मर्कूस 11

11
यरूशलेममा येशूको विजयी प्रवेश
1उहाँहरू जब यरूशलेमको नजिक जैतुन डाँडामा भएको बेथफागे र बेथानीमा आउनुभयो, तब येशूले आफ्ना चेलाहरूमध्ये दुई जनालाई 2यसो भन्दै पठाउनुभयो, “तिमीहरूका पल्‍लो गाउँमा जाओ, र तिमीहरू त्यहाँ प्रवेश गरेपछि तिमीहरूले त्यहाँ एउटा गधाको बछेडोलाई बाँधिराखेको भेट्टाउनेछौ, जसमाथि अहिलेसम्म कोही सवार भएको छैन। त्यसलाई खोलेर यहाँ ल्याओ। 3यदि कसैले तिमीहरूलाई ‘तिमीहरू किन यसो गर्दैछौ?’ भनी सोध्यो भने त्यसलाई भन, ‘प्रभुलाई यसको खाँचो छ, र केही बेरमा यसलाई फर्काइदिनुहुनेछ।’ ”
4तिनीहरू गए र सडकबाहिर ढोकाको छेउमा एउटा बछेडोलाई बाँधिराखेको भेट्टाए। तिनीहरूले त्यसलाई फुकाउन लाग्दा, 5त्यहाँ उभिरहेका केही मानिसहरूले तिनीहरूलाई सोधे, “तिमीहरू त्यस बछेडोलाई फुकाएर के गरिरहेका छौ?” 6तिनीहरूले येशूले भन्‍नुभएझैँ जवाफ दिए; अनि ती मानिसहरूले तिनीहरूलाई जान दिए। 7जब तिनीहरूले त्यस बछेडोलाई येशूकहाँ ल्याए, तब तिनीहरूले आफ्ना लुगाहरू त्यसमाथि ओछ्याइदिए, र उहाँ त्यसमाथि बस्‍नुभयो। 8धेरै मानिसहरूले आफ्ना लुगाहरू बाटोमा ओछ्याइदिए, र अरूहरूले चाहिँ खेतबाट काटेर ल्याएका हाँगाहरू फिँजाइदिए। 9ती अगि-अगि जानेहरू र पछ्याउनेहरूले चर्को सोरमा यसो भनेर जयजयकार गरे,
“होसन्‍ना!”#11:9 अर्थात् बचाउनुहोस्।
“उहाँ, जो प्रभुको नाममा आउनुहुन्छ, धन्य हुनुहुन्छ!”#11:9 भजन 118:25, 26
10“हाम्रा पिता दावीदको आउने राज्य धन्यको हो!”
“परमधाममा होसन्‍ना!”
11येशू यरूशलेममा आएर मन्दिरमा जानुभयो। उहाँले चारैतिर सबै कुरा हेर्नुभयो, तर अबेर भइसकेकोले उहाँ बाह्र जनासित बेथानीमा जानुभयो।
येशूले अञ्जीरको रूखलाई श्राप दिनुभएको र मन्दिर शुद्ध पार्नुभएको
12भोलिपल्ट उहाँहरू बेथानीबाट निस्कँदैगर्दा येशू भोकाउनुभयो। 13केही पर पातले भरिएको एउटा अञ्जीरको रूख देखेर त्यसमा केही फल पाउने आशाले उहाँ त्यहाँ जानुभयो। उहाँ त्यसको छेउमा पुग्नुभएपछि पातहरूबाहेक केही पाउनुभएन। किनकि त्यो अञ्जीरको फल फल्ने समय थिएन। 14तब उहाँले त्यस रूखलाई भन्‍नुभयो, “अबदेखि तँबाट कसैले फल नखाओस्।” उहाँका चेलाहरूले उहाँले यसो भन्‍नुभएको सुनेका थिए।
15यरूशलेम पुगेपछि येशू मन्दिरको इलाकामा प्रवेश गर्नुभयो; अनि त्यहाँ किनबेच गर्नेहरूलाई धपाउनुभयो। उहाँले पैसा साट्नेहरूका टेबुलहरू र परेवा बेच्नेहरूका बेन्चहरू पल्टाइदिनुभयो। 16अनि मन्दिरका चोकहरूबाट व्यापारका सामानहरू यताउता लान दिनुभएन। 17उहाँले तिनीहरूलाई सिकाउँदै भन्‍नुभयो, “यसो लेखिएको छ: ‘मेरो घर सबै जातिहरूका लागि प्रार्थनाको घर हुनेछ,’#11:17 यशै 56:7 तर तिमीहरूले यसलाई ‘डाँकुहरूको ओडार’ बनाएका छौ।”#11:17 यर्मिया 7:11
