Bibelappen-logo
Søkeikon

आमोस 8

8
पाकेका फलको डालो
1प्रभु याहवेहले मलाई यस्तो देखाउनुभयो: पाकेका फलको एउटा डालो। 2उहाँले मलाई सोध्नुभयो, “आमोस, तँ के देख्दैछस्?”
मैले जवाफ दिए, “पाकेको फलको एउटा डालो।”
त्यसपछि याहवेहले मलाई भन्‍नुभयो, “मेरा मानिस इस्राएलीहरूको समय पूरा भएको छ; म तिनीहरूलाई अब उसो छोड्नेछैनँ।”
3प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “त्यस दिन मन्दिरका गीतहरू विलापमा परिवर्तन हुनेछन्। जताततै लाशका थुप्रा हुनेछन्! सन्‍नाटा हुनेछ!”
4खाँचोमा परेकाहरूलाई कुल्चनेहरू,
हे देशका गरिबहरूलाई त्याग्नेहरू हो, यो कुरा सुन।
5तिमीहरू यसो भन्छौ,
“औँसीको दिन कहिले बित्छ
र हामी अन्‍न बेच्न सक्छौँ;
अनि शब्बाथ कहिले समाप्‍त हुन्छ
र हामी गहुँ बेच्न सक्छौँ?”
अर्थात् नापतौलमा ठगेर,
मूल्य बढाएर
र छली ढक तराजु चलाएर ठग्न सक्छौँ;
6गरिबलाई चाँदीले,
र खाँचोमा परेकालाई एक जोडी जुत्तामा किनेर
कसिङ्गर सरहको गहुँ बेच्न सक्छौँ।
7याहवेह आफैँले याकोबको घमण्डको शपथ खानुभएको छ: “म तिनीहरूले गरेका हरेक कुराहरूलाई बिर्सनेछैनँ।
8“के यसको निम्ति देश काम्दैन र?
अनि त्यहाँ बस्‍ने सबैले विलाप गर्दैनन् र?
सारा देश नील नदीझैँ उठ्नेछ;
इजिप्टको नदीझैँ
यो उर्लनेछ र घट्नेछ।”
9प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “त्यस दिन,
“म सूर्यलाई मध्यदिनमा नै अस्ताइदिनेछु,
र दिनको उज्यालोमा नै पृथ्वीलाई अन्धकार तुल्याइदिनेछु।
10म तिमीहरूका धार्मिक चाडहरूलाई रुवाबासीमा
र तिमीहरूका सबै गीतहरू विलापमा परिवर्तन गरिदिनेछु।
म तिमीहरू सबैलाई भाङ्ग्राको कपडा पहिरन लगाउनेछु,
र तिमीहरूका कपाल खौरन लगाउनेछु।
म त्यस समयलाई एउटै छोराको निम्ति शोक गरेझैँ बनाइदिनेछु,
र त्यस दिनको अन्त्य सारै तितो हुनेछ।”
11प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “ती दिनहरू आउँदैछन्,
जब म देशमा अनिकाल पठाउनेछु;
तब अन्‍न अथवा पानीको तिर्खाको अनिकाल होइन,
तर याहवेहको वचन सुन्‍ने तिर्सनाको अनिकाल हुनेछ।
12याहवेहको वचनको खोजी गर्दै मानिसहरू,
एक समुद्रदेखि अर्को समुद्रसम्म भौँतारिँदै हिँड्नेछन्;
अनि उत्तरदेखि पूर्वसम्म घुमिहिँड्नेछन्,
तर तिनीहरूले भेट्टाउनेछैनन्।”
13त्यस दिन,
“सुन्दरी युवतीहरू र बलिया युवाहरू
तिर्खाले मूर्च्छा पर्नेछन्।
14सामरियाको पापको शपथ खानेहरूले यसो भन्छन्,
‘तिम्रो देवता दानको जीवनको शपथ,’
‘बेर्शेबाको देवताको जीवनको शपथ,’
तिनीहरू सबै ढल्नेछन्, फेरि कहिल्यै उठ्न सक्नेछैनन्।”

Marker

Kopier

Sammenlign

Del

None

Vil du ha høydepunktene lagret på alle enhetene dine? Registrer deg eller logg på