अर्कालाई देख्न सकेनन् र तीन दिनसम्मै कसैले आफ्नो घर छोडेनन्। तर इस्राएलीहरू बसेका ठाउँमा भने उज्यालै थियो।
24राजाले मोशालाई बोलाएर भने, “तिमीहरू गएर आफ्ना परमप्रभुलाई पुज, तिम्रा आइमाई, बालबच्चाहरू पनि जाऊन्। तर तिम्रा भेडा-बाख्रा र गाई-गोरु यहीँ छोडिराख।”
25मोशाले जवाफ दिए, “त्यसो भए हाम्रा परमेश्वर परमप्रभुलाई बलि गर्न, होमबलि चढाउन तपाईंले पशुहरू लैजान दिनैपर्छ। 26हाम्रा आफ्ना पशुहरू लैजानेछौं, एउटै पनि छोड्नेछैनौं। हाम्रा परमेश्वर परमप्रभुलाई चढाउनुपर्ने पशुहरू हामी आफैंले रोज्नुपर्छ। अनि त्यस ठाउँमा नपुगेसम्म कुन-कुन पशुहरू बलि गर्नुपर्छ, सो हामीलाई थाहा हुँदैन।”
27परमप्रभुले राजाको हृदय कठोर पार्नुभयो र तिनले इस्राएलीहरूलाई जान दिएनन्। 28तिनले मोशालाई भने, “मेरो नजरबाट निस्की! मलाई तेरो अनुहार फेरि नदेखा! जुन दिन तँ मेरो सामुन्ने देखा पर्छस् त्यही दिन तँ मर्नेछस्!”
29“तपाईंले ठीक भन्नुभयो,” “तपाईंले मलाई फेरि कहिल्यै देख्नुहुनेछैन।” मोशाले जवाफ दिए।
Trenutno izbrano:
प्रस्थान 10: सरल नेपाली
Označeno
Deli
Kopiraj

Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.