Bibelappen-logo
Søkeikon

मत्ती 28

28
येशू पुनर्जीवित हुनुभएको
1शब्बाथपछि, हप्‍ताको पहिलो दिन, एकाबिहानै मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न गए।
2अचानक ठूलो भुइँचालो गयो; किनकि प्रभुका एक जना दूतले स्वर्गबाट ओर्लिआएर चिहानमा गई त्यस ढुङ्गालाई हटाए, र त्यसमाथि बसे। 3तिनको मुहार बिजुली चम्केजस्तो र लुगा हिँउजस्तो सेतो थियो। 4ती पहरेदारहरू यति साह्रो डराए कि तिनीहरू काँपे, र मरेतुल्य भए।
5ती स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “नडराओ, किनकि तिमीहरू क्रूसमा टाँगिएका येशूलाई खोज्दैछौ भनी म जान्दछु। 6उहाँ यहाँ हुनुहुन्‍न: उहाँले भन्‍नुभएझैँ उहाँ जीवित हुनुभएको छ। आओ, र उहाँलाई राखिएको ठाउँ हेर। 7तब झट्टै गई उहाँका चेलाहरूलाई यसो भनिदेओ: ‘उहाँ मरेकाहरूबाट जीवित भई उठ्नुभएको छ। अनि तिमीहरूभन्दा अगाडि नै गालीलमा जाँदैहुनुहुन्छ। त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ।’ हेर मैले तिमीहरूलाई भनिदिएको छु।”
8त्यसकारण ती स्त्रीहरू डराएका भए तापनि आनन्दसाथ चिहानबाट हतार-हतार उहाँका चेलाहरूलाई खबर दिन दगुरे। 9अचानक येशूले तिनीहरूलाई भेट्नुभयो, र भन्‍नुभयो, “अभिवादन!” तिनीहरू उहाँकहाँ गए, र उहाँको पाउ पक्री उहाँलाई दण्डवत् गरे। 10तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ, गएर मेरा भाइहरूलाई गालीलमा जानू भनिदेओ, त्यहाँ तिनीहरूले मलाई देख्नेछन्।”
पहरेदारहरूको खबर
11ती स्त्रीहरू बाटोमा छँदै, पहरेदारहरूमध्ये केही सहरमा गए। अनि जे भएको थियो, सो प्रत्येक कुरा मुख्य पुजारीहरूलाई बताइदिए। 12जब मुख्य पुजारीहरूले प्रधानहरूलाई भेटे, तब तिनीहरूले एउटा योजना बनाए। तिनीहरूले सिपाहीहरूलाई धेरै घूस दिए, 13अनि भने, “तिमीहरूले ‘उहाँका चेलाहरूले राति हामी सुतेको बेला आएर उहाँलाई चोरेर लगे’ भन्‍नू। 14यदि यो खबर हाकिमकहाँ पुग्यो भने हामी तिनलाई सन्तुष्‍ट पार्नेछौँ, र तिमीहरूलाई विपत्तिमा पर्न दिनेछैनौँ।” 15यसकारण ती सिपाहीहरूले घूस लिए, र तिनीहरूलाई अह्राएबमोजिम गरे। आजसम्म पनि यही कथा यहूदीहरूको बीचमा फैलिएको छ।
प्रभुको महान् आज्ञा
16तब ती एघार जना चेलाहरू गालीलको पहाडमा गए, जहाँ येशूले तिनीहरूलाई जानू भन्‍नुभएको थियो। 17तिनीहरूले उहाँलाई देखे, र दण्डवत् गरे: तर कतिले त शङ्का गरे। 18तब येशू तिनीहरूकहाँ आउनुभयो र भन्‍नुभयो, “स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ। 19यसकारण जाओ, र सबै राष्ट्रहरूमा गएर चेला बनाओ, र तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्‍तिस्मा देओ, 20मैले तिमीहरूलाई आज्ञा दिएका सबै कुराहरू पालन गर्न तिनीहरूलाई सिकाओ। निश्‍चय म यस युगको अन्त्यसम्म, सधैँ नै तिमीहरूको साथमा रहनेछु।”

Marker

Kopier

Sammenlign

Del

None

Vil du ha høydepunktene lagret på alle enhetene dine? Registrer deg eller logg på