Bibelappen-logo
Søkeikon

आमोस 6

6
आत्मसन्तुष्‍ट भएकाहरूलाई धिक्‍कार
1धिक्‍कार तिमीहरूलाई, जो सियोनमा निर्धक्‍कसाथ बसेका छौ;
अनि धिक्‍कार तिमीहरूलाई, जो सामरियाको पर्वतमाथि आफूलाई सुरक्षित ठान्छौ;
धिक्‍कार तिमीहरू प्रमुख राष्ट्रका प्रसिद्ध मानिसहरू,
जसकहाँ इस्राएलका मानिसहरू आउँछन्!
2कल्नेह सहरमा जाओ र त्यसलाई हेर;
त्यहाँबाट हमात सहरमा जाओ;
अनि तल पलिश्तीको गातमा जाओ।
के तिमीहरूका दुई राज्यहरूभन्दा ती असल छन् र?
के तिनीहरूको देश तिमीहरूको भन्दा ठूलो छ र?
3तिमीहरूले विपत्तिको दिनलाई टाढा पन्छाउँछौ,
र एउटा आतङ्कको शासन नजिक ल्याउँछौ।
4तिमीहरू हस्तीदन्तले जडेको पलङमा सुत्छौ,
र सोफाहरूमा ढल्कन्छौ।
तिमीहरू असल भेडाहरू
र मोटा बाछाहरू खान्छौ।
5तिमीहरू दावीदले झैँ वीणा बजाउँछौ,
र सङ्गीतका बाजाहरूमा तत्कालै धुन रच्दछौ।
6तिमीहरू कचौरा भरेर दाखमद्य पिउँछौ,
र उत्तम सुगन्धित तेलहरू प्रयोग गर्छौ,
तर योसेफको विनाशमाथि शोक गर्दैनौ।
7यसकारण तिमीहरू नै पहिले निर्वासनमा जानेछौ;
तिमीहरूका भोज र मोजमज्जाहरूको अन्त्य हुनेछ।
याहवेहले इस्राएलको घमण्डलाई घृणा गर्नुहुन्छ
8प्रभु याहवेहले आफ्नै नाममा शपथ खानुभएको छ—याहवेह सेनाहरूका परमेश्‍वर घोषणा गर्नुहुन्छ:
“म याकोबको घमण्डलाई घृणा गर्छु,
र त्यसका किल्‍लाहरूलाई घृणा गर्छु;
म यस सहर र यसमा भएका सबैलाई
शत्रुको हातमा सुम्पिदिनेछु।”
9यदि एउटा घरमा दश जना मानिसहरू मात्रै बाँकी रहे तापनि तिनीहरू मर्नेछन्। 10यदि लासहरू घरबाट बाहिर निकालेर जलाउन भनी आफन्त आएर त्यहाँ लुकेकाहरूलाई, “तिमीसित अझै कोही छ?” भनी सोध्छ र उसले भन्छ, “अहँ, कोही पनि छैन,” तब त्यसले भन्‍नेछ, “चुप लाग! हामीले याहवेहको नाम लिनुहुँदैन।”
11किनकि याहवेहले आज्ञा दिनुभएको छ;
अनि उहाँले विशाल भवनहरूलाई चकनाचुर
र साना घरहरूलाई तहसनहस पार्नुहुनेछ।
12के घोडाहरू चट्टानहरूमाथि दौडन्छन् र?
के कसैले समुद्रमा गोरुहरूले जोत्छ र?
तर तिमीहरूले त न्यायलाई विषमा
र धार्मिकताका फलचाहिँ तितोमा परिणत गरिदिएका छौ,
13अर्थात् तिमीहरू लो-देबार#6:13 जसको अर्थ हो व्यर्थ सहरलाई जितेकोमा आनन्द मनाउँछौ,
र भन्छौ, “के हामीले आफ्नै बलले कार्नैम#6:13 कार्नैम जसको अर्थ हो सिङ; शक्तिको प्रतिक। सहरलाई कब्जा गरेका होइनौँ र?”
14किनकि याहवेह सेनाहरूका परमेश्‍वर घोषणा गर्नुहुन्छ,
“हे इस्राएल, म एउटा देशलाई तिमीहरूका विरुद्धमा उचाल्नेछु;
त्यसले लेबो-हमातदेखि अराबाको बेँसीसम्मै
तिमीहरूमाथि अत्याचार गर्नेछ।”

Marker

Kopier

Sammenlign

Del

None

Vil du ha høydepunktene lagret på alle enhetene dine? Registrer deg eller logg på