यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्वरको कृपाद्वारा म बिन्ती गर्दछु, तिमीहरूले आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई मनपर्दो जिउँदो बलिदानको रूपमा अर्पण गर; यही तिम्रो साँचो र व्यवस्थित आराधना हो। यस संसारको रीतिमा नचल, तर आफ्नो मनमा नयाँ भई परिवर्तित हुँदैजाओ; तब मात्र तिमीहरूले परमेश्वरको असल, मनपर्दो र सिद्ध इच्छा के हो, सो जाँच गर्न र स्वीकार गर्न सक्नेछौ। किनकि परमेश्वरले मलाई दिनुभएको अनुग्रहद्वारा म प्रत्येकलाई भन्दछु, आफूलाई ठूलो नठान, तर परमेश्वरले तिमीहरू प्रत्येकलाई दिनुभएको विश्वासअनुसार नै आफूलाई शान्त भएर जाँच। किनकि जसरी हामी प्रत्येकको एउटा शरीर छ, तर अङ्गहरू धेरै छन्, र यी सबै अङ्गहरूका काम एउटै हुँदैन, त्यसरी नै हामी अनेक भएर पनि ख्रीष्टमा एउटै शरीर हौँ तथा सबै एक-अर्काका अङ्ग हौँ। हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग विभिन्न वरदानहरू छन्। यदि कसैको अगमवाणी गर्ने वरदान छ भने त्यसले आफ्नो विश्वासअनुसार अगमवाणी गरोस्। यदि सेवा गर्ने वरदान छ भने त्यसले सेवा गरिरहोस्; यदि शिक्षा दिने हो भने त्यसले शिक्षा दिइरहोस्; यदि उत्साह दिने हो भने त्यसले उत्साह दिइरहोस्; यदि दान दिने वरदान हो भने उदारतासाथ देओस्; यदि अगुवाइ गर्ने वरदान हो भने परिश्रमसाथ अगुवाइ गरोस्; यदि कृपा देखाउने हो भने प्रसन्नतासाथ कृपा देखाओस्। प्रेम निष्कपट हुनुपर्छ। दुष्टतालाई घृणा गर; जे असल छ, त्यसमा लागिरहो। एक-अर्कालाई विश्वासी दाजुभाइ-दिदीबहिनीहरूका रूपमा प्रेम गर; आफूलाई भन्दा अरूलाई बढी आदर गर। कहिल्यै अल्छे नहोओ; तर कडा मेहनत गर, र आत्मामा जोशिलो भएर प्रभुको सेवा गरिरहो। आशामा आनन्दित होओ; सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा विश्वासयोग्य होओ। खाँचोमा परेका परमेश्वरका जनहरूसँग बाँडचुँड गर, र पाहुनासत्कार कायम राख।
रोमी 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 12:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू