रोमी 8:22-39

रोमी 8:22-39 NCV

हामी जान्दछौँ, सारा सृष्‍टि अहिलेसम्म प्रसव पीडामाझैँ छटपटिरहेको छ। त्यति मात्र होइन, तर हामी पनि, जोसँग पवित्र आत्माको पहिलो फल छ, धर्मपुत्रका रूपमा ग्रहण गराइन हाम्रो शरीरको उद्धारको निम्ति प्रतीक्षा गर्दै उत्कट इच्छाका साथ भित्रीरूपमा छटपटिरहेका छौँ। यही आशामा हामीले मुक्ति पाएका छौँ। तर देखिने आशा, त्यो आशा नै होइन। जुन कुरा आफूसँग अगाडि नै छ, त्यही कुराको आशा कसले गर्दछ र? तर यदि हामीले जे प्राप्‍त गरेका छैनौँ, त्यस कुराको हामी आशा गर्छौँ भने त, हामी धैर्यतासाथ त्यसको प्रतीक्षा गर्छौँ। यसरी नै पवित्र आत्माले हामीलाई हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नुपर्ने हो, सो हामी जान्दैनौँ, तर पवित्र आत्मा आफैँले हाम्रा निम्ति शब्दले व्यक्त गर्न नसकिने सुस्केरामा अन्तर्बिन्ती गरिदिनुहुन्छ। परमेश्‍वर, जसले हाम्रो हृदयको खोजी गर्नुहुन्छ; उहाँले आत्माका विचार जान्‍नुहुन्छ; किनभने पवित्र आत्माले परमेश्‍वरका सन्तहरूका निम्ति परमेश्‍वरको इच्छाअनुसार बिन्ती गरिदिनुहुन्छ। हामी जान्दछौँ, परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँका उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले हरेक कुरामा भलाइ नै गर्नुहुन्छ। किनकि परमेश्‍वरले जसलाई पहिल्यैबाट जान्‍नुभएको थियो, उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूपमा हुन पूर्वनियुक्त गर्नुभयो, ताकि धेरै दाजुभाइ-दिदीबहिनीहरूमध्ये उहाँचाहिँ जेठो ठहरिऊन्। जसलाई उहाँले पूर्वनियुक्त गर्नुभयो, उनीहरूलाई बोलाउनु पनि भयो; जसलाई उहाँले बोलाउनुभयो, उनीहरूलाई धर्मी पनि ठहराउनुभयो। जसलाई उहाँले धर्मी ठहराउनुभयो, उनीहरूलाई महिमित पनि पार्नुभयो। अब हामी यी कुराहरूको बारेमा के भनौँ त? यदि परमेश्‍वर हाम्रोतर्फ हुनुहुन्छ भने हाम्रो विरुद्ध को हुन सक्छ र? जसले आफ्ना निज पुत्रलाई त बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति मर्नका लागि दिइहाल्नुभयो। के उहाँले आफ्नो पुत्रसहित उदारतासाथ हामीलाई सबै थोकहरू दिनुहुन्‍न र? परमेश्‍वरले जसलाई चुन्‍नुभएको छ, उनीहरूलाई कसले दोष लगाउन सक्छ? परमेश्‍वरले मात्रै उनीहरूलाई धर्मी ठहराउनुहुन्छ। त्यसो हो भने दोष लगाउने को हो त? कोही छैन; ख्रीष्‍ट येशू, जो मर्नुभयो; त्यसभन्दा बढी उहाँ मरेकाबाट पुनर्जीवित हुनुभयो। उहाँ, जो परमेश्‍वरको दाहिने हातपट्टि विराजमान हुनुभएको छ। अनि हाम्रा निम्ति अन्तर्बिन्ती गरिरहनुभएको छ। हामीलाई ख्रीष्‍टको प्रेमबाट कसले अलग गर्न सक्छ? के दुःख-कष्‍टले, वा कठिनाइले, वा सतावटले, वा अनिकालले, वा नग्नताले, वा जोखिमले कि तरवारले? यस्तो लेखिएको छ: “तपाईंको खातिर हामी दिनभरि मृत्युको सामना गर्छौँ; हामीहरू काट्न लगिएका भेडाहरूजस्तै गनिएका छौँ।” होइन यी सबै कुराहरूमा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूले भन्दा पनि अझ बढी विजय पाएका छौँ। किनकि म निश्‍चित छु, न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न दुष्‍ट आत्माहरूले, न वर्तमानले, न भविष्यले, न कुनै शक्तिहरूले, न कुनै उचाइले, न गहिराइले, न त सृष्‍टिमा कुनै चीजले ख्रीष्‍ट येशू हाम्रा प्रभुमा भएको परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ।

रोमी 8 पढ्नुहोस्