यूहन्ना 15
15
दाखको बोट र हाँगाहरू
1येशूले भन्नुभयो, “साँचो दाखको बोट म नै हुँ, र मेरा पिताचाहिँ किसान हुनुहुन्छ। 2ममा फल नफल्ने प्रत्येक हाँगालाई उहाँले काटिदिनुहुन्छ, तर फल्ने हाँगाहरूलाई अझ बढी फलोस् भनेर उहाँले छिँवल्नुहुन्छ#15:2 मूल भाषामा छिँवल्नु को अर्थ सफा गर्नु पनि हुन्छ।। 3मैले तिमीहरूसँग बोलेका वचनले तिमीहरू शुद्ध भइसकेका छौ। 4ममा रहो, र म तिमीहरूमा रहनेछु। कुनै पनि हाँगा दाखको बोटमा रहिरहेन भने आफैँ फल फलाउन सक्दैन। त्यसै गरी ममा रहिरहेनौ भने तिमीहरूले पनि फल फलाउन सक्दैनौ।
5“दाखको बोट म नै हुँ; अनि तिमीहरू हाँगाहरू हौ। यदि कुनै मानिस ममा रहन्छ, र म त्यसमा रहन्छु भने त्यसले धेरै फल फलाउँछ। मबाट अलग रहेर तिमीहरूले केही गर्न सक्दैनौ। 6यदि कोही ममा रहिरहँदैन भने त्यो हाँगाजस्तै मिल्काइन्छ, र त्यो सुक्छ; त्यस्ता हाँगाहरूलाई टिपेर आगोमा फालिदिइन्छन्, र ती जलाइन्छन्। 7तर यदि तिमीहरू ममा रहिरह्यौ र मेरा वचन तिमीहरूमा रहिरहे भने तिमीहरूले चिताएको जे पनि माग, र त्यो दिइनेछ। 8तिमीहरू मेरा चेलाहरू हौ भनी देखाउन धेरै फल फलायौ भने त्यसबाट मेरा पितालाई ठूलो महिमा मिल्नेछ।
9“पिताले मलाई प्रेम गर्नुभएझैँ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। अब तिमीहरू मेरो प्रेममा रहिरहो। 10जसरी मैले मेरा पिताको आज्ञापालन गरेर उहाँको प्रेममा रहिरहन्छु, त्यसरी नै तिमीहरूले पनि मेरा आज्ञापालन गर्यौ भने तिमीहरू मेरो प्रेममा रहिरहनेछौ। 11मेरो आनन्द तिमीहरूमा रहोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको हुँ, ताकि तिमीहरूको आनन्द पूर्ण होस्! 12मेरो आज्ञा यही हो: एक-अर्कालाई प्रेम गर, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु। 13आफ्नो जीवन आफ्ना मित्रहरूका लागि अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन। 14यदि तिमीहरूले मेरो आज्ञा मान्यौ भने तिमीहरू मेरा मित्रहरू हौ। 15अब उसो म तिमीहरूलाई सेवक भन्दिनँ; किनकि सेवकलाई आफ्ना मालिकको कामकुरा थाहा हुँदैन; तर मैले तिमीहरूलाई मित्रहरू भनेको छु; किनकि पिताबाट मैले सिकेका सबै कुरा मैले तिमीहरूलाई थाहा दिएको छु। 16तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुनेँ; र तिमीहरूलाई सधैँ रहिरहने फल फलाउनलाई नियुक्त गरेँ। मेरो नाममा तिमीहरूले जे मागौला, पिताले सो तिमीहरूलाई दिनुहुनेछ। 17मेरो आज्ञा यही हो: एक-अर्कालाई प्रेम गर।
संसारले चेलाहरूलाई घृणा गर्दछ
18“यदि संसारले तिमीहरूलाई घृणा गर्यो भने त्यसले पहिला मलाई नै घृणा गरेको हो भनी सम्झ। 19तिमीहरू संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफ्नालाई झैँ प्रेम गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ। किनकि संसारदेखि अलग रहन मैले तिमीहरूलाई चुनेँ। यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ। 20मैले तिमीहरूलाई भनेका कुरा सम्झ: ‘कुनै पनि सेवक आफ्नो मालिकभन्दा ठूलो हुँदैन।’#15:20 यूह 13:16 यदि तिनीहरूले मलाई सताएका छन् भने तिमीहरूलाई पनि तिनीहरूले सताउनेछन्। तिनीहरूले मेरा शिक्षा सुनेका भए, तिमीहरूका शिक्षा पनि सुन्नेथिए। 21मेरो नामको कारणले गर्दा तिनीहरूले तिमीहरूलाई यस्तो व्यवहार गर्नेछन्। किनकि मलाई पठाउनुहुनेलाई तिनीहरूले चिन्दैनन्। 22म आएर तिनीहरूलाई नभनेको भए तिनीहरू पापको दोषी ठहरिने थिएनन्; तर अब आफ्ना पापको निम्ति तिनीहरूसँग कुनै बहाना छैन। 23मलाई घृणा गर्नेले मेरा पितालाई पनि घृणा गर्दछ। 24पहिला अरू कसैले नगरेका कामहरू मैले तिनीहरूका बीचमा नगरेको भए तिनीहरू पापको दोषी ठहरिने थिएनन्। तर अब तिनीहरूले यी अचम्मका कामहरू देखेका छन्, तापनि म र पिता हामी दुवैलाई तिनीहरूले घृणा गरेका छन्। 25तर तिनीहरूका व्यवस्थामा लेखिएको यो कुरा पूरा हुनलाई यसो भएको हो: ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे।’#15:25 भजन 35:19; 69:4
पवित्र आत्माको काम
26“जब मैले पिताको तर्फबाट तिमीहरूकहाँ सल्लाहकार पठाउनेछु, अर्थात् पिताबाट आउनुहुने सत्यको आत्मा तिमीहरूकहाँ आउनुहुनेछ, तब उहाँले मेरो विषयमा साक्षी दिनुहुनेछ। 27अनि तिमीहरूले पनि साक्षी दिनैपर्छ; किनकि तिमीहरू सुरुदेखि नै मसँग रहेका छौ।”
Markert nå:
यूहन्ना 15: NCV
Marker
Kopier
Sammenlign
Del
Vil du ha høydepunktene lagret på alle enhetene dine? Registrer deg eller logg på
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.