रोमी 8:22-39
रोमी 8:22-39 सरल नेपाली
अहिलेसम्म सुत्केरीलाई व्यथा लागेको झैँ पूरा सृष्टि दु:खले कनिरहेको छ। तर सृष्टि मात्र होइन, पवित्र आत्माले पछि ल्याउने सुख-सम्मान्को स्वाद पाउने हामी पनि परमेश्वरको बाटो हेरेर भित्र-भित्रै कष्टले कनिरहेका छौं किनभने उहाँले हामीलाई आफ्ना छोरा-छोरी बनाएर हाम्रो शरीरलाई नाश हुन नदिई बचाउनुहुन्छ र यसैलाई स्वर्गीय शरीर बनाउनुहुन्छ किनभने ठूलो आशाको लागि परमेश्वरले हामीलाई बचाउनुभयो अनि हामी त्यही आशामा बाँचिरहेका छौं। आशा भनेको हामीले कुनै चीजको लागि पर्खिरहनु हो। मानिसले पहिले नै पाइसकेको कुराको आशा राख्तैन। तर यदि हामीले नदेखेको कुराको आशा राख्छौं भने हामीले यसको लागि पर्खन्छौं। पवित्र आत्माले हामीलाई कमजोरी अवस्थामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो, हामीलाई थाहा नहुँदा पवित्र आत्मा आफैंले शब्दले भ्याउनै नसक्ने गहिरो सुस्केरामा हाम्रो लागि प्रार्थना गरिदिनुहुन्छ। मानिसको हृदय देख्नुहुने परमेश्वरले पवित्र आत्माको विचार के छ, जान्नुहुन्छ किनभने पवित्र आत्माले विश्वासीहरूको लागि परमेश्वरको इच्छाअनुसार उहाँसँग बिन्ती गरिदिनुहुन्छ। परमेश्वरलाई प्रेम गर्ने अनि उहाँले आफ्नो इच्छा पूरा गर्न छान्नुभएका प्रत्येक मानिसको निम्ति हरेक घटनाले उसको भलाइ नै गर्छ। ख्रीष्ट धेरै भाइहरूमध्ये जेठो होऊन् भनेर जसजसलाई परमेश्वरले पहिलेबाटै चिन्नुभएको छ, उहाँले तिनीहरूलाई आफ्ना पुत्रको रूपसमान हुन छान्नुभयो। उहाँले पहिले नै छान्नुभएकाहरूलाई बोलाउनु पनि भयो अनि बोलाउनुभएकाहरूलाई आफ्नो सामु ठीक ठहराउनु पनि भयो र ठीक ठहराउनुभएकाहरूलाई सम्मान् पनि दिनुभयो। यी कुरा विचार गर्दा हामी के भन्न सक्छौं? परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरोधमा को टिक्ने? उहाँले आफ्नो पुत्रसम्मलाई पनि जोगाइराख्नुभएन तर हाम्रा लागि दिनुभयो। हाम्रा लागि आफ्ना पुत्रसम्म दिनुहुनेले झन् उहाँसँगै अरू सबै कुरा हामीलाई दिनुहुन्न र? परमेश्वरले छान्नुभएका मानिसलाई कसले दोष लगाउन सक्छ? परमेश्वर आफैंले तिनीहरूलाई निर्दोष ठहराउनुभएको छ। त्यसो हुँदा तिनीहरूलाई दण्डको भागी बनाउने कोही पनि हुनेछैन किनभने ख्रीष्ट नै तिनीहरूको साटोमा दण्ड भोगेर मर्नुभएको छ। उहाँ मर्नु मात्रै भएन, योभन्दा ठूलो कुरा मरेर फेरि जिवित परिनुभयो। अहिले उहाँले परमेश्वरको साथमा रहेर राज्य गरिरहनुभएको छ। अनि उहाँले हाम्रो लागि परमेश्वरसित बिन्ती पनि गर्नुहुन्छ। अब के कुनै कुरोले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अहँ, कुनै पनि कुरोले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्दैन। हामीलाई दु:ख हुन सक्छ, कठिनाइ र खेदो आउन सक्छ, हामी नाङ्गो र भोकभोकै पनि हुनुपर्ला। हुन सक्छ, हामी त्यस्तै कुनै ठूलो आपत्मा परौंला वा मारियौंला पनि; तर के यी कुनै पनि कुराले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अहँ, कहिल्यै पनि सक्दैन। हामीलाई दु:ख हुन्छ भनेर त धर्मशास्त्रमा पनि बताइएको छ, “तपाईंको लागि त हामी दिनदिनै मारिन्छौं। हामी काट्न तयार पारिएका भेडाझैँ छौं,।” यी सबै कुरा भए पनि हामीलाई प्रेम गर्नुहुने ख्रीष्टद्वारा नै हामीले यी सबै कुरामाथि ठूलो जित पाएका छौं किनभने मलाई पूरा थाहा छ, कुनै कुरोले पनि ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्न सक्दैन। नता मृत्युले, नता जीवनले न स्वर्गदूतहरूले, नता संसारको शक्तिले, नता अहिलेको, नता पछिको न माथिको न तलको, सृष्टिका कुनै शक्तिले पनि हामीलाई परमेश्वरको प्रेमबाट अलग गर्न सक्दैन किनभने परमेश्वरले ख्रीष्टद्वारा हामीलाई प्रेम गर्नुभएको छ।