18जब मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले यो सुने, तब उहाँलाई मार्ने उपाय खोज्न थाले। किनकि सम्पूर्ण भीड उहाँका शिक्षामा छक्‍क परेका हुनाले तिनीहरू उहाँदेखि डराउँथे।
19साँझ परेपछि येशू र उहाँका चेलाहरू सहरबाहिर जानुभयो।
20बिहान उहाँहरू जाँदै गर्दा त्यस अञ्जीरको रूखलाई उहाँहरूले जरैदेखि सुकेको देख्नुभयो! 21पत्रुसले सम्झँदै येशूलाई भने “हे गुरु, हेर्नुहोस्! तपाईंले श्राप दिनुभएको अञ्जीरको रूख त सुकेछ!”
22येशूले जवाफ दिनुभयो, “परमेश्‍वरमा विश्‍वास राख। 23म तिमीहरूलाई साँच्‍चै भन्दछु, यदि कसैले यस पहाडलाई ‘जा, गएर आफूलाई समुद्रमा फ्याँक,’ भन्छ र आफ्नो हृदयमा शङ्का गर्दैन, तर उसले जे भनेको छ, त्यो पूरा हुन्छ भनेर विश्‍वास गर्‍यो भने यो उसको लागि गरिनेछ। 24यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जे माग्छौ, ती कुराहरू पाएका छौ भनी विश्‍वास गर, र ती तिमीहरूको हुनेछ। 25अनि जब तिमीहरू प्रार्थनामा खडा हुन्छौ, यदि कसैको विरुद्धमा तिमीहरूको केही छ भने उसलाई क्षमा गरिदेओ, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गरिदेऊन्। 26तर तिमीहरूले क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गर्नुहुनेछैन।#11:26 केही प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन।
येशूको अधिकारबारे प्रश्न
27उहाँहरू फेरि यरूशलेममा आइपुग्नुभयो, र येशू मन्दिरका चोकहरूमा हिँडिरहनुभएको बेला मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरू र प्रधानहरू उहाँकहाँ आए। 28तिनीहरूले सोधे, “तिमीले कुन अधिकारले यी कुराहरू गरिरहेका छौ? अनि यी कुराहरू गर्न कसले तिमीलाई यो अधिकार दियो?”
29येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई एउटा प्रश्न सोध्छु। मलाई जवाफ देओ, र म तिमीहरूलाई म कसको अधिकारले यी कुराहरू गरिरहेको छु, सो तिमीहरूलाई भन्‍नेछु। 30यूहन्‍नाको बप्‍तिस्मा स्वर्गबाट थियो कि मानिसहरूबाट? मलाई भन!”
31तब तिनीहरूले आपसमा छलफल गरेर भने, “यदि हामीले ‘स्वर्गबाट’ भनौँ भने उनले हामीलाई ‘त्यसो भए तिमीहरूले उनीमाथि किन विश्‍वास गरेनौ?’ भनी भन्‍नेछन्। 32तर यदि हामीले ‘मानिसहरूबाट’ भनौँ भने” (तिनीहरू मानिसहरूदेखि डराउँथे; किनकि हरेकले यूहन्‍नालाई साँच्‍चै अगमवक्ता भनी मान्थे।)
33त्यसकारण तिनीहरूले येशूलाई जवाफ दिए, “हामी जान्दैनौँ।”
अनि येशूले भन्‍नुभयो, “म पनि कुन अधिकारले यी कामहरू गर्दैछु, त्यो भन्दिनँ।”

Marker

Kopier

Sammenlign

Del

None

Vil du ha høydepunktene lagret på alle enhetene dine? Registrer deg eller logg på