Bibelappen-logo
Søkeikon

जकरिया 8

8
यरूशलेमलाई आशिष् दिने याहवेहको प्रतिज्ञा
1सेनाहरूका याहवेहको वचन फेरि मकहाँ आयो।
2सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “म सियोनको निम्ति अति डाही भएको छु; म त्यसको निम्ति डाहले जलिरहेको छु।”
3याहवेह यसो भन्‍नुहुन्छ: “म सियोनमा फर्कनेछु, र यरूशलेममा वास गर्नेछु। तब यरूशलेमलाई विश्‍वासयोग्य सहर भनिनेछ र सेनाहरूका याहवेहको पर्वतचाहिँ पवित्र पर्वत भनिनेछ।”
4सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “यरूशलेमका सडकहरूमा फेरि पनि बृद्ध पुरुष र स्त्रीहरू आफ्नो धेरै उमेर भएको कारणले गर्दा प्रत्येकले आ-आफ्नो हातमा लहुरो लिएर बस्‍नेछन्। 5सहरका सडकहरू खेलिरहेका केटाकेटीहरूले भरिएका हुनेछन्।”
6सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “त्यस बेला बाँकी मानिसहरूका निम्ति यो कुरा असम्भव देखिएला, तर के यो मेरा निम्ति असम्भव होला र?” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
7सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “म मेरा मानिसहरूलाई पूर्व र पश्‍चिमका देशहरूबाट बचाउनेछु। 8म तिनीहरूलाई यरूशलेममा बसोबास गर्नलाई फर्काएर ल्याउनेछु; तिनीहरू मेरा मानिसहरू हुनेछन्; अनि विश्‍वासयोग्यता र धार्मिकतामा म तिनीहरूका परमेश्‍वर हुनेछु।”
9सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “आज तिमीहरूले यी वचनहरू सुन, ‘तिमीहरूका हातहरू बलिया बनाओ, ताकि मन्दिर निर्माण होस्।’ सेनाहरूका याहवेहको भवनको निम्ति जग बसालिँदा, त्यहाँ उपस्थित भएका अगमवक्ताहरूले पनि यही वचनहरू भनेका थिए। 10त्यो समयभन्दा अगि कुनै पनि मानिसको निम्ति ज्याला दिइँदैनथ्यो र पशुहरूलाई भाडामा लिइँदैनथ्यो। किनकि तिनीहरूका शत्रुहरूको कारण कोही पनि आफ्नो व्यवसायमा सुरक्षापूर्वक जान सक्दैनथिए; किनभने मैले हरेक मानिसलाई तिनीहरूको छिमेकीको विरुद्धमा खडा गरेको थिएँ। 11तर अब म यी बाँकी रहेका मानिसहरूलाई बितेको समयमा झैँ व्यवहार गर्नेछैनँ,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
12“बिउ राम्रोसँग उम्रिनेछ, दाखले राम्ररी फल फलाउनेछ, भूमिले अन्‍नबाली फलाउनेछ र आकाशले शीत झार्नेछ। बाँकी रहेका यी जातिहरूलाई पैतृक सम्पत्तिको रूपमा यी सबै कुरा म दिनेछु। 13हे यहूदा र इस्राएल, तिमीहरू राष्ट्रहरूका बीचमा श्रापको पात्र भएका थियौ, तर अब म तिमीहरूलाई बचाउनेछु, र तिमीहरू आशिष्‌को कारण हुनेछौ। नडराओ, तर तिमीहरूका हातहरू बलिया होऊन्।”
14सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “तिमीहरूका पितापुर्खाहरूले मलाई रिस उठाउँदा मैले तिमीहरूमाथि विपत्ति ल्याउने र अलिकति पनि दया नदेखाउने अठोट गरेको थिएँ।” सेनाहरूका याहवेह भन्‍नुहुन्छ, 15“त्यसरी नै अब मैले यरूशलेम र यहूदामाथि फेरि असल गर्ने अठोट गरेको छु; तिमीहरू भयभीत नहोओ। 16तर तिमीहरूले गर्नुपर्ने कामहरू भने यी हुन्: एक-अर्कासँग सत्य बोल, र तिमीहरूको अदालतमा साँचो र ठिक न्याय गर! 17एक-अर्काको विरुद्धमा दुष्‍ट षड्यन्त्र नरच, र झूटा शपथ खान नरुचाओ। म यी सबै कुराहरूलाई घृणा गर्छु,” याहवेह घोषणा गर्नुहुन्छ।
18अनि फेरि सेनाहरूका याहवेहको वचन मकहाँ आयो।
19सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “यहूदाको निम्ति चौथो, पाँचौँ, सातौँ र दसौँ महिनाका उपवासहरू आनन्दमय, हर्षमय र सुखमय चाडहरू हुनेछन्। यसैकारण सत्यता र शान्तिलाई प्रेम गर।”
20सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “धेरै सहरहरूबाट धेरै मानिसहरू र बासिन्दाहरू अझै आउनेछन्; 21अनि एउटा सहरका बासिन्दाहरू अर्को सहरका बासिन्दाहरूकहाँ गएर भन्‍नेछन्, ‘हामी याहवेहकहाँ बिन्ती गर्न र सेनाहरूका याहवेहलाई खोज्न जाऔँ, र म पनि जानेछु।’ 22अनि धेरै मानिसहरू र शक्तिशाली राष्ट्रहरू सेनाहरूका याहवेहलाई खोज्न र उहाँसँग बिन्ती गर्नलाई यरूशलेममा आउनेछन्।”
23सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “ती दिनहरूमा सबै भाषा बोल्नेहरू र सबै राष्ट्रहरूबाट, दश जना मानिसहरूले एक जना यहूदीको लबेदाको किनार समातेर यसो भन्‍नेछन्, ‘हामीलाई तपाईंसँग जान दिनुहोस्; किनकि हामीले सुनेका छौँ, कि तपाईंसँग परमेश्‍वर हुनुहुन्छ।’ ”

Marker

Kopier

Sammenlign

Del

None

Vil du ha høydepunktene lagret på alle enhetene dine? Registrer deg eller logg på