Bibelappen-logo
Søkeikon

सपन्याह 2

2
यहूदा र यरूशलेमको पनि अरू राष्ट्रहरूसँगै न्याय गरिएको
यहूदालाई पश्‍चात्ताप गर्नलाई बोलाइयो
1ए लाज नभएको राष्ट्र,
एकसाथ जम्मा होओ! आफूलाई एकसाथ भेला गराओ!
2जारी गरिएको उर्दी जारी हुनुभन्दा अगि,
र त्यो दिन हावाले उडाएको भुसझैँ बितेर जानुभन्दा अगि,
याहवेहको भयङ्कर क्रोध
तिमीहरूमाथि आउनुभन्दा अगि,
र याहवेहको क्रोधको दिन
तिमीहरूमाथि आइपर्नुभन्दा अगि नै।
3हे देशका सबै नम्रहरू हो, जसले उहाँका आज्ञाहरू पालन गर्दछौ,
तिमीहरूले याहवेहको खोजी गर।
धार्मिकता र नम्रताको खोजी गर;
सायद याहवेहको क्रोधको दिनमा
तिमीहरूले शरण पाउनेछौ।
पलिश्ती
4गाजालाई त्यागिनेछ,
र अश्कलोनलाई उजाड पारिनेछ।
मध्यदिनमा अश्दोदलाई खाली पारिनेछ
र एक्रोनचाहिँ जरैदेखि उखेलिनेछ।
5समुद्रका छेउमा बसोबास गर्ने,
हे करेतीहरू हो, तिमीहरूलाई धिक्‍कार छ;
हे पलिश्तीहरूको देश, कनान,
याहवेहका यी वचन तिमीहरूका विरुद्ध छ,
उहाँले भन्‍नुहुन्छ, “म तँलाई नाश पार्नेछु,
कोही पनि जीवित छोडिनेछैन।”
6समुद्री किनारको देशचाहिँ खर्क हुनेछ,
जहाँ गोठालाहरूका निम्ति इनार हुनेछ
र भेडाहरूका निम्ति गोठ हुनेछ।
7त्यो समुद्री किनारको भूमि
यहूदाका बाँकी रहेकाहरूका निम्ति हुनेछ;
त्यहाँ तिनीहरूले हरियो खर्क भेट्टाउनेछन्।
राति तिनीहरू अश्कलोनका
घरहरूमा सुत्नेछन्।
याहवेह, तिनीहरूका परमेश्‍वरले तिनीहरूको हेरचाह गर्नुहुनेछ;
उहाँले तिनीहरूका सुदिन फर्काएर ल्याउनुहुनेछ।
मोआब र अम्मोन
8“मैले मोआबले गरेको अपमान
र अम्मोनीहरूले गरेको निन्दा सुनेको छु,
जसले मेरा मानिसहरूलाई अपमान गरेका छन्,
र तिनीहरूको देशको विरुद्धमा धम्की दिएका छन्।
9यसकारण म जीवित भएझैँ,”
सेनाहरूका याहवेह,
इस्राएलका परमेश्‍वर घोषणा गर्नुहुन्छ,
“निश्‍चय नै मोआब सदोमजस्तै र
अम्मोनीहरू गमोराजस्तै हुनेछन्;
सामा र नुनका खाडलैखाडल भएको ठाउँ,
र सधैँका निम्ति रुखो जमिन हुनेछन्।
मेरा बाँकी रहेका मानिसहरूले तिनीहरूलाई लुट्नेछन्;
मेरा राष्ट्रमा जीवित रहेकाहरूले तिनीहरूको देश अधिकार गर्नेछन्।”
10तिनीहरूको घमण्ड र सेनाहरूका याहवेहका
मानिसहरूलाई गरेको अपमान र खिसीको सट्टामा
तिनीहरूले यही कुरा फिर्ता पाउनेछन्।
11याहवेह तिनीहरूका निम्ति डरलाग्दो हुनुहुनेछ,
जब उहाँले पृथ्वीका सबै देवताहरूलाई नष्‍ट गर्नुहुन्छ।
उहाँलाई टाढाका राष्ट्रहरूले
आ-आफ्नो भूमिबाट दण्डवत् गर्नेछन्।
कूश
12“हे कूशका मानिसहरू हो,
तिमीहरू पनि मेरो तरवारले काटिनेछौ।”
अश्शूर
13उहाँले उत्तरको विरुद्धमा आफ्ना हात पसार्नुहुन्छ,
र अश्शूरलाई नाश गर्नुहुनेछ;
अनि निनवेलाई पूरै उजाड
र मरुभूमिझैँ सुक्खा पारेर छोडिदिनुहुनेछ।
14त्यहाँ सबै किसिमका जीवजन्तुका
बथान र बगालले आराम गर्नेछन्;
मरुभूमिको उल्‍लु र कराउने उल्‍लुहरूले
त्यसको रूखका प्वालहरूमा बसोबास गर्नेछन्।
झ्यालहरूबाट ती उल्‍लुहरूले कराएको आवाज प्रतिध्वनित हुनेछन्;
ढोकाहरू ढुङ्गाका थुप्राहरूले भरिनेछन्,
र देवदारुका चौकसहरू उदाङ्गिनेछन्।
15यो त्यही घमण्डी सहर हो,
जुन सुरक्षितसाथ निर्धक्‍क बस्दथ्यो।
त्यसले आफूलाई भनेकी थिई,
“म नै हुँ, र मबाहेक अरू कोही छैन!”
अहिले त्यसको कस्तो विनाश भएको छ!
त्यो जङ्गली जनावरहरूका निम्ति गुफा भएकी छ!
त्यहाँबाट भएर जानेहरू सबैले
त्यसलाई आफ्नो मुक्‍का देखाएर खिसी गर्नेछन्।

Marker

Kopier

Sammenlign

Del

None

Vil du ha høydepunktene lagret på alle enhetene dine? Registrer deg eller logg på